
आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम खेलमा युएईले रनको पहाड खडा गरेको छ । युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १० रन बनाएको छ ।
यसक्रममा युएईका ब्याटर आसिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने भ्रित्या अरविन्दले ९४ र कप्तान मोहम्मद वसिमले ६३ रनको योगदान गरे ।
आसिफले ४१ बलमा शतक पूरा गरी आफ्नो नाममा कीर्तिमान लेखाए । चौथो सबैभन्दा चाँडो शतक बनाउने क्रममा उनले ११ छक्का र चार चौका प्रहार गरे । इनिङको अन्तिम बलमा आउट भएका अरविन्दले एक सय ३८ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ९४ रन बनाए । कप्तान वसिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए ।
४५ ओभरको अवस्थामा युएई दुई सय आठ रन थियो । तर, अन्तिम पाँच ओभरमा युएईले ८१ रन बटुल्यो ।
नेपाली बलरहरू आसिफ र वसिमको अगाडि निकै निरीह देखिए । सबैभन्दा सफल बलर सन्दीपले समेत आफ्नो अन्तिम ओभरमा लगातार चार छक्का खाए ।
दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी सबैभन्दा किफायती बलर देखिए । दीपेन्द्रले आठ ओभर बलिङ गर्दै दुई विकेट लिएर १९ रन मात्र दिए । ललितले दश ओभरमा २७ रन दिएर एक विकेट लिए ।
यस्तै, एक विकेट लिएका सन्दीपले ८० रन, सोमपालले नाै ओभरमा एक विकेट लिँदै ७४ रन, गुल्सन झाले आठ ओभरमा ६३ रन, कुशल मल्लले चार ओभरमा ३८ रन र आरिफ शेखले एक ओभरमा ६ रन दिए ।