मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत १ बुधबार ०८:२९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संस्थानको खानेपानी उद्योग बन्द हुने अवस्थामा

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत १ बुधबार ०८:२९:००

दैनिक १५ सय जार पानी उत्पादन क्षमताको उद्योग सरकारी बेवास्ताले कामविहीन 

खानेपानी संस्थानले ०७४ मा काभ्रेपलाञ्चोकको पनौतीमा मिनिरल वाटर उद्योग स्थापना गरेको थियो । उद्योग स्थापनाको करिब पाँच वर्षमै सरकारी यो उद्योग थला परेको छ । दैनिक एक हजार पाँच सय जार र चार सय कार्टुन पानी उत्पादन गर्न सक्ने क्षमताको उक्त उद्योग सरकारको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । हाल यो उद्योगले दैनिक डेढ सयदेखि तीन सय जार पानी उत्पादन गरिरहेको छ ।

संस्थानका सूचना अधिकारी श्रेष्ठ भन्छन्– पर्याप्त ठाउँ र खानेपानी छैन
खानेपानी संस्थानका सूचना अधिकारी त्रिदीपकुमार श्रेष्ठका अनुसार उद्योगको क्षमता २४सै घन्टा चलाउन सक्ने खालको छ । तर, त्यसका लागि पर्याप्त ठाउँ र खानेपानी छैन । 

सरकारी निकायहरूलाई आवश्यक खानेपानी उत्पादन र वितरण गर्न सक्ने गरी उद्योग स्थापना गरिएको थियो । तर, सरकारले निजी क्षेत्रका खानेपानी उद्योगलाई प्रश्रय दिँदा संस्थानको पानीले उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । हाल प्रधानमन्त्री कार्यालयदेखि सबैजसो सरकारी निकायले निजी पानी उद्योगका बोटल र जार प्रयोग गर्छन् । सरकारले करिब दुई करोड लगानीमा यो उद्योग खोलेको थियो । उद्योगले पहिलो वर्षदेखि नै पानी उत्पादन र वितरण सुरु गरेको थियो । उत्पादन क्षमता पर्याप्त भए पनि हाल निष्क्रियजस्तै बनेको छ । 

संस्थानको उद्योगले कहाँबाट ल्याउँछ पानी ?
संस्थानको खानेपानी उद्योगले पनौतीको हरिडोल मुहानबाट पानी ल्याएर प्रशोधन गरी बोटलिङ गर्दै आएको थियो । तर, स्थानीयले सिँचाइका लागि पानी नपुगेको भन्दै अवरोध गरेपछि उद्योगको क्षमताअनुसार उत्पादन गर्न नपाएको नेपाल खानेपानी संस्थान, मिनिरल वाटर आयोजना प्रमुख रामचन्द्र न्यौपानेले बताए । उनका अनुसार यदि उद्योगले पर्याप्त खानेपानी र ठाउँ पाउने हो भने दैनिक एक हजार पाँच सय जारसम्म उत्पादन गर्न सक्छ । उनले भने, ‘पर्याप्त पानी र ठाउँ अभाव छ, यदि मुहान तथा खोलाबाट आवश्यकताअनुसार पानी ल्याउन सकिए ठूलो मात्रामा उत्पादन गर्न सकिन्थ्यो ।’ संस्थानले हालसम्म बोटल वाटर उत्पादन गरेको छैन ।

उपत्यकाका बोटल वाटर उद्योग संघको सिन्डिकेट
काठमाडौं उपत्यकाभित्र खानेपानीमा नेपाल बोटल वाटर उद्योग संघको सिन्डिकेट छ । संघसँग आबद्ध उद्योगहरूले प्रतिजार १८ रुपैयाँका दरले डिपो तथा सप्लायर्सलाई खानेपानी दिन्छन् । सप्लायर्सले पसलेलाई प्रतिजार २५–३० रुपैयाँले दिन्छन् । तर, पसलेले २० रुपैयाँ कमिसन खाएर प्रतिजार ४५–५० रुपैयाँसम्ममा उपभोक्तालाई बेच्ने गरेका छन् । 

संस्थानको उद्योग ‘फुल फेज’मा सञ्चालन गर्नुपर्छ : अब्दुल खान, खानेपानीमन्त्री
सरकारी स्वामित्वको खानेपानी संस्थान ‘फुल फेज’मा सञ्चालन गर्न निर्देशन दिएको छु । अब यो उद्योगले जारसँगै बोटलको पानीसमेत उत्पादन गर्ने विश्वास लिएको छु । 

खानेपानी उद्योगहरूले प्रतिबोटल ११ रुपैयाँमा सप्लायर्स कम्पनीलाई पानी उपलब्ध गराउँछन् । सप्लायर्सले १६–२० रुपैयाँ र पसलले ३० रुपैयाँसम्म बेच्ने गरेका छन् । संघले पानी उद्योगहरूलाई १२ वटा बोटलसहितको पानीको कार्टुनलाई एक सय २० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिँदै आएको छ । 

संघमा एक सय ५० उद्योग आबद्ध
संघमा उपत्यकामा एक सय ५० वटा निजी पानी उद्योग आबद्ध छन् । यी उद्योगहरूले सिंहदरबारदेखि मुख्य सरकारी कार्यालय, होटेल, रेस्टुराँलगायतमा जार र बोटलको पानी सप्लाई गर्छन् । यसबाहेक गैरकानुनी तवरले खुलेका पानी उद्योगले पनि लुकिछिपी सप्लाई गर्छन् । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग विभागले आफूखुसी पानी उद्योग दर्ताको अनुमति दिँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको संघले जनाएको छ । वाणिज्य विभागको तथ्यांकअनुसार नेपालमा दर्ता भएका खानेपानी उद्योग पाँच सयभन्दा बढी छन् । यीमध्ये केही करको दायरामा आएका छैनन् भने केही उद्योगले कर छली गरेका छन् ।

कसले किन्छन् संस्थानको खानेपानी ?
खानेपानी संस्थानले उत्पादन गरेको पानी सरकारी तथा निजी संघ–संस्थाहरूमा वितरण हुँदै आएको छ । गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चौधरी ग्रुप, परराष्ट्र मन्त्रालय, विद्युत् विकास विभाग, सानिमा बैंक, ग्लोबल बैंक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कर्मचारी सञ्चय कोष पुल्चोक, सिटिजन बैंक, केयुकेएल र चौधरी गु्रपमा खपत हुन्छ ।

निजीको भन्दा संस्थानको पानी महँगो
निजी क्षेत्रले उत्पादन गरेको जारको पानी ४५–५० रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर, संस्थानले उत्पादन गरेको प्रतिजार पानीको मूल्य ६० रुपैयाँ छ । सिंहदरबार तथा निजी क्षेत्रलाई संस्थाले ६० रुपैयाँका दरले खानेपानी वितरण गर्दै आएको छ । थोरै मात्रामा उत्पादन गर्ने भएकाले ढुवानी खर्च बढी पर्ने हुँदा मूल्य बढी भएको आयोजना प्रमुख न्यौपानेले बताए ।  

संस्थानको भूमिकामाथि प्रश्न 
देशभरका खानेपानीसँग सम्बन्धित संस्थाहरूको निगरानी र बोटल तथा जारको पानी उत्पादन गरेर सरकारी कार्यालयमा वितरण गर्ने उद्देश्यले ०६४ मा संस्थान काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट छुट्टिएको थियो । तर, त्यसयता एउटा मेसिन खरिद गर्नेबाहेक उक्त संस्थानले कुनै खास भूमिका निर्वाह गर्न सकेको छैन । सरकारी स्वामित्वको संस्थानको उद्योग टाट पल्टन लागेको भन्दै खानेपानीमन्त्री अब्दुल खानले त्यसलाई ‘फुल फेज’मा सञ्चालन गर्न आयोजनालाई निर्देशन दिएका छन् । मन्त्री खानले जारसँगै बोटलको पानीसमेत उत्पादन गर्न संस्थानलाई निर्देशन दिएका छन् । संस्थानले हालसम्म खानेपानी उत्पादनमा खेलेको भूमिका प्रभावकारी नदेखिएको भन्दै मन्त्री खानले यो संस्थालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । 

सुन्दरीजलमा उद्योग खोल्ने मन्त्रालयको तयारी 
खानेपानी मन्त्रालयले काठमाडौंको सुन्दरीजलमा अर्को उद्योग खोल्ने तयारी गरेको छ । संस्थानलाई नै जार तथा बोटल वाटर उत्पादनको जिम्मा दिने गरी मन्त्रालयले सुन्दरीजलमा उद्योग स्थापना गर्ने तयारी गरेको हो ।

खानेपानीमन्त्री खानले सुन्दरीजल क्षेत्रमा मेलम्चीकै पानी प्रशोधन गरेर बोटल र जारमा भर्नुपर्ने भन्दै त्यसको अध्ययन गर्न संस्थानलाई निर्देशनसमेत दिएका छन् । उनले सो क्षेत्रमा संस्थानलाई उद्योग र उद्योग खोल्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने बताए । मन्त्री खानले उपत्यकाबाहिर कपिलवस्तु जिल्लामा पनि पानी उद्योग स्थापनाका लागि संस्थानलाई अध्ययन गर्न निर्देशन दिएका छन् ।