१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुम्लामा खाद्यान्न अभाव, नेपालगन्जमै थन्कियो चामल

स्थलमार्गबाट लैजाने १५ सयमध्ये तीन सय क्विन्टलमात्र ढुवानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

स्थलमार्गबाट हुम्ला पठाउनुपर्ने एक हजार दुई सय क्विन्टल चामल नेपालगन्जमा रोकिएको छ। 

ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए। 

उनले स्थलमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न एलबी सप्लायर्सले जिम्मा पाएकोमा अहिलेसम्म तीन सय क्विन्टल मात्र ढुवानी भएको जानकारी दिए। 

‘ढुवानी गर्ने समयावधि आगामी असारमा सकिँदै छ, तर सप्लायर्सले अहिलेसम्म तीन सय क्विन्टल मात्र ढुवानी गरेको छ,’ उनले भने।

चामल ढुवानी नभएको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएपछि सप्लायर्सले तीन सय क्विन्टल चामल हुम्ला पठाएको उनले बताए। 

‘चामल ढुवानीका लागि सप्लायर्ससँग समन्वय गरिदिन हुम्लाका प्रमुख जिल्ला अधिकारीलाई तीन–चारपटक परिपत्र गर्‍याैँ, त्यसपछि सप्लायर्सले दुई सय क्विन्टल चामल ढुवानी गर्‍याे,’ उनले भने । 

हुम्लामा खाद्यान्न अभाव भएको गुनासोपछि सरकारले हवाईमार्गबाट दुई हजार क्विन्टल र स्थलमार्गबाट तीन हजार पाँच सय क्विन्टल चामल पठाउने निर्णय गरेको थियो। 

हवाईमार्गबाट ढुवानी गर्ने जिम्मा तारा एयरलाइन्सले पाएको छ। ताराले अहिलेसम्म एक हजार ६ सय ५० क्विन्टल चामल ढुवानी गरिसकेको उनले बताए। ‘हवाईमार्गबाट चामल ढुवानी सन्तोषजनक भए पनि स्थलमार्गबाट हुन सकेको छैन,’ उनले भने, ‘लामो समयसम्म ताकेता गर्दा पनि स्थलमार्गबाट ढुवानी हुन सकेन।’

सप्लायर्सले समयमा चामल ढुवानी गर्न नसके कालोसूचीमा राख्ने निर्णय हुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्णय गरेको नेपालगन्ज प्रमुख लामिछानेले बताए।

नेपालगन्जको गोदामा एक हजार क्विन्टल चामल मौज्दात रहेको बताउँदै उनले हुम्ला पठाउने चामल माग हुनेबित्तिकै व्यवस्था गर्ने बताए। 

‘४० हजार क्विन्टल चामल सप्लाई गर्ने कोटा नेपालगन्ज शाखालाई थियो। अहिलेसम्म ३० हजार क्विन्टल विभिन्न जिल्लामा सप्लाई भइसक्यो। आवश्यक परे अन्य जिल्ला शाखाबाट ल्याएर व्यवस्था गर्नेछौँ,’ उनले भने। 

सडक नहुँदा ढुवानी गर्न सकस : सप्लायर्स

हुम्ला जाने सडक बिग्रिएकाले चामल ढुवानी गर्न ढिलाइ भएको एलबी सप्लायर्सका प्रतिनिधि तिलक शाहीले बताए। उनले सुर्खेत–हुम्ला सडकअन्तर्गत बाजुराको दुई ठाउँमा सडक अवरुद्ध भएकोले चामल ढुवानी गर्न नसकिएको बताए। 

उनले सडक राम्रो भए मात्र कोटाअनुसारको चामल हुम्ला ढुवानी गर्न सकिने स्पष्ट पारे। ‘गत पुससम्म सडक थिएन। माघ र फागुनमा तीन ट्रक चामल हुम्ला पठायौँ,’ उनले भने, ‘सडकले साथ दिए असारअघि नै ढुवानी गरिसक्छौँ।’

हवाईमार्गभन्दा स्थलमार्गबाट चामल ढुवानी गर्न गाह्रो हुने उनले बताए। मौसम खराब भए मात्र हवाई यातायात बन्द हुन्छ। सानो पानी पर्नेबित्तिकै सडक बिग्रिएर यातायात अवरुद्ध हुन्छ,’ शाहीले भने।