१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका अस्ट्रिया
Invalid date format १८:oo:oo
Read Time : > 2 मिनेट
प्रवास डिजिटल संस्करण

महिला दिवसमा प्रवासी मञ्चको बहस :  पूर्वमन्त्री चौधरीदेखि कोमल वलीसम्मले सुनाए तितो अनुभव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, अस्ट्रिया
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

प्रवासी नेपालीको समस्या समाधानका लागि क्रियाशिल नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च, अस्ट्रियाले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा जुममार्फत निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य भगवती चौधरीको प्रमुख आतिथ्यतामा मञ्चले ‘एक सार्थक बहस कार्यक्रम’ आयोजना गरेको हो ।

‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा सांसद सोबिता गौतम, लिली थापा, पूर्वसांसद कोमल वली, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतका वक्ताले आफ्ना अनुभव सुनाए।

अध्यक्ष सञ्जय थापाले आफूले प्राप्त गरेको विषयमा पुरुषको नजरमा प्रवासी जीवन तथा सामाजिक अभियानमा महिला सहभागिता विषयमा बोल्दै महिलालाई आफ्नो संगठनमा समेत सदैव अवसर दिएको भन्दै राज्यले समेत महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्दै सबै स्थानमा समावेशीताको आधारमा अवसर दिनुपर्ने बताइन्।

सन् २०३० सम्ममा सबैखाले महिला हिंसा उन्मूलन गर्ने लक्ष्य संयुक्त राष्ट्र संघले लिएको बताउँदै अध्यक्ष थापाले लैंगिक समानताले समुदायको विकासमा टेवा दिने बताइन्। प्रवासमा आएपछि महिलामाथि हुने हिंसाहरू कम भएको, प्रवासमा रहँदा सुरुमा रोजगारी र आवास, यातायातको समस्या हुने गरेको तथा भाषा मुख्य समस्या भएको, सांस्कृतिक भिन्नताले महिलाहरूलाई बढी समस्यामा पारेको अनुभव पनि उनले सुनाइन्।

थापाले यस्ता समस्याको बाबजुद पनि नेपाली महिलाहरूले प्रवासमा उन्नति, प्रगति गरिरहेको तर कति महिला कस्ता काममा छन? उनीहरूको अवस्था कस्तो छ? सत्य तथ्यसहितको विवरण भने आधिकारिक संस्थासँग नभएको जानकारी दिइन्।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरणमा युवाको भूमिका विषयमा बोल्दै परिवर्तनले दिगो रूप लिँदा मात्रै समाज रूपान्तरित हुने बताइन्। सामाजिक रूपान्तरण हुन आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीयसँगै बहुआयामिक परिवर्तन हुन आवश्यक रहेको बताउँदै समाज रूपान्तरणमा युवा पुस्ताको अहम् भूमिका हुने उनको भनाइ थियो।

‘व्यवस्थामा भएको परिवर्तनले मात्र रूपान्तरण सम्भव हुन्न, जबसम्म परिवर्तित व्यवस्थाको समाजमा कार्यान्वयन हुन्न,’ डंगोलले भनिन्, ‘पछिल्लो समय नेपाली युवामा तत्काल नै सामाजिक रूपान्तरण हुनुपर्ने सोचको विकास भएको छ। रूपान्तरण एकैपटक आउन नसक्ने र यो क्रमैसँग विकसित हुन्छ।’

यस्तै, सांसद गौतमले सांसद भएको ३ महिनामा संसदीय अभ्यासमा खासै नयाँ र नौलो अनुभव हासिल गर्न नसकेको बताइन्। ‘महिलाका लागि राजनीतिक यात्रा कति सहज? कति जटिल?’ भन्ने विषयमा प्रकाश पार्दै उनले राजनीतिमा महिलालाई नेपालमा मात्र नभई विश्वमै नरुचाइएको अनुभूति सुनाइन्।

‘पछिल्लो समय राजनीतिमा महिलाको सहभागिता बढे पनि निर्णायक तहमा महिलाको पहुँच अझै भएको छैन,’ उनले भनिन्, ‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गत निर्वाचनमा नौजना मात्रै महिला निर्वाचित हुनु दुःखद विषय हो।’ वैचारिक संस्थाले महिलालाई प्राथमिकतामा नराखेको उनको आरोप थियो।

महिलाको सहभागितालाई जनताले पत्याए पनि राजनीतिक दलका नेताहरूले पत्याउन नसकेको भन्दै उनले थपिन्, ‘महिलालाई निर्णायक तहमा राख्न दलहरू डराइरहेका छन्। महिलाको सहभागिता राजनीतिमा अर्थपूर्ण हुनुपर्छ।’
यस्तै, रााष्ट्रिय सभाकी पूर्वसदस्य कोमल वलीले ‘राजनीतिमा महिला : एक सिंहावलोकन’ विषयमा बोल्दै पुरुषले नै विभेद र हिंसारहित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताइन्।

‘नेपाली समाजमा महिलाको सहभागिता बढे पनि आर्थिक रूपमा सम्पन्नता नभएको कारण महिलाहरूको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन,’ उनको भनाइ थियो, ‘महिलाको क्षमता पूर्ण रूपमा विकास गर्नको निम्ति कम्तीमा नेपाली समाजले राजनीतिमा पुरुषसरह समान अवसर दिनुपर्छ।’

यस्तै, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले ‘विगतदेखि वर्तमान : महिला आन्दोलनलाई फर्केर हेर्दा’ भन्ने विषयमा आफ्नो धारणा राख्दैै वैदिक दर्शनमा गार्गीजस्ता विदुषीले निभाएको भूमिकाको चर्चा गरिन्। नेपालको राजनीतिक इतिहासमा परिवर्तनका पक्षमा महिलाले ठूलो योगदान दिएको तर समाज, राजनीतिक परिवर्तन र महिला मुक्ति आन्दोलनमा विगतमा महिला अग्रजहरूले गरेको कामको अभिलेखसमेत नभएको गुनासो गरिन्।

कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले लैंगिक समानताका सवालमा महिलाको पहुँच पुर्याउन संविधानमै उल्लेख भए पनि कार्यान्वयनको चरणमा सकस रहेको बताइन्। राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता बढाएर पहुँच स्थापित गर्नुपर्ने बताउँदै निजामती कर्मचारी सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रमा महिलाको सहभागिता बढाउन सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन्।

सचिव बाबा राजेश्वरी थापाले सो कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारी, प्रचार प्रकाशन विभाग प्रमुख चानक पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसमेतको उपस्थिति थियो भने स्मिन बेगम, राधिका गुरुङ, प्रवासी मञ्च इजरायलजी अध्यक्ष गीता उप्रेती, एनआरएन केन्द्रीय अध्यक्ष डा. बद्री केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए।