मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १७:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १७:३७:oo

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाएर कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने उल्लेख गरे ।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन् । शान्ति प्रक्रिया टुंगाेमा पुगिसकेको छैन,’ उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरुरी छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी धारका कम्युनिस्ट घटकबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणलीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुंगाे लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । त्यसपछि केही दिनमा समाजवादी मोर्चा बन्छ ।’

संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने  र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीको एकताका पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’ रासस