१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
खगेन्द्र पन्त काठमाडाैं
२o८१ बैशाख १७ सोमबार २o:५८:oo
Read Time : > 14 मिनेट
ad
ad
अन्तर्वार्ता डिजिटल संस्करण

प्रधानमन्त्रीमा १७ पटक हार्यो भने तर मैले एकपल्ट मात्रै उम्मेदवारी दिएको हुँ

Read Time : > 14 मिनेट
खगेन्द्र पन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २o:५८:oo

अभियोग १ - कांग्रेस कार्यकर्ताबीच नै कुरा चल्छ– रामचन्द्र पौडेल अत्यधिक लोभी हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवाको पछि लाग्ने नेता–कार्यकर्ताले मासुभात मात्रै होइन, रक्सीसमेत खान पाउँछन् । तर, रामचन्द्रसँग हिँड्नेले उस्तै परे कालो चियासमेत खान पाउँदैनन् ।

नेपालमा दुई थरी राजनीतिज्ञहरू, मान्छेहरू छन् । एक थरी कमाउने र खुवाउने गर्छन् । उनीहरूले खुवाएर नै आफ्नो बनाउने काम गर्छन् । मलाई खुवाएर, पियाएर आफ्नो बनाउने कुरातिर रुचि नै छैन । आफ्नो काम गरेर, आफ्नो निष्ठा र योगदानले मानिसहरूलाई सहयोगी बनाउने स्वभाव मेरो छ । मेरा सहयोगीहरू पनि स्वार्थवश मसँग जोडिएका हुँदैनन् ।

निहित स्वार्थले आफ्नो मान्छे बनाउने मेरो बानी पनि छैन । त्यतापट्टि मेरो झुकाव नै छैन । मुख्य कुरा सिद्धान्तले, विचारले, समर्पणले, आदर्शले एउटा उद्देश्यका लागि मन मिलोस्, एकता होस्, त्यस किसिमले मानिसहरू मसँग संगत गरून् भन्ने हो । म खान दिन्छु, लाउन दिन्छु, मसँग प्रशस्त लुटेको सम्पत्ति छ भनेर मान्छेहरूलाई म आकर्षित गर्दिनँ । त्यसमा विश्वास पनि गर्दिनँ । मैले त्यो किसमको व्यवहार, आचरण र आर्जन पनि केही गरेको छैन ।

यस्तो आरोप म आफैँले चाहिँ सुनेको छैन । मलाई कसैले सीधै भनेको पनि छैन । तर, आफ्ना मान्छेलाई सुरक्षा दिन सकेन भन्ने गरेकोचाहिँ सुनेको छु । अब त्यो सुरक्षाको कुरा के हो ? म बुझ्दिनँ । गिरिजाबाबु र किसुनजी (कृष्णप्रसाद भट्टराई)बीच केही फरक थियो । गिरिजाबाबुचाहिँ सबै कार्यकर्तालाई लौ आओ भनेर केही गर्नुहुन्थ्यो । उहाँ साधनस्रोत जम्मा पनि गर्न सक्नुहुन्थ्यो, त्यसलाई वितरण पनि गर्नुहुन्थ्यो । अब किसुनजी साधनस्रोत जम्मा पनि नगर्ने, वितरण पनि नगर्ने खालको हुनुहुन्थ्यो । यो मामिलामा शेरबहादुरजीको स्वभाव करिब–करिब गिरिजाबाबुको जस्तो र मेरो किसुनजीको जस्तो छ । स्रोत जम्मा गरेर वितरण गर्ने कुरामा मलाई त्यति रुचि छैन ।

यसकारण साथीहरूबाट यस्ता गुनासा आउनु स्वाभाविक पनि हो । तर, म निष्ठाको राजनीतिमा विश्वास गर्छु । विचार, सिद्धान्त, उद्देश्य मिल्यो भने पो मित्रता बढ्ने र नजिक हुने हो । त्यो मिलेन भने ‘तँलाई यो दिउँला’, ‘त्यो दिउँला’, ‘यति पैसा दिन्छु’, ‘यो पद दिन्छु’ भनेर सम्बन्ध बनाउने प्रवृत्तिले नेपाली राजनीतिमा विकृति ल्याइरहेको छ ।

अभियोग २- पदको भोको हुनुहुन्छ । त्यसका लागि आफूले उपभोग गरिसकेका पदको गरिमासमेत ख्याल गर्नुहुन्न । सभामुख र उपप्रधानमन्त्री भइसकेपछि पनि मन्त्री खानुभयो ।

त्यतिवेला मलाई बाध्यता र अप्ठ्यारोमा पारिएको हो । सरकारको नेतृत्व गिरिजाबाबुले गरिरहनुभएको थियो । उहाँको स्वास्थ्य कति वेला के हुन्छ भन्ने अवस्थामा थियो । प्रमुख दलहरू सबै सरकारमा थिए । उहाँहरूले त्यतिखेर कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने, सिनियर मन्त्री मात्रै भन्नुभयो । हाम्रो पार्टीभित्रको राजनीति पनि हो त्यो । गिरिजाबाबुलाई कथंकदाचित् केही भइहाले पनि सरकारमा प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा कांग्रेसकै मन्त्री हुनुपर्छ, साहाना प्रधानलाई राख्नुहुँदैन भन्ने कुरा भयो । सहमतिको सरकार थियो, अरू वेलाको जस्तो सजिलै फेरबदल हुने अवस्था थिएन ।

साहानालाई दोस्रो वरीयताबाट रोक्न कांग्रेसबाट कसलाई सरकारमा लैजाने, उनीभन्दा वरिष्ठ बनाउन सकिने को हुन्छ भन्दा सबैले मलाई नै भने । अर्को कुरा, त्यतिवेला सरकारले शान्तिप्रक्रियालाई अगाडि बढाउनुपर्ने थियो । सबैले त्यसमा पनि मेरो आवश्यकता देख्नुभयो । र, गिरिजाबाबुलगायत सबै नेताले कर गरेर मलाई मन्त्रीमा राखेका हुन् । त्यतिखेर ‘पार्टीको काम पनि चलाइहालौँ, नोक्सान भए रामचन्द्रलाई होस्’ भन्ने चाहना पनि केही साथीलाई थियो होला ।

मेरो चाहिँ जहिले पनि पार्टीको आवश्यकताका लागि आफूलाई समर्पित गर्ने बानी छ । पार्टीको निर्णय इन्कार गर्न नसक्ने मान्छे । सबैले ‘तपाईं जानुपर्छ’ भनेपछि मैले मानेको हुँ । मैले त गिरिजाबाबुसहितका नेताहरूलाई ‘मैले मन्त्री भएर जानु ठीक हुँदैन कि’ भनेर भनेको हुँ । तर, गिरिजाबाबुले ‘अहिले आवश्यकता नै यस्तै आयो । दुई–चार दिनपछि तपाईंलाई अप्ठ्यारो नहुने गरी व्यवस्थापन गरौँला । अहिले पार्टीका लागि तपाईं तयार हुनुप(यो’ भन्नुभयो । त्यसपछि मजबुर भएर मन्त्री खान तयार भएको हुँ ।

पदकै भोको हुन्थेँ भने मलाई तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । संविधान जारी गर्ने अन्तिम दिन उहाँले ‘तपाईं १० प्रदेशको कन्सेप्टलाई मानिदिनुस्, आजै तपाईं प्रधानमन्त्री बन्नुस्, लेखेर दिन्छु’ भन्नुभएको थियो । बाबुराम भट्टराईजी पनि सँगै हुनुहुन्थ्यो । मैले ‘यो मबाट हुँदैन, १० प्रदेश मानेर म प्रधानमन्त्री हुन चाहँदिनँ, यो मान्नेबित्तिकै जातीय कन्सेप्टअनुसार देश संघीयतामा जान्छ । त्यो देशका लागि हितकर हुँदैन’ भनेँ । प्रचण्डजीलाई तपाईं अहिले पनि सोध्न सक्नुहुन्छ ।

अभियोग ३- यता संसदमा पनि १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो र पराजित हुनुभयो । यसले देशको संसदीय इतिहासमै नकारात्मक उदाहरण बनायो नि ।

यसमा त साँच्चिकै भन्ने हो भने त्यतिवेलाको संसद् र सभामुख सुवास नेम्वाङ मुख्य जिम्मेवार छन् । मैले त एकपटक मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्न दरखास्त दिएको हुँ । मेरो दरखास्तलाई १७ पटकसम्म उनले निर्णयमा नपुर्याएर अनेक किसिमका जालसाजी गरे । आफैँ विभिन्न किसिमका नियम बनाउने, तर पनि टुंगोमा पु(याउन नसक्ने काम भयो । यो सबैमा त्यतिवेलाका सभामुखको बदनियत देखियो ।

सभामुखले एकजना (प्रचण्ड)ले छाडिसकेको र एक उम्मेदवार मात्रै बाँकी रहेकाले कसका विरुद्ध कसलाई चुनाव लडाउने भन्ने ढंगले रुलिङ गर्नुपर्थ्यो। उहाँले मलाई निर्वाचित घोषणा गर्नुपर्थ्यो। तर, गर्नुभएन। मैले त ‘यसलाई छिटो निर्णयमा पु(याऊ’ भनेको हुँ । मैले मात्रै होइन, पछि त अदालतले भनेको पनि उहाँले टेर्नुभएन। कल्याण श्रेष्ठको इजलासले ‘एक९उम्मेदवार० भनेको एकै हो’ भनेर निर्णय दिँदा पनि सभामुखले अनेक कुरा गरेर अल्झाउनुभयो । त्यसकारण त्यो घटनामा सभामुखको नै छलकपट र षड्यन्त्र देखिन्छ । हाम्रो पार्टीका साथीहरूलाई ठूलो दोष लगाउने कुरा त केही छैन, सबैले भोट दिनुभएकै थियो । तर, त्यतिखेर जति गम्भीर हुनुपर्थ्यो, ‘रामचन्द्रजीलाई यस्तो गर्ने’ भनेर जति सक्रियता देखाउनुपर्थ्यो, त्योचाहिँ नभएकै हो । त्यसमा पार्टीले सहयोग नगरेकै हो ।

अभियोग ४- आफूलाई पार्टीभित्र मध्यमार्गी भन्नुहुन्छ, तर गुट बनाउन खोज्नुहुन्छ । साँघुरो घेरामा रमाउने स्वभावका कारण गुट विस्तार भने गर्न सक्नुहुन्न ।

यो कुरा त भन्नेले भन्लान् । वास्तवमा भन्ने हो भने मेरो पार्टीभित्र गुटबन्दी गर्ने अभिरुचि होइन । तर, के भयो भने शेरबहादुरजी एउटा गुटलाई लिएर पार्टीको सभापति बन्नुभयो । प्रधानमन्त्री पनि बन्नुभयो । मैले उहाँलाई ‘तपाईं आधा पार्टीको बाट सिंगो पार्टीको सभापति पनि हुनुभयो । दलको नेता पनि हुनुहुन्छ । तीनचोटि प्रधानमन्त्री पनि भइसक्नुभएको छ । फेरि पनि हुन सक्ने अवस्थामा हुनुहुन्छ भनेपछि अब तपाईंलाई गुट किन चाहियो ? यो गुटको घेरामा नरहेर, यो र त्यो नभनीकन सबै कांग्रेसलाई मूल्यांकनका आधारमा समान व्यवहार गर्छु भन्नुस्, म तपाईंलाई पूरा सघाउँछु’ भनेको हुँ । तर, उहाँ गुटको घेराबाट बाहिर निस्कनुभएन ।

उहाँ सत्तामा पुग्नुभयो । प्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्री बनाउनुहुन्छ । उहाँले जो जोलाई कृपा गर्नुभयो, ती मात्रै सुरक्षित र लाभान्वित हुने स्थिति भयो । अरू साथीहरूको पनि आकांक्षा त हुन्छ नि । जो उहाँबाट उपेक्षित थिए, उनीहरूका लागि मैले बोलिदिनुपर्ने वेला आयो । र, मैले बोलिदिएको हो । मेरो तागतले भ्याएसम्म, मैले भनेर उहाँले मान्ने अवस्थासम्म मैले साथीहरूका लागि भनिदिएको हो । तर, शेरबहादुरजी नै शक्तिमा हुनुहुन्थ्यो, धेरै कुरा आफ्नै ढंगले गर्नुभयो । मैले भनेका राम्रा मान्छेलाई नगरेर अरूलाई गर्दा उहाँले गाल पनि पाउनुभएको छ ।

त्यसकारण गुट बनाउने कुरामा होइन, पार्टी सुधार्नुपर्छ भन्ने जति साथीहरू अहिले मसँग छन् । म साँघुरो घेरामा रमाउँछु भन्ने जुन आरोप छ, त्योचाहिँ सत्य होइन । शिक्षक संघको चुनाव देखिहाल्नुभयो, ट्रेड युनियनको चुनाव हेरिहाल्नुभयो, कर्मचारीको चुनाव भयो, त्यसको नतिजा पनि सबैको अगाडि छ । पार्टीसँग सम्बन्धित कुनै पनि नयाँ चुनावमा मसँग नजिक भएका साथीहरूले नै चुनाव जितेका छन् । त्यो किन भएको हो भने पार्टीका साथीहरूसँग मेरो फराकिलो संगत छ । दुई–तीनजना मान्छे लिएर मैले राजनीति गरेको छैन ।

अभियोग ५- आफूलाई गिरिजाप्रसाद र सुशील कोइरालाले नेतृत्व गरेको तत्कालीन संस्थापनको उत्तराधिकारी भन्नुहुन्छ । तर, सधैँ बहुमतमा रहेको त्यो समूहको नेता भएर पनि महाधिवेशनमा हार्नुभयो । त्यो समूहलाई संगठित पनि गर्न सक्नुभएन । बरु, कोइरालाहरूले वेलावेलामा बैठक बसेर तपाईंको नेतृत्वलाई अस्वीकार गरिरहेका छन् ।

कोइरालाहरू मेरो नेतृत्वलाई चुनौती दिन मिटिङ बसेका होइनन् । ‘कोइरालाहरू एकले अर्कालाई मान्दैनन्’ भनेर बाहिर हल्ला चलेपछि, आक्षेप लागेपछि ‘होइन है, हामीहरू सँगसँगै छौँ’ भन्नका लागि कहिलेकाहीँ सँगै खाना खान जम्मा हुनुभएको हो । उहाँहरूले मेरो खिलाफ मोर्चाबन्दी गरेको म ठान्दिनँ । उहाँहरू मसँगै हुनुहुन्छ । पार्टीलाई अगाडि लैजाने सवालमा कोइरालाहरू मात्रै होइनन्, हिजो मलाई सहयोग नगरेका साथीहरू पनि अहिले मसँगै हुनुहुन्छ । अर्को समूहसँग उहाँहरूको मोहभंग भएको छ । पार्टीको ठूलो पंक्ति मसँगै छ ।

पहिला कोइरालाहरूले नेतृत्व गरेको पार्टीको तत्कालीन संस्थापनको बिरासत पनि कमजोर भएको होइन । विगतको परम्परादेखिको पार्टीको मूल धारलाई अहिले मैले नै प्रतिनिधित्व गर्छु । महाधिवेशनमा आएको रिजल्टलाई हेरेर मात्रै त्यतिखेरको संस्थापन पक्ष कमजोर भयो भनेर भन्नुहुन्न । यो देशको राजनीतिमा धेरै खेल हुन्छन् । म अहिले सबै कुरा भन्न सक्दिनँ । किनभने, साथीहरूबीच नै तिक्तता आउला ।

महाधिवेशनका वेला भित्री–बाहिरी धेरै खेलहरू भए । अन्तिम समयमा भए ती खेलहरू । त्यसपछि सबै साथीहरू झल्याँस्स भए । त्यसबारे मैले सम्झाउनुपरेको छैन, आफू–आफू नै सम्झिराखेका छन् । र, अहिले सबैले त्यसलाई महसुस गर्नुपर्ने स्थिति आएको छ । हो, तिनै खेलहरूको परिणामलाई मैले व्यहोरेर हिँड्नुपरेको छ । ‘डेमोक्रेटिक स्पिड’ कायम राखेर पार्टी भनेको त पार्टी नै हो, जोगाएर(राम्रो बनाएर जानुपर्छ भनेर म हिँडेको छु ।

अभियोग ६- गएको संसदीय निर्वाचन ९०७४० मा केन्द्रीय कार्यालयमा शेरबहादुर देउवासँगै बसेर टिकट बाँड्नभयो । निर्वाचनमा धेरै नेता पराजित भए, तपाईं स्वयं पनि गृहजिल्ला तनहुँमा पराजित हुनुभयो । तर, हारको जिम्मा लिन सक्नुभएन । काठमाडौं फर्केर पार्टी सभापति देउवालाई मात्रै दोष दिनुभयो ।

मैले शेरबहादुरजीलाई मात्रै दोष दिएको पनि होइन । कसको कति भूमिका रह्यो, त्योअनुसार दोष सेयर गरौँ भनेको हुँ । पार्टीको सभापतिको हैसियतमा उहाँको हातमा पावर थियो । उहाँले धेरै गलत गरेर निर्णयमा आफ्नो प्रभाव पार्नुभयो । मैले नचाहँदा नचाहँदै, ‘यो नगरौँ, यसो गरौँ’ भन्दाभन्दै आफ्नो विशिष्ट शक्तिको आडमा उम्मेदवारीहरू बाँड्दै जानुभयो । त्यस्ता उम्मेदवारीमा मेरा धेरै विमति थिए । तर, मैले बाहिर बसेर हल्ला गरूँ भने चुनावमा कम्युनिस्टहरू मिलेका छन्, आफ्नै पार्टी कमजोर हुन्छ । त्यस्तो वेला मैले बाहिर निस्केर कराउनु पनि भएन, अब भित्र बोलेको कुरा कसैले सुन्दैन, हेर्नुस् । पार्टी बैठकमा सहभागी साथीहरूलाई मैले राखेका कुरा, दिएका सुझाब सबै थाहा छ ।

मैले त उपयुक्त उम्मेदवारहरूको नाम मात्रै पेस गरेको थिएँ । तर, शेरबहादुरजीले त्यसलाई पनि नमानेर आफ्नो ढंगले निर्णय गर्नुभयो । यता छलफल चलिरहेको छ, उता उहाँले मुख्यसचिवलाई ‘ल ल लेखेर पठाइदेऊ’ भन्नुहुन्छ । पत्र जिल्लामा पुगिसकेको हुन्छ । भोलिपल्टसम्म यहाँ छलफल चलिरहेको हुन्थ्यो, उता जिल्लामा उम्मेदवार प्रचारमा हिँडिसकेको हुन्थ्यो । शेरबहादुरजीका साथमा केन्द्रीय समिति थियो, कार्यालय थियो, तर उहाँले त्यसको प्रयोग अर्कैतिरबाट गर्नुभयो । धेरै ठाउँमा गलत उम्मेदवार छनोट भए । त्यसले गर्दा पनि हामी हार्यौँ ।

अर्को कुरा, शेरबहादुरजी सरकारमा हुँदा उहाँका धेरै निर्णयहरू विवादास्पद भए । मेरो निर्णय वा मेरो कारणले पार्टी लाञ्छित त कहिल्यै हुनुपरेको छैन । जसको कारणले पार्टी लाञ्छित हुनुप(यो त्यसले त अलिकति गल्ती स्वीकार गर्नुपर्थ्यो नि । ‘मेरा केही कमजोरी भएँ, त्यसलाई म स्विकार्छु । पार्टी सभापतिको नाताले मेरो जिम्मेवारी छ’ त उहाँले भन्न सक्नुपर्थ्यो नि । मैले ‘त्यति त गर्नुस्’ भनेर पनि भनेको हुँ । तर, उहाँले त्यो तत्परता देखाउनुभएन ।

हेटौँडामा जिल्ला सभापतिहरूले थुरेपछि त स्विकार्नुपर्यो । त्यसकारण पार्टीभित्रका बेथितिविरुद्ध म सक्नेजति लडेको छु । मेरा पनि सीमा छन् । शेरबहादुरजी पावरमा हुनुहुन्छ । उहाँको हातमा डाडुपन्यु छ, उहाँको हातको कलम चल्छ । उहाँले जसलाई लेखेर दिनुहुन्छ, उसको टिकट हुन्छ । त्यसैले निर्णयहरूमा उहाँ हाबी भएका कारण यो सबै भएको हो ।

अभियोग ७- पार्टीको नेतृत्व गर्ने उत्कट चाहना छ । तर, निर्णय र अडान लिन नसक्ने स्वभावका कारण सधैँ पछि पर्नुहुन्छ ।

त्यो त म भन्न सक्दिनँ हेर्नुस् । निर्णय लिन नसक्ने भए पार्टीभित्र मात्र होइन, विपक्षीसँग पनि कसरी सामना गरेँ रु, संसदमा रहेर पार्टीका लागि कसरी लडेँ रु पञ्चायतलाई एक शब्द लेखेर दिँदा छुट्न सक्थेँ, तर प्रजातन्त्रका लागि १५ वर्ष जेल बसेको मान्छे हुँ म । त्यसकारण मैले निर्णय लिन नसक्ने भए, सानो चित्त भएको यी सबै सामना गर्न सक्थे रु नेपालजस्तो ठुल्ठूला राजनीतिक षड्यन्त्र हुने मुलुकमा धन्न म अडिएको छु भन्नुस् न । हाम्रो राजनीति यस्तै तिगडममा चलेको छ । मलाई चाहिँ त्यस्तो गन्दा राजनीतिक खेल मन पर्दैन ।

त्यसकारण मैले पार्टी हितको पक्षमा अडान लिने काम नगरेको होइन । निर्णयहरू लिन नसकेको पनि होइन । तर, सुशील कोइराला सभापति भएको वेला शेरबहादुरजीले ‘पार्टी ब्रेक गरेर जान्छु’ भनेर जसरी घुक्र्याउनुहुन्थ्यो नि । त्यो हदसम्म जान मेरो नैतिकताले दिएन । दिँदैन । नैतिकताको सीमाभित्र रहेर गर्न सक्ने, भन्न सक्ने जति कुराहरू–कामहरू मैले गरेको छु ।

मैले यति लामो राजनीतिक जीवनमा स्वार्थपूर्तिका लागि पार्टी, लोकतन्त्र र देशलाई जोखिममा पार्ने काम कहिल्यै गरिनँ । बरु, आफूलाई जोखिममा राखेर हिँडेको छु । जब कि, अरू केही साथीहरूले स्वार्थपूर्तिका लागि पार्टी, लोकतन्त्र र देशलाई नै जोखिममा पुर्याउने काम गरेका छन् ।

अभियोग ८- आफ्नै सहकर्मीप्रति पनि निर्मम हुनुहुन्छ । गत निर्वाचन ९०७४० मा उम्मेदवार बनेका राजनीतिक यात्राका पुराना साथी गोविन्दराज जोशीको उम्मेदवारी नै खारेज गराउनुभयो । दीपक मनाङेजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्ति चुनाव उठ्न पाए, तर गोविन्दराज उठ्नै पाएनन् ।

त्यो त निर्वाचनको सामान्य प्रक्रिया हो । निर्वाचनको नियम कानुनले दाबीविरोध गर्ने जुन अधिकार दिएको छ, त्यही मात्र प्रयोग गरेको हो । आफ्नो विपक्षमा चुनाव लड्ने, आफ्नै भोट काट्ने गरी उम्मेदवार बनको मान्छे । मलाई उहाँको उम्मेदवारी नै गलत छ भन्ने लाग्यो, त्यो राजनीतिक विकृति हो भन्ने लागेपछि सामान्य प्रक्रियाअनुसार उजुरी गरेको हुँ । स्वाभाविक प्रक्रिया हो त्यो । उहाँसँग मेरो व्यक्तिगत केही थिएन, बरु उहाँले चाहिँ व्यक्तिगत रूपमा मलाई हराउन, कांग्रेस हराउने हर्कत देखाउनुभयो । तपाईंले भनेजस्तो मेरो पुरानो मित्र भएको भए ‘रामचन्द्र हराऊ’, सबै कांग्रेस हराऊ’, ‘सबै रूख ढाल्छु’ भनेर लाग्थे र ? अब रूखै ढाल्ने भनेपछि मित्र हुन्छ ?

अभियोग ९- कांग्रेसभित्र मात्रै होइन, बाहिरसमेत टिप्पणी हुन्छ– रामचन्द्र पौडेल सानो चित्तका छन् । आफ्नो आलोचना सुन्नै सक्दैनन् । स–साना कुरामा पनि चित्त दुखाउँछन्, प्रतिक्रिया दिन आवश्यक नभएको विषयमा समेत तत्काल प्रतिक्रिया जनाउँछन् ।

मैले आलोचना गरेबापत अहिलेसम्म कसैलाई पनि दण्डित गर्ने काम गरेको छैन । आलोचना गर्ने गर्छन्, ठीकै छ । म आफ्नो जवाफचाहिँ दिन्छु । कतिपय कुरामा ‘ठीकै छ, भनिराखून्’ भनेर वास्ता पनि गर्दिनँ । आलोचनाबाट मर्माहत भएर मैले प्रतिशोध लिने काम अहिलेसम्म गरेको छैन । मलाई जति सजिलोसँग अरूको आलोचना गर्न पाउँदैनन् । मैले आलोचना नसुनेर कसले सुन्ने रु आलोचना गर्नेले आलोचना गर्छन्, म ‘मेरो के गल्ती छ, भन्नुस् न’ भन्छु । अनि, चुप लाग्छन् ।

एउटा कुरा तपाईं मान्नुस्, नेपालको राजनीतिमा गल्ती कम गर्ने नेतामध्ये म पनि हुँ । मैले अहिलेसम्म राजनीतिक गल्ती, राजनीतिक बेइमानी, राजनीतिक अपराध गरेको छैन । ३० वर्ष पञ्चायतविरुद्ध लड्दा कहिल्यै सरेन्डर गरिनँ, कहिल्यै सरकारसँग साँठगाँठ गरिनँ । सत्तामा गएर पनि मैले कसैले औँला ठड्याउने, पार्टीलाई बद्नाम गराउने काम कहिल्यै गरिनँ । मलाई दोष लगाउने खासै ठूलो केही कुरा छैन । तर, यहाँको राजनीतिमा के हुन्छ भने केही न केही दोष त लगाइहालूँ भन्ने हुन्छ । नत्र भने सानो चित्तको मान्छेले यत्रो लडाइँ लड्न सक्छ रु यत्रो लामो समय निष्ठाको राजनीति जोगाएर राख्न सक्छ रु यहाँका सबै नेताहरूको हिसाबकिताब गरौँ त, कसले निष्ठा जोगाएर राखको छ ?

अभियोग १०- तपाईंमा परिवारवाद हाबी छ । राजनीतिक प्रभावमा छोरालाई गरिबी निवारण कोषमा, सम्धीलाई पुनर्निर्माण प्राधिकरण र ज्वाइँलाई खानेपानी संस्थानमा नियुक्ति दिलाएको आरोप तपाईंमाथि लाग्ने गर्छ ।

यो नै सबैभन्दा गलत कुरा हो । नेपालमा राजनीति गर्ने मान्छेहरूले जे–जस्ता कामहरू गरेका छन्, त्यसमा म नै एउटा अपवाद हो । अब सम्धीको कुरा गर्ने हो भने उनी सचिव भएपछि मेरा सम्धी भएका हुन् । र, उनी सबभन्दा प्रतिभाशाली मान्छे हुन् । अब उनको आवश्यकतालाई हेरेर सरकारले आफैँ बोलाई–बोलाई नियुक्त गरेको हो ।

त्यो मैले गरेको हो र ? त्यो मेरो दोष हुन्छ ? मेरो सम्धी हुनेबित्तिकै गरेर खान नहुने, संसारै छाडेर हिँडिदिनुपर्ने रु सुशील कोइराला बेलायत जानुभएको थियो, उहाँले त्यहाँ मेरो छोरा भेट्नुभयो । ‘नेपाल आइज, यहाँ किन बस्छस्, रामचन्द्रजीको छोरा किन विदेश बस्छस्’ भनेर बोलाउनुभयो । ६-८ महिनाको एउटा करार दिए । वास्तवमा उसले त्यो वेलामा त्यत्रो २५ जिल्लामा काम गरेको थियो । अहिले ऊ नहुँदा के भयो खोइ ? कहाँ गयो त्यो घरपरिवारको पैसा ? उसले यस्ता अनावश्यक कुरा सुन्यो । ‘मान्छेले काम गर्दा पनि रिस गर्दा रहेछन्’ भनेर दिक्क मान्दै फेरि गयो बेलायत ।

जापानमा पिएचडी गरेर त्यहीँ महिनाको पाँच लाख तलब दिन्छु भनिराखेको थियो ज्वाइँलाई । ‘अर्काको देशमा बस्दिनँ, नेपालै जान्छु’ भनेर फर्किनुभयो । अहिलेसम्म बिचरा त्यो खानेपानी संस्थानको भोलेन्टियर अध्यक्ष हुनुहुन्छ । अहिलेसम्म पनि स्वयंसेवक पदमा हुनुहुन्छ । इन्जिनियरिङ गरेर त्यत्रो पिएचडी गरेर बसेको मान्छे । अहिले ढाक्रे नै भने पनि हुन्छ । त्यस्तो कुरालाई नखोजीकन कहाँ के–के भन्न पाइन्छ भनेर छिद्र खोज्दै खुसुक्क लेखिदिन्छन् । फेरि म त्यसलाई खण्डन गर्दै हिँडिराख्ने पनि गर्दिनँ । यो सबैले बुझ्ने कुरा हो । आफ्नै योग्यताले जागिर खाएको कुरा मसँग जोड्नुपर्ने सवाल नै छैन ।

अरूले गरेकोजस्तो गल्ती, कुकर्म मैले गरेको भए त मलाई यहाँ बस्नै दिँदैनथे । एउटा हिन्दी कहावत छ नि ‘हम आह भी करे तो हो जाते ह‌ै बदनाम, वो कत्ल भी करे तो चर्चा नहीँ होता ।’ त्यस्तै भएको छ । कुनै शक्तिको आडमा, सम्पत्तिको आडमा, ठूलो ताकतको आडमा टिकेका छन् यहाँ नवराजहरू । म त एउटा सीधा तरिकाले राजनीति गर्ने मान्छे, लप्पनछप्पन केही पनि छैन, दायाँ–बायाँ कहीँ पनि छैन । आफ्नै तरिकाले राजनीति गर्ने मान्छे म । यस्तो मान्छेलाई सबैले सकेसम्म किनारा लगाउन पाए आफ्नो बाटो खुला हुन्थ्यो भन्छन् ।

अभियोग ११- पार्टी विभाजन गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री नै हुनुहुन्थ्यो, उहाँसँग बसेर तपाईंले पनि रणनीति बनाउनुभयो । देउवा तपाईंलाई नयाँ पार्टीको सभापति बनाउन पनि तयार हुनुहुन्थ्यो, नयाँ पार्टी घोषणा गर्ने कार्यक्रममा तपाईंको प्रतीक्षा पनि भइरहेको थियो । तर, तपाईं बीचमै बाटो मोडेर गिरिजाप्रसाद कोइरालातिर लाग्नुभयो, देउवालाई धोका दिनुभयो ।

वास्तवमा त्यो वेला अवश्य पनि केही गल्ती शेरबहादुर देउवाका थिए । गिरिजाबाबुले उहाँलाई दूधको माखो झिकेर फालेझैँ फाल्ने निर्णय गर्नुभयो । मलाई के लाग्यो भने ‘बाच्छो खानेले पाडो पनि बाँकी राख्दैन, पाडो खानेले बाच्छो पनि छाड्दैन ।’ यही प्रवृत्तिले त पार्टीमा अलिकति तल–माथि हुनेबित्तिकै सबैलाई निकाल्छन्, मलाई पनि हटाउँछन् । त्यसैले मैले त्यतिखेर शेरबहादुरजीलाई जोगाउन खोजेँ । मैले शेरबहादुरजीलाई भनेकै पनि थिएँ, ‘तपाईंलाई जोगाउन म हदसम्म जान्छु ।’ मैले गिरिजाबाबुलाई पनि पटकपटक भनेँ, ‘माफी गरिदिनुस् ।’ मैले शेरबहादुरजीलाई भनेकै थिएँ, ‘पार्टी नै छोडेर जान म सक्दिनँ, कांग्रेस छाडेर जान सक्दिनँ । तर, तपाईंलाई जोगाउनचाहिँ जे–जति गर्नुपर्छ, म गर्छु ।’

शेरबहादुरजी माथि गरिएको कारबाही फिर्ता गरेर विवाद मिलाउनुपर्छ भन्नेमा अरू साथीहरू पनि थिए, शैलजाजी पनि हुनुहुन्थ्यो । शेरबहादुरजीले पनि ‘ठीकै छ, पार्टीले मेरो कारबाही फिर्ता गरोस्, म पार्टी फुटाउँदिनँ’ भन्नुभएको थियो । तर, अन्तिम दिनमा शैलजाजीले फोन गर्नुभयो गिरिजाबाबुकहाँबाट, ‘रामचन्द्रजी एकछिन आउनुपर्यो ।’ म कतै जान्नँ भनेर घरमै बसेको थिएँ । शैलजाजीले बोलाएपछि म गएँ गिरिजाबाबुकहाँ । मैले फेरि पनि भनेँ, ‘गिरिजाबाबु अहिले पनि समय छ, तपाईंले ‘ल मैले माफी गरिदिएँ’ भनिदिनुहोस् । म नयाँ पार्टी घोषणा गर्न बानेश्वरमा भेला भएका सबैलाई यहाँ ल्याएर ‘गिरिजाप्रसाद जिन्दावाद !’ भन्न लगाएर पठाइदिन्छु ।’ तर, उहाँले ‘रामचन्द्रजी सानातिना कुरा भए त हुन्थ्यो, तर शेरबहादुरजीले जुन गल्ती गर्नुभयो, त्यो अक्षम्य छ । डेमोक्रेसी नै लगेर दरबारमा राजालाई बुझाउने काम गरेर उहाँले प्रजातन्त्रमाथि नै ठूलो घात गर्नुभयो । यति ठूलो क्षमा दिन सक्दिनँ म’ भन्नुभयो ।

केही नलागेपछि मैले अन्तिममा शेरबहादुरजीसँग भन्नैपर्यो, ‘यहाँसम्म मैले कोसिस गरेँ मिलाउनलाई, यो हदसम्म पुगेपछि यहाँभन्दा उता त मेरो जाने ठाउँ पनि छैन । म हारेँ, मेरो हार डेमोक्रेसीको हार नहोस्, कांग्रेसको हार नहोस् ।’ यति कुरा मैले सानो चिट लेखेर बानेश्वरको भेलामा पठाइदिएँ । आफूचाहिँ भेलामा गइनँ ।

त्यसपछि शेरबहादुरजीले छुट्टै पार्टी घोषणा गर्नुभयो, मचाहिँ आफ्नै पार्टीमा लागेँ । निर्वाचन आयोगमा गिरिजाबाबु र मसँगै गयौँ । निर्वाचन आयुक्त छक्क परे । म त्यहाँ कोइराला समूहसँग नगएको भएदेखि के गर्थे ? तर, मेरो उपस्थितिले त्यहाँचाहिँ पार्टीलाई सेभ गरेको छ । त्यसपछि देउवाजीसँग मेरो त्यति सम्पर्क भएन । उहाँसँग राम्रो पनि भएन, नराम्रो पनि भएन । भेटघाट हुँदा हाई-हेल्लो त भइहाल्थ्यो ।

पदको कुनै आश्वासन लिएर म शेरबहादुरजीसँग नगएर कांग्रेसमै रहेको होइन । मैले उहाँलाई जति सकेँ, त्यति सहयोग गरेँ । सानैदेखि सँगै हुर्केको, बढेको पार्टी साथीको नाताले जोगाउनलाई जति सकेँ, त्यति गरेँ । त्योभन्दा बढी उहाँको र मेरो केही कुरा नै थिएन । उहाँले त अघिल्लै दिनदेखि ‘तैँले वक्तव्य दे’ भनेर मलाई भनिराख्नुभएको थियो । मैले वक्तव्य दिइराखेको थिइनँ । प्रदीप गिरि, विमलेन्द्र निधिहरू नै त्यसको साक्षी छन् ।

अभियोग १२- आफूलाई सहयोग गर्ने, सद्भाव राख्ने कार्यकर्ताहरूलाई अप्ठ्यारो पर्दा संरक्षण गर्न सक्नुहुन्न । उनीहरूबाट भनेचाहिँ सधैँ सहयोगको अपेक्षा गर्नुहुन्छ । नेता बनाइदिऊन् भन्ने ठान्नुहन्छ । तर, तपाईंको अस्थिर स्वभावका कारण तपाईंलाई नेता मान्ने तपाईंपछिका धेरै नेताहरूले पनि पूर्ण विश्वास गर्दैनन् ।

आफूलाई नै केन्द्रमा राखेर मैले कहिल्यै राजनीति गरिनँ । साथीहरूलाई आफूले गर्न सकेको ठाउँमा सहयोग गरेकै छु । कति मन्त्री बने, कति के बने । प्रधानमन्त्री हुँदा शेरबहादुरजीलाई भनेर मैले सकेकाजति साथीहरूलाई एडजस्ट गर्न खोजेकै हो । त्योभन्दा बढी मैले के गर्ने ? टिकट दिलाउन सकेजति दिलाएको हुँ । जतिले टिकट पाए, त्यो दिलाउने कोसिस मैले नै गरेँ । मन्त्री वा अरू राजनीतिक नियुक्तिमा जति साथीलाई मैले गराउन सकेँ, गर्न सकेकोजति मैले साथीहरूलाई सहयोग गरेको हुँ । नसक्ने त सत्ता अर्काको हातमा छ । अर्काले नगरिदिएपछि मैले के गर्ने ?

नेपाली कांग्रेसको राजनीतिमा न्यायको पक्षमा अडान लिएकै कारण मैले मूल्य चुकाउनुपरेको छ । किसुनजीलाई चुनाव हराउने कुरा आयो, मैले नै अडान लिएँ । मैले ‘बरु किसुनजीलाई चुनाव नलडाऔँ, उहाँलाई राजी गराऔँ’ भनेँ । किसुनजीलाई चुनाव पनि लडाउने र अनि फेरि हराउने ? मैले भनेँ, ‘हारेको कृष्णप्रसाद जितेको कृष्णप्रसादभन्दा खतरा होला कांग्रेसलाई ।’ अहिले त त्यो देखियो नि ।

त्यो वेला कृष्णप्रसादको चुनाव प्रचारमा शेरबहादुरजी र म जाने कार्यक्रम थियो साँखुमा । तर, शेरबहादुरजी जानुभएन, म गएँ । गिरिजाबाबुले रोकिदिनेबत्तिकै उहाँ बस्नुभयो, तर म त गएर भाषण गरेँ । किनभने पार्टीको सभापति चुनाव लडेको छ, उहाँलाई जिताउने पार्टीका तमाम कार्यकर्ताको दायित्व हो । मैले भाग्न हुँदैन । यत्रो लामो समय पञ्चायतविरुद्ध म अडिएँ । मेरो जेनेरेसनका मान्छेहरू कोही अडिएनन् । धेरै साथीहरूले एक–एक गरेर सरेन्डर गरे । शेरबहादुरजी पनि झन्डै सरेन्डर गरेर जानुभइसकेको थियो, उहाँलाई जोगाउन बेलायत पठाएँ । मैले उहाँले गर्न लागेको सहीलाई रोकेर, कलम खोसेर बचाएको छु । म आफू अडिएर रहेँ ।

राजनीतिक निष्ठामा, सिद्धान्तमा, आफ्नो पार्टीको अडानमा मजति अडिएको कोही पनि छैन । माओवादीसँग यत्रो संविधान बनाउँदाखेरि कति ठूलो विवाद भयो । संविधानको एउटा–एउटा दफामा कत्रो लड्नुपर्यो । ‘इन्डिपेन्डेन्ट जुडिसरी’बारे मैले कति धेरै टेक लिएँ । व्यक्तिगत सम्पत्तिको स्वतन्त्रताबारे मैले कति धेरै टेक लिएँ । संसदीय प्रणालीबारे मैले कति धेरै टेक लिएँ । लोकतन्त्रको मूल्य र मान्यतामा आधारित हुनुपर्छ समाजवाद भनेर मैले कत्रो ठूलो अडान लिएँ ? राजनीतिक कुरामा मैले कहीँ पनि अडान छाडिनँ ।

पार्टीभित्रै पनि मैले गिरिजाबाबुलाई खुसी बनाएको भए सुशीलजीको ठाउँमा म हुन्थेँ । गिरिजाबाबुलाई मात्रै मैले खुसी पार्ने काम गरेको भए अहिले यिनीहरू कोही आउँदैनथे, न सुशील आउँथेँ, न शेरबहादुर । मै हुन्थेँ । तर, मैले खुसी गराउने कुरा गरिनँ, उहाँभित्र पनि केही कमजोरी थिए । त्योसित मैले सधैँ टक्कर लिएँ । ‘यो त हुन्न गिरिजाबाबु, म मान्दिनँ’ भनेर म बसेँ । तर, पनि उहाँले मलाई फाल्न सक्नुभएन । मसँग एउटा सर्टेन हदसम्मको व्यवहार मात्र गर्नुहुन्थ्यो । अलिकति हच्किनुहुन्थ्यो । मैले आफ्नो अडान पार्टीभित्र पनि राखेँ, देशमा पनि राखेँ ।

(गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा बिहीबार (२५ फागुन ०७९) कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले गरेका काम, बानी र स्वभावबारे कांग्रेसभित्र र बाहिरबाट उठ्ने प्रश्नबारे नयाँ पत्रिकाले ०७५ साउनमा पौडेलसँग लामो संवाद गरेको थियो । अहिले पत्रिकाको अनलाइन संस्करणमा पुनः प्रकाशन गरिएको हो । - सम्पादक)

ad
ad