१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अन्तिम शृंखलामा नेपालको विजयी सुरुवात, पिएनजीविरुद्ध बल र ब्याटमा उत्कृष्ट प्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३९:oo

आसिफ शेखको मेडन शतक र स्पिनरहरूको धारिलो बलिङको मद्दतमा नेपालले आजबाट सुरु आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलामा पपुवा न्युगिनीमाथि ५२ रनको सानदार जित हासिल गरेको छ । 

दुई सय ९८ रनको लक्ष्य पछ्याएको पिएनजीलाई ४७.१ ओभरमा दुई सय ४५ रनमा अलआउट गर्दै नेपालले ५२ रनको जित हासिल गरेको हो । पिएनजीलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले चार विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिए । पिएनजीका दुई खेलाडी रनआउट भए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले ओपनर ब्याटरद्वय आसिफ र कुशल भुर्तेलको शतकीय साझेदारीमा कीर्तिमानी लक्ष्य खडा गरेको थियो । आसिफको एक सय १०, कुशलको ४५, भीम सार्कीको ४४ र रोहितकुमार पौडेलको ३० रनकाे मद्दतमा नेपालले आफ्नो सबैभन्दा ठूलो स्कोर खडा गरेको थियो । 

नेपाली स्पिनरहरू चम्किएपछि पपुवा न्युगिनीको ब्याटिङ अर्डर धराशायी बन्यो । दुई सय ९८ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ३३ ओभरभित्र आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो । त्यसपछि बाँकी विकेट औपचारिकतामै सीमित रहे । आठ विकेट गुमेपछि आएका भानुएले तीव्र गतिमा रन बनाउँदै अर्धशतक बनाए पनि खेल जिताउन सकेनन् । सन्दीपको अन्तिम ओभरको चौथो बलमा ज्ञानेन्द्र मल्लबाट क्याच छुटेपछि उनले जीवनदान पाएका थिए । 

पिएनजीले सुरुवात भने आक्रामक र सुदृढ देखिएको थियो । एघारौँ ओभरको दोस्रो बलमा ७७ रनको अवस्थामा मात्र पिएनजीले पहिलो विकेट गुमायो । दीपेन्द्रसिंह ऐरी र आसिफ शेखले किप्लिन डोरिगालाई रनआउट गरेपछि पिएनजी एकाएक दबाब आयो । 

८८ रनमै पिएनजीको दोस्रो विकेट गुम्यो । यसपटक पुनः दीपेन्द्रसिंह ऐरी चम्किए । उनले आफ्नो पहिलो ओभरमै पिएनजीका टपअर्डर ब्याटर सेसे बाओलाई सोमपाल कामीको हातबाट आउट गराए ।

चार रन थपेपछि पिएनजीले तेस्रो विकेट गुमायो । यसपटक सन्दीप लामिछानेले ४४ रनमै ५० रन बनाएका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच गराए । सन्दीपको पहिलो ओभरमै उराले जीवनदान पाएका थिए । सन्दीपकै दोस्रो ओभरमा पनि पहिलो स्लिपमा क्याच हुनबाट उनी जोगिएका थिए । 

सन्दीपले आफ्नो दोस्रो स्पेलमा लगातार दुई बलमा दुई विकेट लिएपछि पिएनजी धराशायी बन्यो । उनलाई दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले पनि साथ दिए । 

त्यसअघि ब्याटिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । पुनः टिममा फर्किएका कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिङ सुरु गरेका थिए । 

दुवै ओपनरले उत्कृष्ट सुरुवात दिलाए । यी दुईबीच पहिलो विकेटका लागि एक सय १० रनको साझेदारी भएको थियो । आसिफले आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरे । 

युएईमा भएको पछिल्लो सिरिजमा पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा नटआउट ८६ रन बनाएका आसिफले आज कीर्तिपुर मैदानमा एक सय दश रनको इनिङ खेले । यसक्रममा उनले दुई छक्का र १२ चौका प्रहार गरे । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए । 

यी २१ वर्षीय विकेटकिपर ब्याटरले यसबीच एकदिवसीय म्याचमा एक हजार रन पनि पूरा गरे । ७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरेका हुन् । 

उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । एकदिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ । 

अर्का ओपनर कुशलले ५६ बलमा ४५ रन बनाए । यस्तै, अर्का २१ वर्षे युवा क्रिकेटर भीम सार्कीले पनि ४४ रनको महत्वपूर्ण योगदान दिए । भीमले ३८ बलमा चार चौकाको मद्दतमा मध्यक्रममा पुनः सम्भावना रहेको ब्याटरका रूपमा आफूलाई उभ्याए । 

कप्तान रोहितकुमार केसीले राम्रो सुरुवात गरे पनि इनिङलाई लामो समय टिकाउन सकेनन् । उनले ३९ बलमा ३० रन बनाए । सबैभन्दा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल पुनः एकपटक असफल साबित भए । 

कुशल मल्लले दुई, दीपेन्द्रसिंह ऐरीले सात, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात र सोमपाल कामीले चार रन बनाए । सोमपाल अविजित रहे । 

आजको खेलमा ओपनर ब्याटरले सुदृढ सुरुवात गरे पनि मध्यक्रम धर्मराउँदा नेपाल ४९औँ ओभरको पहिलो बलमा अलआउट हुन पुग्यो । नेपाली ब्याटरले सम्हालिएर खेलेको भए स्कोर सवा तीन सयसम्म पुग्ने सम्भावना थियो । 

पिएनजीको तर्फबाट सेमो किमियाले पाँच तथा रिले हिकुरेले तीन विकेट लिए ।

ad
ad