
मिडफिल्डर दीपा शाहीको ह्याट्रिक प्रेरित नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटमा प्यालेस्टाइनलाई ६–० ले पराजित गरेको छ । बुधबार प्यालेस्टाइनको अलरामस्थित फैसल अल हुसैन अन्तर्राष्ट्रिय मैदानमा दीपा शाहीले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । नेपालको जितमा गरिमा राईले दुई गोल गरिन् । जितसँगै नेपालले तीन अंक जोडेको छ ।
समूह ‘बी’मा नेपालसँगै प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड छन् । नेपालले १२ मार्चमा नर्दन मारियानासँग खेल्नेछ । समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले भने प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो । शीर्ष टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।
दीपाले खेलको २१औँ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो गोल पेनाल्टीमा सम्भव भएको थियो । खेलको २९औँ मिनेटमा गरिमाले गोल गर्दै नेपालले पहिलो हाफमा २–० को अग्रता बनायो । मध्यान्तरपछि प्रीति राईको कप्तानीमा रहेको नेपालले थप चार गोल ग¥यो । दीपाले व्यक्तिगत दोस्रो गोल ६७औँ मिनेटमा र ७५औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।
गरिमाले ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यता, दीपाले ८५औँ मिनेटमा व्यक्तिगत चौथो र टोलीका लागि छैटौैँ गोल पूरा गरिन् । खेलमा नेपालले प्यालेस्टाइनमाथि दबाब राखेको थियो । प्यालेस्टाइनले खेलको कुनै पनि समयमा नेपालमाथि दबाब बनाउन सकेन ।