१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र १९औँ खेलमा पराजित

साबिक दुईपटकको विजेता मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमै जावलाखेलसँग ३–१ ले स्तब्ध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:५७:oo

साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९–८० को पहिलो खेलमै पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अग्रता जोगाउन नसक्दा मच्छिन्द्र जावलाखेल युथ क्लबसँग ३–१ को गोलअन्तरमा पराजित भएको हो ।

मोफसलमा आयोजना भएको गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले केपी ओली कप तथा सातौँ राजर्षि जनक कपको उपाधि जितेको थियो । लिगको पहिलो खेलमै पराजित भएपछि मच्छिन्द्रको उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा धक्का लागेको छ । मच्छिन्द्रको १९ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । मच्छिन्द्र पछिल्लोपटक ०७६ को लिगमा हिमालयन शेर्पा क्लबसँग २–० ले पराजय भएको थियो । 

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले लगातार खेल्दा खेलाडी घाइते भएको र पहिलो खेल खेल्न गाह्रो भएको बताए । ‘चोटका कारण हामीलाई समस्या भयो । देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, दयानन्द सिंह, आन्द्रेनिया पनि घाइते हुँदा झनै गाह्रो छ,’ प्रशिक्षक कटवालले भने, ‘६–७ खेलाडी नहुँदा पहिलो खेल गाह्रो भयो ।’ लिगअघि नकआउट फुटबलमा लगातार चार खेल खेल्दा मच्छिन्द्रका अधिकांश खेलाडी घाइते भएका छन् । घाइते भएपछि सुजल पूर्ण रूपमा फिट छैनन् । देवेन्द्र जावलाखेलविरुद्धको खेलको ३१औँ मिनेटमा मैदान छाड्न बाध्य भए । दयानन्द, आन्द्रेनिया र विमल जावलाखेलविरुद्ध मैदान उत्रिएनन् । 

जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । ‘पहिलोको तुलनामा दोस्रो हाफमा थप राम्रो खेल भएको भयो, हामीले पहिलो हाफमा निकै अवसर पायौँ,’ श्रेष्ठले भने, ‘युवा खेलाडीले अनुभवी खेल खेले ।’ 

जावलाखेलको जितमा हिसुब थपलिया, एकोटो मासोआबी र सिमन्त थापाले एक–एक गोल गरेका थिए । तीनै गोल दोस्रो हाफमा सम्भव भयो । खेलको २३औँ मिनेटमा डिफेन्डर देवेन्द्र तामाङले फ्रिकिकबाट मच्छिन्द्रलाई १–० को अग्रता दिलाएका थिए । खेलको ६०औँ मिनेटमा स्ट्राइकर हिसुबले जावलाखेललाई १–१ को बराबरीमा ल्याए । फोडे फोफानाले मध्यभागबाट दिएको सुन्दर पासलाई हिसुबले सदुपयोग गरेका थिए । ६४औँ मिनेटमा मासोएबीले जावलाखेललाई २–१ को अग्रता दिलाए । अनुभवी गोलरक्षक विशाल श्रेष्ठले बल क्लियर गर्न नसक्दा मासोएबीले सहज गोल गरे । ८१औँ मिनेटमा कप्तान सिमन्तले हेड गोल गर्दै ३–१ को अग्रता दिलाए । 

सातदोबाटोसँग एनआरटी पराजित 
गत सिजन चौथो स्थान हासिल गरेको सातदोबाटो युथ क्लबले सानदार सुरुवात गरेको छ । च्यासल मैदानमा सातदोबाटोले न्युरोड टिम (एनआरटीलाई) २–१ ले हरायो । जितपछि सातदोबाटोले तीन अंक जोडेको छ । एनआरटीले हारबाट लिग सुरु गर्‍यो । सातदोबाटोको जितमा दुवै गोल दीपकराजसिंह ठकुरीले गरे । एनआरटीका निकोलास सर्ज सङले एक गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा दीपकले सातदोबाटोलाई अग्रता दिलाए । तर, पाँच मिनेटको इन्जुरी समयमा निकोलासले खेल १–१ को अवस्थामा ल्याएका थिए । खेल बराबरीतर्फ बढ्दै गर्दा दीपकले ८४औँ मिनेटमा विजयी गोल गरेका थिए । 

आर्मी र संकटाको बराबरी 
लिगको उपाधि दाबेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले पहिलो खेलमा अंक बाँडेका छन् । दशरथ रंगशालामा दुवै टोलीले गोलरहित बराबरी खेल्दै पहिलो खेलमा १–१ अंक जोडेका हुन् । दुवै टोलीले पाएका केही अवसर गुमाउँदा गोल गर्नबाट चुकेका थिए । राष्ट्रिय टोलीका खेलाडीले भरिएका दुवै टोलीबीचको खेल निकै रोमाञ्चक बनेको थियो । तर, दुवै टोली फिनिसिङमा चुकेका थिए । आर्मीले पछिल्लो लिगकै खेलाडीलाई निरन्तरता दिएको छ । यसैगरी, संकटाले कप्तान सुनील बलसहित गोलकिपर टिकेन्द्रसिंह थापा, निशान खड्का, सुनील श्रेष्ठ, कुलदीप कार्की, आयुष घलान, सुरजजिउ ठकुरीलाई अनुबन्धित गरेको छ । 

संकटाका प्रशिक्षक सल्यान खड्कीले फिनिसिङमा चुक्दा गोल गर्नबाट वञ्चित भएको प्रतिक्रिया दिए । ‘फिनिसिङमा चुक्दा बराबरीमा चित्त बुझाउनुप¥यो,’ उनले भने । पहिलो खेलमा घाइते हुँदा राष्ट्रिय टोलीका सदस्य आयुष मैदानमा उत्रिएनन् । खेलाडीले रणनीतिअनुसार खेल्न नसकेको आर्मीका सहायक प्रशिक्षक राजु तामाङले बताए । ‘पहिलो खेल भएर होला, खेलाडीले रणनीतिअनुसार खेल्न सकेनन् । आगामी दिनमा कमी कमजोरी सुधार गर्दै खेल्नेछौँ,’ तामाङले भने । 

ad
ad