
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताअघि सबैले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । माओवादी जनयुद्धमाथि आक्रमण भइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सहिदको सपना पूरा गर्न पनि एकताको विकल्प नभएको प्रस्ट्याए ।
‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकैपटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनुभन्दा पनि पहिला निर्ममतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरूजति एक ठाउँमा आऔँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ,’ उनले भने ।