
पुँजी बजारमा नेपालकै पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी सुरु हुने भएको छ । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजी बजारका अन्य निकायमा पुनः व्यक्तिगत विवरण बुझाउनुनपर्ने गरी केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजिटल केवाइसी) लागू गरिने भएको हो ।
पुँजी बजारमा विद्युतीय सेवासमेत प्रदान गर्दै आएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले केन्द्रीकृत डिजिटल केवाइसी लागू गर्ने तयारी अघि बढाएको हो । यो अन्तिम चरणमा पुगिसकेको सिडिएससीको भनाइ छ । हाल सफ्टवेयर (सिस्टम प्रणाली)लाई केही ब्रोकर कम्पनी र मर्चेन्ट बैंकरहरूमा परीक्षण भइरहेको छ । त्यसको नतिजा पनि राम्रो देखिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । अब बाँकी काम र प्रक्रिया पूरा गरेर केन्द्रीकृत डिजिटल केवाइसीलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।
अहिले डिम्याट खाता, मेरो सेयर खाता, ब्रोकर खाता (टिएमएस) खोल्दा सम्बन्धित ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरलगायतका निकायमा लगानीकर्ताले छुट्टाछुट्टै केवाइसी भर्नुपर्नेे बाध्यता छ । एउटै ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता खोल्दा पनि दुईपटक केवाइसी भर्नुपर्ने बाध्यता छ । साथै, एउटा मर्चेन्ट बैंक तथा ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता (टिएमएस) खोलेको व्यक्तिले अर्काे ब्रोकर तथा मर्चेन्ट बैंकरमा डिम्याट खाता पनि केवाइसी भर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
त्यसमाथि कतिपय ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले केवाइसी अझै डिजिटलाइज गरेका छैनन् । फलस्वरूप लगानीकर्ताले निकै झन्झट व्यहोर्नुपरेको छ । साथै, खर्च पनि उत्तिकै मात्रामा भइरहेको लगानीकर्ताको गुनासो छ । सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजारभित्रको कुनै एक निकाय तथा संस्थामा केवाइसी भरेपछि अर्काे ठाउँमा पुनः केवाइसी भर्नुनपर्ने गरी नयाँ प्रविधि ल्याउन लागिएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । यो प्रविधि आएपछि लगानीकर्ताले एउटा निकायमा केवाइसी भरेपछि सोही निकाय वा अन्य निकायमा थप केवाइसी भर्नुनपर्ने उनको भनाइ छ । यद्यपि, आवश्यकताअनुसार समय–समयमा केवाइसीलाई अपडेट गर्दै जानुपर्ने उनले बताए ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ०७७ मा एक निर्देशिका जारी गर्दै सिडिएससीलाई सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न निर्देशन दिएको थियो । सोही निर्देशिकाअन्तर्गत सेन्ट्रल डिजिटल केवाइसी लागू गर्ने प्रक्रिया अघि बढाएको हो । सम्भवतः अबको एक–दुई महिनामा यो कार्यान्वयनमा आउने सिडिएससीको भनाइ छ ।
सेन्ट्रल डिजिटल केवाइसीका लागि सेवाशुल्क तोक्न नेपाल धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, लगानीकर्तालगायतका सरोकारवालासँग छलफल अगाडि बढाइएको छ । उक्त छलफलमार्फत सेवाशुल्कको टुंगो लगाउने काम भइरहेको आचार्यले बताए । उनले भने, ‘अब सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न यी दुई काम मात्रै बाँकी छ । यो पूरा भएपछि सेन्ट्रल डिजिटल केवाइसी कार्यान्वयनमा आउँछ ।’