१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
याङ ली मिङ
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

होटेलमा बन्धक बनाइएका चार बालिकाको उद्धार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:१८:००

नाबालिकालाई आर्थिक प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् । ४९ वर्षीय याङ ली मिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ललितपुरको बुङमतीबाट शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चार नाबालिकालाई होटेलमा बन्धक बनाएर राखेका थिए । मिङले दुईजनालाई यौन शोषण गरेको प्रहरीको भनाइ छ ।

मिङ नेपालमा व्यवसायीको आवरणमा बस्दै आएका थिए । बुङमतीमा अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका उनको न्यु प्युरी एन्ड म्याट्रेस कम्पनी छ । प्रहरीले उनलाई सोही ठाउँबाट पक्राउ गरेको हो । उनले बन्धक बनाएको चार बालिकालाई प्रहरीले ठमेलस्थित होटेलबाट उद्धार गरेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए ।

‘उसले उमेर नपुगेका बालिकालाई विभिन्न प्रलोभन देखाएर काठमाडौं बोलाउने रहेछ । होटेलमा बन्धक बनाएर यौन शोषण गर्ने रहेछ । अहिलेसम्म उसले ६ बालिकालाई काठमाडौं ल्याएको देखिन्छ । जसमध्ये दुईजनालाई यौन शोषण गरेको उजुरी परेको छ । चारजनालाई ठमेलको एउटा होटेलबाट उद्धार गरेका छौँ,’ उनले भने ।

प्रहरीका अनुसार मिङ सामाजिक सञ्जाल फेसबुकमार्फत एकैपटक विभिन्न युवतीसँग च्याट गर्थे । यसक्रममा उनले च्याटमा आएका युवतीसँग उमेरबारे जानकारी लिन्थे । १८ वर्षभन्दा कम उमेरको बालिका फेला परेपछि उनी च्याटमार्फत नजिकिन्थे । मीठा गफ दिन्थे । विभिन्न प्रलोभन बाँड्थे । जब बालिका नजिकिन्थे उनले काठमाडौं आउन प्रस्ताव गर्थे । आउने–जाने भाडा पनि उनी आफैँ बेहोर्थे । 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार काठमाडौं आएपछि उनले बालिकालाई होटेलमा भेट्थे । उनीहरूका लागि होटेलमै कोठा बुक गरिदिन्थे । सोही कोठामा बस्न भन्थे । बेलुका विभिन्न डिस्को र पबमा सँगै लिएर जान्थे । खर्च उनकै हुन्थ्यो । मन जितेपछि उनले बालिकालाई एक्लै बुङमतीस्थित आफ्नै अपार्टमेन्ट लैजान्थे । र, यौन शोषण गर्थे । यस क्रममा उनले विभिन्न जिल्लाबाट ६ जना बालिका काठमाडौं बोलाएका थिए । जसमध्ये दुईजनालाई कोठामा लगेर यौन शोषण गरेका थिए भने चारजनालाई ठमेलस्थित होटेलमा कोठा लिएर बन्धक बनाएर राखेका थिए । 

‘फेसबुकमार्फत उनी कम उमेरका बालिकासँग सम्पर्क गर्थे । विभिन्न प्रलोभन दिएर काठमाडौं बोलाउँथे । आउने–जाने खर्च आफैँ दिन्थे । काठमाडौंमा पनि बस्ने र खाने सबै खर्च आफैँ बेहोरेर जब बालिकाको मन जित्थे, त्यसपछि यौन शोषण गर्थे,’ थापाले भने । सिआइबीका अनुसार उनले सम्पर्कमा आएका बालिकामार्फत अन्य बालिकाको खोजी गर्थे । यसक्रममा उनले बालिकाहरूलाई आवश्यकताअनुसार प्रलोभन दिने गर्थे ।

पक्राउ परेका मिङविरुद्ध थप अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासत कक्षमा राखिएको छ । ‘बालिकालाई प्रलोभनमा पारी यौन शोषण गम्भीर अपराध हो । उनीविरुद्ध पीडित दुई बालिकाले उजुरी दिएका छन् । अनुसन्धान गर्न बाँकी छ । यसका लागि अदालतबाट तीन दिनको म्याद थप भएको छ,’ थापाले भने ।