१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेले मनोनयन दर्ताको दिन मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२५:oo

 एमालेले मनोनयन दर्ताको दिन शनिबार बिहान मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने भएको छ । प्रधानमन्त्री प्रचण्डसमक्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम लगेका केपी ओलीले शनिबार बिहान राष्ट्रपतिको उम्मेदवार टुंग्याउन सचिवालय बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले राष्ट्रपतिको उम्मेदवारबारे संस्थागत निर्णय गर्न शनिबार बिहान केन्द्रीय सचिवालयको बैठक बोलाइएको बताए । ‘सचिवालयका सदस्यहरूका लागि शनिबार बिहान बैठक बसेर राष्ट्रपतिको उम्मेदवारबारे निर्णय हुन्छ भनेर पूर्वजानकारी गराइसकिएको छ, त्यसअनुसार नै बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने । यद्यपि, अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग शुक्रबार पनि अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई नेपालको नाममा राष्ट्रिय सहमति जुटाउने गरी नाम दिएपछि ओली राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने छलफल र भेटघाटमा सक्रिय छैनन् । नेपाल पुरानो गठबन्धन (कांग्रेससहित) ब्युँताउन सहमत नभए शनिबार बिहानको बैठकबाट उनकै नाममा निर्णय गर्ने तयारीमा ओली रहेको निकट स्रोतले बतायो । यस्तो अवस्थामा माओवादी पनि नेपाललाई राष्ट्रपतिमा स्विकार्न बाध्य हुने उनको बुझाइ छ । 

एमालेबाट राष्ट्रपतिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाललगायतका नेता चर्चामा छन् । तर, कुनै पनि नेताले आफूलाई उम्मेदवारका रूपमा प्रस्टसँग उभ्याउन सकेका छैनन् ।

माओवादीसँगको गठबन्धन टुट्न लागेको ओलीको संकेत 
एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको चुनावी परिणामसँगै एमाले–माओवादीबीच बनेको गठबन्धन टुट्न लागेको संकेत गरेका छन् । सरकारले १ फागुनको ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि सार्वजनिक गरेर ओलीले एमाले–माओवादी गठबन्धन टुट्न लागेको र कांग्रेस नेतृत्वको पुरानै गठबन्धन ब्युँतिन सक्ने संकेत गरेका हुन् ।

१ फागुनमा जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु गलत भएको उनको टिप्पणी छ । आफ्नो ७२औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गरे । 

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ, जुन कुरा सही होइन ।

सरकारले किन त्यो गर्‍यो ? आकस्मिक रूपमा त्यो किन गर्नुपर्‍यो ? आफैँले त्यो बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झी–सम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्रै लाग्छ मलाई । जेहोस्, नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लड्ने–लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन र भोलि पनि सम्भव छैन,’ ओलीले भने । 

ad
ad