१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तानको साहसिक इनिङमा स्कटल्यान्डमाथि नेपालको सानदार जित, सिरिज ४–० ले कब्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३५:oo

कप्तान रोहित पौडेलको साहसिक इनिङको मद्दतमा नेपालले त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ च्याम्पियन स्कटल्यान्डलाई नेपालले लगातार दोस्रो खेलमा पराजित गरेको हो । स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा ४४औँ ओभरमा पूरा गर्‍याे । 

यो जितसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग– २ को शीर्ष तीन स्थानमा रहने सम्भावनालाई जीवित राखेको छ । 

धराशायी भइसकेको नेपाली ब्याटिङलाई कप्तान रोहित पौडेलले एक इनिङबाट अन्तिमसम्म सम्हाले । १०१ बल सामना गरेका रोहितले चार छक्का र ६ चौकाको मद्दतमा ९५ रन बनाए । उनलाई करन केसीले बलियो साथ दिए । करणले ३७ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ३१ रन बनाए । दुवै अविजित रहे । 

एक सय ३८ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा करण क्रिजमा आएका थिए । १९ रनको अवस्थामा दुई विकेट गुमाएपछि क्रिजमा आएका रोहितले एक छोरबाट विकेट जोगाइराखे भने रन बनाइरहे । 

अर्को छोरबाट भने नेपालले लगातार विकेट गुमाएको थियो । नवौँ विकेटका लागि भने रोहित र करणले अर्धशतकीय साझेदारी गर्दै जितको आधार खडा गरे । 

त्यसअघि नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको थियो । त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलमा भने निराशा बनाए ।

नेपालले ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल, आसिफ सेख, मध्यक्रमका ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरालाई सस्तैमा गुमायो । सोमपाल कामी, सन्दीप लामिछाने पनि ब्याटिङमा चल्न सकेनन् ।

नेपालले एक रन बनाउँदा नै पहिलो विकेट गुमाएको थियो । एक रनको अवस्थामा कुशल आउट भएका थिए । त्यसपछि नेपालले १८ रन जोड्दा अर्का ओपनर ब्याटर आसिफ आउट भए । उनले २३ बलमा १२ रन बनाए । 

३० बल खेल्दा २१ रन बनाएका ज्ञानेन्द्र एलबिडल्बू आउट हुँदा नेपालको स्कोर ३४ रन थियो । टिम कठिन अवस्थामा रहेका वेला क्रिजमा आएका कुशल मल्लले पनि चाँडो रन बनाउने हतारो गर्दा विकेट गुमाउन पुगे । उनी १७ रनमा आउट भए । 

गुलशन झाको स्थानमा मौका पाएका सन्दीप जोराले एक रन मात्र बनाउन सके । १६ बलमा सात रन बनाएर दीपेन्द्र आउट हुँदा सोमपालले सात बलमा दुई रन मात्र बनाए । १३ बल सामना गरेका सन्दीपले नाै रन बनाए । 

त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्ड ४६.१ ओभरमा दुई सय १२ रनमा अलआउट भएको थियो । 

सन्दीप लामिछानेले चार तथा करन केसीले तीन विकेट लिएपछि स्कटल्यान्ड ५० ओभरअघि नै अलआउट भएको हो । दश ओभर बलिङ गरेका सन्दीपले ४५ रन दिएर चार विकेट लिए । 

८.१ ओभर बलिङ गरेका करनले ४२ रन दिएर तीन, ललित राजवंशीले १० ओभरमा ३३ रन दिएर एक तथा कुशल मल्लले ६ ओभरमा ६० रन दिएर एक विकेट लिए । 

सात ओभर बलिङ गरेका सोमपाल कामीले २३ रन दिए । उनले विकेट लिन सकेनन् । पाँच ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २९ रन दिए भने विकेट लिन सकेनन् । 

ad
ad