१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिसमाथि चर्च ब्वाइजको सहज जित

ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग नेपाल पुलिस क्लब ३–० ले निराश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo

ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले सोमबार भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–० ले निराश पारेको छ । जितसँगै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको छ । अब चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो क्वार्टरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुनेछ । मेची रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरेका थिए । 

मोफसलमा आयोजना हुने गोल्डकपकै अनभुवी टोली पुलिसविरुद्ध चर्च ब्वाइजले ४०औँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले क्लियर गरेको बल रिबाउन्ड भएको थियो । त्यही रिबाउन्डमा गगनदीपले डिबक्सभित्रबाट सहजै गोल गरी चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । मध्यान्तरपछि चर्च ब्वाइज निकै आक्रामक बन्यो । अर्कोतिर, पुलिसले सुरुदेखि नै रक्षात्मक रणनीति अपनाएको थियो । दोस्रो हाफमा चर्च ब्वाइजले दुई गोल थप्दा पुलिसको केही चलेन । 

खेलको ५६औँ मिनेटमा चर्च ब्वाइजका आशिषले व्यक्तिगत पहिलो गोल थपे । सुवास गुरुङको लङ पासमा डिबक्सभित्र रहेका आशिषले चर्च ब्वाइजलाई २–० को अग्रता दिलाउन सफल भए । खेलको ६०औँ मिनेटमा एरिक विष्टले मध्यभागबाट दिएको पासमा आशिषले दोस्रो बारको कुना च्याप्दै चर्च ब्वाइजलाई ३–० को बलियो स्थितिमा राखे । प्रतिस्पर्धामा पुलिसको फिनिसिङ लाइन निकै कमजोर देखिन्थ्यो । पुलिसले खेलअवधिभरि खासै राम्रो मुभ बनाउन सकेन । ३२औँ मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्समले खाली पोस्टमै गोल गर्न सकेनन् ।

पहिलो हाफमा खेल्न सकेनौँ
सुदर्शन भक्तराज प्रशिक्षक, चर्च ब्वाइज 

हामीले यस प्रतियोगितालाई आसन्न सहिद स्मारक ए डिभिजन लिगको तयारीका रूपमा लिएका छौँ । अहिले केही खेलाडी घाइते छन् । यस कारण टोलीमा केही समस्या आइरहेको छ । पुलिसको रणनीति र खेलअनुरूप पहिलो हाफमा योजना बनाएका थियौँ । पहिलो हाफमा गोल अवसर खेलाडीले चुकाए । यद्यपि, दोस्रो हाफमा अघिल्लो गल्ती सुधार गरी खेलाडीले गोल गर्न सफल भए । 

युवा खेलाडीलाई एक्स्पोज गरायौँ
रविन श्रेष्ठ, प्रशिक्षक, नेपाल पुलिस

हामीले पनि ए डिभिजन लिगलाई मध्यनजर गरी टोली बनाइरहेका छौँ । अहिले हामी ट्रान्जिसन समयमा छौँ । युवा खेलाडीले एक्स्पोजर पाउन् भन्ने उद्देश्यका साथ टोली बनाएका छौँ । काठमाडौंमा ११ फागुनदेखि हुने प्रतियोगिता र भद्रपुरमा आयोजना भइरहेको गोल्डकपका लागि पुलिसले दुई फरक टोली बनाएको छ । दुवैतिर सन्तुलन मिलाउन दुईवटा टिम बनाउँदा बलियो भएन । 

ad
ad