१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रथम भद्रपुर–झापा गोल्डकप : भद्रपुर ब्लेजर्ससँग भारतीय टोली पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo

आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतीय टोली जयगाउँ फुटबल क्लबलाई २–० ले हराएको छ । मेची रंगशालामा आइतबार भएको खेलमा भद्रपुरलाई जित दिलाउने क्रममा स्टेफन समिर र मेसुके ओलिमोउले एक–एक गोल गरेका थिए ।

भद्रपुरले मंगलबार हुने क्वार्टरफाइनलमा संकटा क्लबको सामना गर्नेछ । संकटा बाई पाएर सीधै अन्तिम आठमा प्रवेश गरेको हो । प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । 

खेलको ५५औँ मिनेटमा मेसुकेले डिबक्सभित्र दिएको पासमा समिरले गोल गरेका थिए । खेलको ८० औँ मिनेटमा मेसुकले अर्को गोल थपे । मेसुकेले लगभग मैदानको मध्यभागबाट एकल प्रयासमा उत्कृष्ट गोल गरेका हुन् । 

आयोजक क्लबका खेलाडीले पहिलो हाफमा जयगाउँमाथि दबाब राखे पनि गोल गर्न सकेका थिएनन् । जयगाउँले पहिलो हाफमा रक्षात्मक खेलेको थियो । भद्रपुरले प्रतियोगितामा ए डिभिजन क्लब खुमलटार युवा क्लबका अधिकांश खेलाडी खेलाएको थियो । खेलको २४औँ मिनेटमा भद्रपुरका मेसुकेले प्रहार गरेको बललाई जयगाउँका गोलरक्षक विशाल 
लामाले बचाए । 

खेलको ३४औँ मिनेटमा भद्रपुरका समिरले डिबक्सभित्रबाट प्रहारित बल दोस्रो बारमा ठोक्किएको थियो । प्रतिस्पर्धामा भद्रपुरले अधिकांश समय जयगाउँको पोस्टमा चार्ज गरेको थियो । खेलको ७४औँ मिनेटमा डिबक्समा अनमार्क रहेका ओलोमोउले गरेको प्रहार क्रसबारमाथि गयो । जयगाउँले खेल अवधिभर उत्कृष्ट मुभ नै बनाउन सकेन । पाहुना टोलीको डिफेन्स र मिडफिल्ड कमजोर रह्यो । प्रतिस्पर्धामा भद्रपुरका मेसुके म्यान अफ दी म्याच हुँदै २० हजार रुपैयाँ प्राप्त गरे । 

अवसरको सदुपयोग गर्न सकेनौँ
प्रशिक्षक, हरि खड्का, भद्रपुर

पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न सकेनौँ । पहिलो हाफको १५ मिनेटभित्र नै मौका पाएका थियौँ । त्यसलाई गोलमा कन्भर्ट गर्न सकिएन । खुमलटारले लिग खेल्दै छ । भद्रपुर ब्लेजर्सले भद्रपुर–झापा गोल्डकप खेल्दै छ । हाम्रो टोलीमा लोकल खेलाडी पनि छन् । टिम बनाउँदा खुमलटार नभनिदिन आग्रह गर्छु । 

मध्यान्तरपछि कमजोर भयो 
विकास प्रधान, प्रशिक्षक, जयगाउँ

पहिलो हाफमा आयोजकले धेरै मौका पाएको थियो । कम्तीमा उनीहरूलाई रोक्ने रणनीतिमा सफल भयौँ । दोस्रो हाफमा खेलाडीले गल्ती गरे । हामीले भनेजस्तो सेट टिम ल्याउन पनि सकेनौँ । अहिले सिक्किममा लिग चलिरहेको छ । राम्रा खेलाडी लिगमै व्यस्त छन् । नेपालमा आएर खेल्दा खुसी छौँ । यहाँ फुटबलको अवसर राम्रो छ ।

ad
ad