१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format २o:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मच्छिन्द्रले उचाल्यो राजर्षि जनक कपको उपाधि

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

मच्छिन्द्र फुटबल क्लब काठमाडौंले सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार सर्लाहीको बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न फाइनल खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

उपाधिसँगै मच्छिन्द्रले दश लाख रुपैयाँ र राजर्षि जनक कप हात पारेको छ । उपविजेता जावलाखेल पाँच लाखमा चित्त बुझाउन बाध्य भएको छ । 

मच्छिन्द्रका लागि खेलको २९औँ मिनेटमा पेनाल्टीमार्फत विमल घर्तीमगरले पहिलो गोल गर्दै अग्रता बनाए । जावलाखेलका डिफेन्डर आदित्य चौधरीले मच्छिन्द्रका अभिषेक गुरुङलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै विमलले जावलाखेलको जाली चुमाएका थिए । 

८०औँ मिनेटमा मच्छिन्द्रका सौरभ लिम्बूले डिबक्सको कर्नरबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले पन्च गरेर बचाए । 

तर, उक्त बललाई क्याप्टेन सुजल श्रेष्ठले डिबक्सभित्रबाट सशक्त प्रहार गर्दै गोलमा परिणत गरिदिएपछि मच्छिन्द्रले अग्रता २–० अवस्थामा पुर्यायो । सुजलको प्रहार क्रसबार नजिक हुँदै गोलपोस्टको दिशा लिन सफल भयो ।

खेलको ८४औँ मिनेटमा जावलाखेलका विनोद केसीले गोल गर्दै खेललाई १–२ को अवस्थामा पुर्याए । तर, थप गोल हुन नसक्दा जावलाखेल उपाधिको दौडमा फर्कन सकेन । 

खेलमा एक गोल गरेका मच्छिन्द्रका क्याप्टेन सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै ट्रफी र दश हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागमती युवा क्लबका सृजन गौतम बने । गौतमले ट्रफीसहित नगद ५१ हजार पाए । मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, जावलाखेलका सीमान्त थापा उत्कृष्ट डिफेन्टर, जावलाखेलका समिराज ठोकर उत्कृष्ट मिडफिल्डर, मच्छिन्द्रका विमल घर्तीमगर उत्कृष्ट स्ट्राइकर र मच्छिन्द्रकै प्रवेश कटुवाल उत्कृष्ट कोच हुँदै जनही २५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्न सफल भए । 

त्यसैबीच, प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि बागमती युवा क्लबका अभिषेक वाइबा घोषित भए । उनले दुई सय सिसीको मोटरसाइकल प्राप्त गरेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । 

२५ माघदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी, दुई विभागीयसहित ए डिभिजन र मोफसल तथा आयोजकसमेत गरी १२ वटा टिमको सहभागिता थियो ।