१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुर्रे लिथ
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्टर्जनको राजीनामा र स्कटल्यान्ड स्वतन्त्रताको प्रश्न 

Read Time : > 2 मिनेट
मुर्रे लिथ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo

बेलायतको अन्तरसरकारी सम्बन्धको असरलाई अनिश्चितताले घेरेको छ र अहिले होलीरुड र वेस्टमिन्स्टरबीचको सम्बन्ध थप चिसो बनेको छ 

मुर्रे लिथ

केही साताअघि न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले पदबाट राजीनामा दिँदा स्कटल्यान्डका फस्र्ट मिनिस्टर (मुख्यमन्त्रीसरहको पद, कार्यकारी प्रमुख) निकोला स्टर्जनले आफूसँग अझै काम गर्ने ऊर्जा रहेको जनाएकी थिइन् । तथापि सबैलाई चकित बनाउने राजीनामा घोषणाका वेला उनले आफ्नो भविष्यबारे पनि सोचिरहेको बताएकी थिइन् । लैंगिक मान्यता सुधार विधेयक, स्कटल्यान्ड स्वतन्त्रताका लागि दोस्रो जनमतसंग्रहको प्रयास, आफ्नो स्कटिस नेसनल पार्टी (एसएनपी) मा चलिरहेको वित्तीय छानबिन, ‘पानी जहाज घोटाला’लगायत प्रकरणले निम्त्याएको कठिनाइ र विवादका बाबजुद स्टर्जनले राजीनामा दिने कुनै स्पष्ट संकेत गरेकी थिइनन् । 

२९ वर्षको उमेरदेखि सांसद रहेकी र सन् २०१४ देखि फस्ट मिनिस्टरको जिम्मेवारी सम्हालेकी स्टर्जन स्कटल्यान्डकै पहिलो महिला र सबैभन्दा लामो कार्यकाल पदमा आसीन फस्ट मिनिस्टर हुन् । उनले आफ्नो ठाउँमा अर्को मिनिस्टरको छनोट नहुन्जेल काम जारी राख्ने बताएकी छिन् । तर, उनका उत्तराधिकारीले अत्यधिक समस्या र कानुनी चुनौती झेल्नुपर्नेछ ।

स्टर्जनको जीवनकै लक्ष्य रहेको स्वतन्त्र स्कटल्यान्ड पूरा हुन सकेन र स्वतन्त्रताका लागि हुने जनमतसंग्रहका सन्दर्भमा स्कटल्यान्ड अत्यधिक विभाजित भएको छ । हालैको सर्वेक्षणले स्कटिस जनता स्वतन्त्रताका पक्षमा रहेको देखाएको थियो, तर अहिले एसएनपी नेतृत्वको सरकारले व्यहोरिरहेको चुनौतीका कारण स्वतन्त्रता पक्षधरको जनमत घट्न सक्ने संकेत देखिएको छ ।  

स्कटल्यान्ड स्वतन्त्रता जनमतसंग्रहको भविष्य : तीनैजना कन्जर्भेटिभ प्रधानमन्त्री (थेरेसा मे, बोरिस जनसन र ऋषि सुनक) ले ‘अहिले वेला भएको छैन’ भन्दै स्कटल्यान्ड संसद्लाई अर्को स्वतन्त्रता जनमतसंग्रह गराउने अनुमति दिएका छैनन् । र, बेलायतको सर्वोच्च अदालतले नोभेम्बर २०२२ मा बेलायती संसद् (वेस्टमिन्स्टर) को अनुमतिविना स्कटल्यान्डको संसद्लाई स्वतन्त्रताको जनमतसंग्रह गर्ने अख्तियारी नभएको फैसला गरेको थियो । नतिजा स्वतन्त्रता कसरी हासिल गर्ने भन्नेमा एसएनपी विभाजित छ । स्टर्जनको ‘प्लान सी’का अनुसार उनी आगामी आमचुनावलाई स्कटल्यान्ड स्वतन्त्रताका लागि गरिने सांकेतिक चुनावका रूपमा प्रयोग गर्न चाहन्थिन् ।

एसएनपीका सदस्य, अन्य राष्ट्रवादी समूहका सदस्य र आमजनताबाट स्टर्जनको योजनामाथि विभिन्न प्रतिक्रिया ओइरिएका थिए । एसएनपीका सांसद स्टिवर्ट म्याकडोनाल्डले स्टर्जनको यो योजनाले स्कटिस स्वतन्त्रतालाई थप क्षति पुग्ने बताएका थिए । योजनाका सम्बन्धमा एलेक्स साल्मन्डको अल्बा पार्टीले पनि कडा आलोचना गरेको थियो ।

स्कटल्यान्डको राजनीतिमा दश वर्षको वर्चस्वका बाबजुद एसएनपीले बेलायतको आमचुनावमा स्कटल्यान्डमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेको छैन । सन् १९५० को दशकयता स्कटल्यान्डमा अन्य पार्टीलाई एसएनपीजत्तिको समर्थन मिलेको छैन र सन् २०१५ को बेलायतको आमचुनावमा एसएनपीले झन्डै बहुमत ल्याएको थियो । यदि एसएनपीले आगामी आमचुनावमा ५० प्रतिशत मत प्राप्त गर्न सकेन भने प्लान सी र स्कटिस स्वतन्त्रता बहसको भविष्यबारे एसएनपीले चुनौतीपूर्ण प्रश्न सामना गर्नुपर्ने हुन सक्छ । स्टर्जनको राजीनामासँगै प्लान सीको समीक्षा गर्ने ढोका खुलेको छ । 

तस्बिर : इपिए 

स्टर्जनले राजनीतिक दबाबका कारण राजीनामा नगर्नेमा जोड दिएकी थिइन् र पछिल्ला केही सातायता केही मुद्दाका कारण विवादमा पर्दै आएकी थिइन्, जसमा सबैभन्दा ठूलो मुद्दा लैंगिक मान्यता सुधार विधेयक थियो, जसलाई बेलायती सरकारले शाही अनुमोदन हुनबाट रोकेको थियो । बेलायत सरकारले यसअघि संयुक्त अधिराज्य (बेलायत) मा अख्तियारीको अधिकार पाएका संस्था (बेलायतमातहतका मुलुकका संसद्) ले पारित गरेको विधेयकलाई कानुन बन्नबाट रोकेको थिएन । यसलाई एसएनपीका सदस्य एवं समर्थकले बेलायत सरकारको राजनीतिक हस्तक्षेपको निरन्तरताका रूपमा हेरेका छन् । एसएनपी र अन्यले बेलायत सरकारको कदमलाई अख्तियारीको विशेष अधिकारमाथिको हमलाका रूपमा लिएका छन् । 

बेलायतको अन्तरसरकारी सम्बन्धको असरलाई अनिश्चितताले घेरेको छ र अहिले होलीरुड (स्कटल्यान्डको संसद्) र वेस्टमिन्स्टर (बेलायती संसद्) बीचको सम्बन्ध थप चिसो बनेको छ । 

लैंगिक विधेयकले निम्त्याएको विवाद र तुसका बाबजुद स्कटल्यान्डको संसद्मा विधेयकका पक्षमा ८८ मत खसेको थियो, विपक्षमा ३३ (सातजना एसएनपीकै पुरातनपन्थी सांसदसहित) जना सांसद थिए । अनुशासनका मामिलामा प्रतिष्ठित एसएनपीमा देखिएको विभाजन निकै दुर्लभ थियो । यो दुर्लभ परिस्थितिको कारण लैंगिक मान्यता विधेयक हो, जहाँ विशेषतः पारलैंगिक व्यक्तिबारेका मामिलाले विवाद निम्त्याएको थियो । स्कटिस जेलमा पारलैंगिक कैदीसँग सम्बन्धित हालैको घटनाका कारण सार्वजनिक बहस नै निम्तिएको थियो, नतिजा स्कटिस जेल विभागले पारलैंगिक कैदीलाई स्वघोषित लिंगका आधारमा समायोजन गर्ने अभ्यासलाई उल्ट्याउनुपरेको थियो । यस मामिलाले सञ्चारमाध्यममा राम्रै ठाउँ पाइरहेका वेला भएको सर्वेक्षणले स्टर्जन र एसएनपीले समर्थन गुमाइरहेको देखाएको छ ।

नेतृत्वको विरासत : मुखर वक्ता स्टर्जनको स्वभावका कारण उनी बेलायतकै प्रशंसा गरिएका नेतामध्ये एक हुन् । आफ्नो प्रभावका कारण आफूइतर पार्टीका मानिसमाझ पनि उनी सफल भएकी थिइन्, विशेषतः उनका कार्यकालका कन्जर्भेटिभ प्रधानमन्त्रीलाई समेत प्रभावित पार्न सक्थिन् । उनकै नेतृत्वमा एसएनपीले स्कटल्यान्डका तर्फबाट होलीरुड होस् वा वेस्टमिन्स्टर, दुवै ठाउँमा बलियो पकड जमाएको थियो । 

एसएनपी स्कटल्यान्ड सरकारमा पछिल्लो १५ वर्षयता सहभागी छ र स्टर्जनले पछिल्लो आठ वर्षदेखि सरकारको कमान चलाउँदै आएकी थिइन् । राजीनामामा उल्लेख गरेझैँ उनले सार्वजनिक चासोका विषय बनेका मुद्दा र बहसको प्रतिनिधित्व गर्न आएको बताएकी थिइन् । राजीनामापछि उनले स्कटल्यान्डका मुद्दा र एसएनपीले पैरवी गरिरहेको स्वतन्त्रतामा थप तार्किक बहस हुने अपेक्षा गरेको प्रतीत हुन्छ । 

(लिथ युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डका राजनीतिशास्त्रका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट 

ad
ad