१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ फाल्गुण २ मंगलबार २१:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति आउने भएपछि सिंगारियो संस्कृत विश्वविद्यालय

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २ मंगलबार २१:४३:००

राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि नेपाल संस्कृत विश्वविद्यालय सिंगारिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालयदेखि आयुर्वेद शिक्षण अस्पतालसम्मलाई चिटिक्क पारिएको छ। 

केन्द्रीय कार्यालयको प्रांगणमा राष्ट्रपति सवार हेलिकाेप्टर अवतरण गर्ने छ। त्यसपछि राष्ट्रपतिलाई सीधै शिक्षण अस्पताल लगिनेछ। 

हेलिकाेप्टर अवतरण गरेको ठाउँदेखि शिक्षण अस्पताल लैजाने बाटो बनाइएको छ। जहाँ पहिले धुलाम्मे हुन्थ्यो। अहिले पानी छर्किनुका साथै ग्राभेल हालेर चिटिक्क पारिएको छ। बाटो वरिपरि ध्वजापतकाले सजाइएको छ।  

बुधबार बिहान ११ बजे राष्ट्रपति भण्डारीले शिक्षण अस्पतालको भवन उद्घाटन गर्ने कार्यक्रम छ। ५ वर्षअघि निर्माण सम्पन्न भएको उक्त भवनको भण्डारीले शिलान्यास गर्नेछन्।

२४ करोड ७२ लाख बढी लागतमा उक्त भवन निर्माण भएको हो। उक्त भवन २०७४ असारमा निर्माण सम्पन्न भई २०७४ मंसिरमा निर्माण कम्पनीले विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो। 

कोरोनालगायतका कारणले उक्त भवन उद्घाटन गर्न सकिएको थिएन। सोही भवनमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रूपमा पनि सञ्चालनमा ल्याएको थियो। 

त्योभन्दा अघि आयुर्वेदमा स्नातक(बिएएमएस) अध्ययनरत  विद्यार्थीहरूले प्रयोगात्मक गर्नका लागि ओपिडी पनि सञ्चालनमा थियो। तर, अहिले ओपिडी बन्द अवस्थामा छ।

 सोही भवनमा अहिले बिएएमएसका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। पाँचवटा ब्याजले अहिले नियमित सोही विद्यालयमा अध्ययन गरिरहेका छन्। सोही भवनमा १०८ वटा कोठा छन्। तीनवटा खण्ड मिलाएर एउटा बनाइएको सोही भवन तीन तलाको छ।  

राष्ट्रप्रमुख विश्वविद्यालयमा आएको पहिलोपटक हो। योभन्दा पहिले २०५४ सालमा भएको प्रथम दीक्षान्त समारोहमा राजा वीरेन्द्र आएका थिए। त्यसयता राष्ट्रप्रमुख आएका थिएनन्। राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।