Skip This
आगलागीले गहुँबाली सखाप भएपछि गुजाराको पिरलो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २९ शनिबार १o:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आगलागीले गहुँबाली सखाप भएपछि गुजाराको पिरलो

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:o३:oo

कैलालीको जोशीपुर गाउँपालिका– ६ सिमरीका फूलराम चौधरी अधियाँ लिएको करिब एक बिघा जमिनमा लगाएको गहुँबाली भित्र्याउँदै थिए । उनले केही काटेर खेतमै सुकाउन राखेका थिए, केही गहुँ काट्न बाँकी थियो । गत साता भएको आगलागीले खेतमा लगाएको पूरै गहुँबाली जलेर नष्ट भएपछि उनलाई परिवारको खाने गुजारा कसरी गर्ने भन्ने पिरलो छ ।

लगाएको बाली सबै सखाप भएपछि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ता रहेको उनले बताए । ‘गुजाराको माध्यम खेतबारी नै हो, लगाएको गहुँ सबै जलेर नष्ट भयो,’ चौधरीले भने, ‘छाक टार्न समस्या हुने भयो ।’ १० जनाको परिवार अधियाँमा लिएको खेतीमा निर्भर रहेको उनले बताए । 

सिमरीकै रामचन्द्र कठरिया पनि खेतमा लगाएको गहुँबाली जलेर नष्ट भएपछि गुजारा कसरी गर्ने भन्ने चिन्तामा छन् । आगलागीबाट आठ कट्ठा जमिनमा लगाएको गहुँबाली जलेर खरानी भएपछि आफू समस्यामा परेको उनले गुनासो गरे । ‘बाली लगाउँदा भएको सबै लगानी र आफ्नो मिहिनेत खरानी बन्यो,’ उनले भने, ‘आगलागीले धेरै किसान समस्यामा परेका छन् ।’ आफ्नोसहित पाँच भाइको करिब डेढ बिघामा लगाएको गहुँबाली जलेर नष्ट भएको कठरियाले बताए । 

९ वैशाखमा भएको आगलागीबाट जोशीपुर गाउँपालिकाको सिमरी र पकडिया तथा बर्दगोरिया गाउँपालिकाको जोकाहीमा गरी करिब आठ बिघा जमिनमा लगाएको गहुँबाली नष्ट भएको तथ्यांक प्रहरीले संकलन गरेको छ । जोकाहीमा स्थानीय एक महिलाले बारीमा लगाएको आगो खेतमा सल्किएर सँगै जोडिएको सिमरी र पकडियासम्म पुगेको थियो । गर्मीयाम सुरु भएसँगै कैलालीमा आगलागीका घटना बढेका छन् । शुक्रबार मात्रै लम्कीको डुडेझारी जंगलमा भीषण आगलागी भएको छ । 

समयमै आगलागी नियन्त्रण भएपछि जोगियो बादी बस्ती

कैलालीको लम्की–चुहा नगरपालिकास्थित बलचौरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पारस वादीको खरले छाएको घर जलेको हो । आगलागीबाट घरभित्र रहेको अन्नपात र लुगाफाटो जलेको प्रहरीले जनाएको छ । लम्की–चुहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीका इन्चार्ज प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । दमकल र स्थानीयको सहयोगमा आगो वादी बस्तीमा फैलन नपाएको उनको भनाइ छ । प्रहरीका अनुसार घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीले घर खरानी बनेपछि बादी परिवार विचल्लीमा परेको छ । शनिबार नै जोशीपुर गाउँपालिका– १, स्थित कुखुरा फममा आगलागी हुँदा करिब चार क्विन्टल कुखुरा जलेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर स्थानीय नन्दन बोहराको कुखुरा फर्ममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्मीयाम सुरु भएसँगै कैलालीमा आगलागीका घटना बढेका छन् । ठाउँठाउँमा भएका आगलागीका घटनाले ठूलो क्षति भएको छ । शुक्रबार मात्रै लम्कीको डुडेझारी जंगलमा भीषण आगलागी भएको थियो । जिल्लाभरि वन क्षेत्रमा डढेलो फैलिएको छ ।

मकालुमा घर आगलागी हुँदा एक घाइते
संखुवासभा/मकालु गाउँपालिका– ५ खोकताकमा घर आगलागी हुँदा एक महिला घाइते भएकी छिन् । शुक्रबार राति मकालु– ५ मा स्थानीय भीमबहादुर तामाङको घरमा आगलागी हुँदा उनकी श्रीमती भीममाया जलेर घाइते भएकी हुन् । घरबाट सामान बाहिर निकाल्ने क्रममा जलेर घाइते भएकी उनको नुम स्वास्थ्य चौकीमा उपचार भइरहेको स्वास्थ्यकर्मी विक्रम कुमालले बताए । रातिको समयमा भान्सा कोठामा विद्युत सर्ट भई घरमा आगलागी भएको नुम प्रहरी चौकीका सई गणेशकुमार राईले जानकारी दिए । घरबाट कुनै पनि सामान निकाल्न नसकेको र पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घरभित्र रहेको सुन, चाँदी, भाँडाकुँडा, खाद्यान्न, काठपातसमेत जलेर नष्ट हुँदा ११ लाखबराबरको क्षति भएको सइ राईले बताए ।

मधेशका मुख्यमन्त्रीले भेटे मटिहानीका अग्निपीडित
महोत्तरी/मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मटिहानीका अग्निपीडितलाई भेटेका छन् । बुधबार अपराह्न करिब १ बजे मटिहानी नगरपालिका–६ जरलहवा बस्तीमा आगलागी हुँदा १०३ घरपरिवार विस्थापित भएका थिए । घटनाको चौथो दिन शनिबार मुख्यमन्त्री यादव मटिहानी आइपुगेका हुन् । उनले प्रधानमन्त्रीले काठमाडौंमा बैठक राखेकाले आगलागीको दिन आउन नसकेको जानकारी दिए । मुख्यमन्त्री यादवले क्याबिनेट बैठक बसेर चाँडै मटिहानीका अग्निपीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताए । मुख्यमन्त्री यादवले सरकारी जमिनमा रहेको बस्तीमा आगलागी भएकाले अब त्यहाँ घरसमेत बनाउन नसकिने बताए । उनले सरकारी जमिनमा घर बनाउँदा प्रदेश सरकारमाथि समस्या आइपर्ने भएकाले कानुनसम्मत पीडितहरूलाई राहत पुग्ने गरी काम गर्ने बताए ।

ad
ad