Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ माघ २९ आइतबार ०६:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्सक कुटपिट प्रकरण : आज सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ माघ २९ आइतबार ०६:०१:००

राष्ट्रपतिको सवारीका वेला शुक्रबार प्रहरीले चिकित्सक कुटेको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह र वीर अस्पतालमा कार्यरत चिकित्सक डा. आलम घाइते भएका थिए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण दुःखद रहेको भन्दै चिकित्सक संघले आन्दोलन घोषणा गरेको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो । 

संघले स्वास्थ्य सेवा लिन आएका बिरामीलाई समेत अस्पताल पुग्न नदिएर सास्ती दिएको भन्दै विरोध गरेको छ । देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा पर्ने असरको जिम्मेवारसमेत नेपाल सरकार रहेको संघका महासचिव डा. बद्री रिजालले बताए । ‘चिकित्सकमाथि बारम्बार कुटपिटका घटना भइरहेका छन् । काडमाडौँमै वीर अस्पताल र ट्रमा सेन्टरमा काम गर्ने डाक्टरहरूमाथि प्रहरीबाट विनाकसुर सांघातिक आक्रमण भइरहेको अवस्था छ । यसले चिकित्सकलाई स्वास्थ्य सेवा दिन सुरक्षित महसुस गर्न सकेका छन् । न्यूनतम तलब, सुरक्षाको महसुस गर्न नसक्नुुले नेपालमा चिकित्सक नै उपलब्ध हुने अवस्था नआओस् भन्न चिकित्सकहरूले आन्दोलनको माध्यमबाट सचेत गराउन खोजेका हुन्,’ उनले भने ।

शुक्रबार भिभिआइपीको सवारीको समयमा प्रहरीले डा. जनिथलाल सिंहमाथि कुटपिट भएपछि विरोधमा उत्रेका अन्य चिकित्सकमाथि पनि कुटपिट गरेको थियो । प्रहरीको कुुटपिटबाट सिंहसँगै डा. आलम र दर्जनौँ अन्य स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भएको वीरका चिकित्सक डा.शेषराज घिमिरेले बताए । ‘दुईजना चिकित्सकमाथि कुटपिट हुन थालेपछि विरुद्धमा पब्लिक र अन्य स्वास्थ्यकर्मी पनि भेला भएका थिए । कुटपिटपछिको तनाव नियन्त्रणका लागि आएका प्रहरीहरूले अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि कुटपिट गरे । कति स्वास्थ्यकर्मी कुटपिटमा परे भन्ने संख्या छैन, तर एक दर्जनभन्दा बढी साथीहरूले प्रहरीको कुटाइ खाएका छन्,’ उनले भने ।

डा. सिंहसँगै घाइते भएर अस्पताल भर्ना भएका डा.जाहिर आलमलाई भने प्रहरीले कुटपिट गरेको फोटो भिडियो खिचेको भन्दै कुटपिट गरिएको चिकित्सकहरूले बताएका छन् । डा. बद्री रिजालका अनुसार डा. आलमको फोन खोसेर भित्तामा लगेर बुटले हिर्काइएको थियो । उनका हातखुट्टा, ढाड र शरीरका अन्य भागमा पनि चोट लागेको बताइएको छ ।

चिकित्सक कुट्ने प्रहरी निलम्बनमा 
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई कुट्ने प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले घटनामा संलग्न प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । प्रहरीवृत्त जनसेवामा कार्यरत गुरुङले ड्युटीका क्रममा गैरव्यावसायिक कार्य गरेको भन्दै प्रहरीले निलम्बन गरेको हो ।

राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह नयाँ बानेश्वर चोकमा शुक्रबार कुटिएका थिए । ‘चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घन्टा खटिने दुई जिम्मेवार संस्थाको सम्बन्धमा व्यक्तिको गैरव्यावसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकाले संलग्न प्रहरी कर्मचारीलाई व्यावसायिकता, उत्तरदायित्व एवं जवाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । चिकित्सक कुटिएको विषयलाई लिएर सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो ।