१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७९ माघ २८ शनिबार १६:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कागजमा ५० शय्या भएको जिल्ला अस्पतालमा न जनशक्ति न संरचना

Read Time : > 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७९ माघ २८ शनिबार १६:४५:००

अर्घाखाँचीको सदरमुकाममा रहेको सरकारी अस्पताल स्तरोन्नतिको काम कागजमै सीमित भएको छ । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्याको बनाउने प्रदेश सरकारले निर्णय भएको तीन वर्ष बितिसक्दासमेत संरचना निर्माणको काम सुरु नै भएको छैन ।

अस्पतालमा जनशक्तिको समेत अभाव छ । अस्पताल करार सेवाका कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । १६ स्थायी डाक्टरको दरबन्दी रहेको अर्घाखाँची अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका करार सेवाका तीन डाक्टर र एक निकसाइमन परियोजनाका डाक्टरसहित ५ जनाले सेवा दिइरहेका छन् ।

दरबन्दीअनुसारको जनशक्ति नहुँदा ओपिडीमा बिरामी चेक गर्न आएकाहरू घन्टाैँसम्म पालो कुर्न बाध्य छन् । जनशक्ति नहुँदा भेन्टिलेटरलगायतका उपकरणहरू पनि थन्किएकाे जिल्ला अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले बताए । ‘उपकरण मात्र भएर भएन । चलाउने जनशक्ति नभएपछि यत्तिकै थन्किएको छ,’ उनले भने, ‘त्यस्ता उपकरण जिल्ला अस्पतालमा भन्दा पनि प्रादेशिक अस्पतालमा हुने हो भने प्रयोगमा आउँछन् । यहाँ प्रयोग भएको छैन, त्यहाँ भेन्टिलेटर नभएर पालो कुरेर बस्नुपर्ने अवस्था छ ।’

रिपोर्टमा समेत लापरबाही
जिल्ला अस्पतालले गर्भ परीक्षणको रिपोर्टसमेत गलत दिएको पाइएको छ । माघ १८ गते जिल्लाको भूमिकास्थान नगरपालिका बस्ने  २० वर्षकी सुशीला नेपालीले सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा गर्भ परीक्षण गराइन् । क्लिनिकका डाक्टर खगेन्द्र आचार्यले बच्चा जीवित नभएको रिपोर्ट दिई बुटवल रिफर गरे ।

सो खबरले दु:खी बनेको परिवार परीक्षणका लागि सरकारी अस्पताल पुगे । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले भिडियो एक्स–रे गरी बच्चा जीवितै रहेको रिपोर्ट दिई पठाए । गर्भमा रहेको स्वस्थ बच्चालाई मृत भनेकोमा आक्रोशित परिवार पुनः क्लिनिकका डाक्टर आचार्यकोमा पुगे । उनले पुनः परीक्षण गरी बच्चा जीवित नभएको भनेपछि सो परिवार बुटवल पुगेर गर्भ परीक्षण गराउँदा जिल्ला अस्पतालले गलत रिपोर्ट दिएको खुलेको हो ।

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारी मानवीय त्रुटि र मेसिनरी इररका कारण उक्त घटना भएको बताउँछन् । ‘कहिले काहीँ मेसिन र मानवीय  इररका कारण रिपोर्ट टाइप गर्दा कमजोरी हुने पनि हुन सक्छ । त्यसैलाई इस्यू बनाएर अस्पतालप्रति विकास गरिएको धारणाले निजी स्वास्थ्य संस्थालाई नै फाईदा पुग्छ,’ उनले भने, ‘पीडित परिवारका सदस्यहरूसँग छलफल गरी घटनाको बारेमा जानकारी गराएको छु ।’