Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ २८ शनिबार ०७:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

 महाशिवरात्रीका प्रमुख पात्र भएर शंकराचार्य निश्चलानन्द सरस्वती आउँदै

Read Time : > 1 मिनेट
२०७९ माघ २८ शनिबार ०७:४६:००

उडीसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि नेपाल आउने तय भएको छ। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित १० सदस्यीय टोलीका साथ शंकराचार्य ४ फागुनमा आउने तय भएको छ । भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । 

पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नयाँ पत्रिकासँग भने, ‘जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वतीज्यूको भ्रमण ४ देखि ८ फागुनसम्म हुनेछ । महाशिवरात्रीमा उहाँको प्रमुख उपस्थिति हुने गरि कोषले सबै बन्दोबस्त मिलाएको छ ।’ उनका अनुसार नेपाल पनि पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ । भारतवर्षको पूर्वी क्षेत्र हेर्ने उनको सांस्कृतिक जिम्मेवारी छ । 

कार्यकारी निर्देशक खतिवडाका अनुसार सोमबारदेखि पशुपति क्षेत्रमा सुरु हुने लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन् । पशुपतिनाथ मन्दिर अगाडिको शंकराचार्य मठमा लिंगपुराण आयोजना हुँदैछ। शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ । जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ’ खतिवडाले भने । 

काठमाडौं बसाईका क्रममा शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग सम्बन्धित प्राध्यापक एवं विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । ‘बैदिक गणितका उहाँ प्रकाण्ड विद्धान् हुनुहुन्छ । उहाँले बैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनुहुने कार्यक्रमछ’ खतिवडाले भने । 

शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाएको छ । उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सरकारका उच्च अधिकारी, न्यायाधिश, सुरक्षा निकायका प्रमुख एवं उच्च अधिकारीले शंकराचार्यको दर्शन गर्ने गरि कोषले गृहकार्य गरिरहेको छ । 

शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् ।  भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पिठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन् । नेपाल आउन लागेका पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने पूर्वी क्षेत्र हेर्दै आएका छन् ।