मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २३ सोमबार १०:२३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बालुवा प्रशोधन केन्द्रले भत्कायो तटबन्ध

झापाको बिएफओ बालुवा प्रशोधन केन्द्र मावानदीको तटबन्ध भत्काएर बालुवा प्रशोधन गर्दै

Read Time : > 1 मिनेट
२०७९ माघ २३ सोमबार १०:२३:००

दमक नगरपालिका– ३ स्थित मावाखोलाको बगरनजिक सञ्चालन भएको बालुवा प्रशोधन केन्द्रले तटबन्धनको जाली भत्काएको छ । बिएफओ बालुवा प्रशोधन केन्द्रले दमक– ३ पानीघट्टास्थित मावानदीको तटबन्धन भत्काएर बालुवा प्रशोधनको काम गरेको हो ।

उसले बालुवा धुनका लागि पानी लैजाने ठाउँ बनाउँदा ०५४ मा निर्माण भएको तटबन्धनको जाली नै भत्काएको मावाखोला जग्गा कटान तथा रोकथाम समूहका अध्यक्ष वेदनिधि चापागाईंले बताए । उनले त्यहाँबाट निस्किएको नदीजन्य पदार्थसमेत बालुवा प्रशोधन केन्द्रले लगेको बताए । 

प्रशोधन केन्द्र मावानदीको पुरानो तटबन्धनसँगै जोडिएको छ । ‘माल (नदीजन्य सामग्री) निकाल्ने उद्देश्यले हो कि के उद्देश्यले हो यहाँ सबै खन्यो । नदीजन्य सामग्री लगेर स्टक पनि गर्‍यो । यहाँ पुरानो बाँध भत्काएको छ,’ उनले भने, ‘हामी बस्ती जोगाऔँ भनेर तटबन्धको अभियानमा छौँ । सरकारलाई तटबन्धनका लागि बर्सेनि बजेट लगाउन लगाएका छौँ । यो बालुवा प्रशोधन केन्द्रले हेपेर तटबन्ध भत्काइरहेको छ ।’ तटबन्धन भत्काउँदै जाँदा गोलाटारतर्फको बस्ती नै बर्खामा जोखिममा पर्ने उनले बताए । 

नदीछेउमै बालुवा प्रशोधन केन्द्रले तटबन्धन भत्काएर पोखरीसमेत निर्माण गरेको उनले बताए । तटबन्धन भत्काएको बारे स्थानीय तहलाई पनि जानकारी दिइसकेको चापागाईंको भनाइ छ । ‘यसले तटबन्धन मात्र भत्काएको छैन । हाम्रो खेतीमा लगेको नहर पनि बन्द गरेको छ । यहाँबाट यसको लेदो नहरको मुखमा गएर जम्मा हुन्छ,’ उनले भने, ‘जसले गर्दा नहर गाउँसम्म आउनै पाउँदैन ।’ उनले प्रहरी प्रशासन हेर्न आए पनि केही नगरेको बताए । ‘यहाँ प्रहरीको सेटिङ छ कि भन्ने शंका लागिरहेको छ,’ उनले भने, ‘बालुवा प्रशोधन केन्द्रको सञ्चालकसँग कुरा गर्दा हामीलाई बेवास्ता गर्छन् । सबै प्रक्रिया पूरा गरेर चलाएको हो भन्छन् ।’ 

 अनुगमन भयो, कारबाही भएन
स्थानीयको गुनासोपछि जिल्ला समन्वय समिति झापाले अनुगमन पनि गरेको छ, तर कारबाही भएको छैन । जिसस झापाका प्रमुख विश्वनाथ बरालले अनुगमनका क्रममा बिएफओ बालुवा प्रशोधन केन्द्रको कमजोरी देखिएको बताए । ‘त्यहाँ त त्यसको फटाइ देखिन्छ । बगरमा खाडल पनि खनेको रहेछ,’ उनले भने, ‘मैले अनुगमन गरेँ । अब प्राविधिक टोली पठाएर कारबाही गर्ने गरिको प्रतिवेदन बनाउँछौँ ।’

बिएफओ बालुवा प्रशोधन केन्द्रका सञ्चालक फयाद सेकले बालुवा प्रशोधन मेसिन राखेको नजिकै तटबन्धन रहेको जानकारी पाएको बताए । यद्यपि, तटबन्धनको जाली नभत्काएको उनले दाबी गरे । ‘हामीले बालुवा धुनका लागि पोखरी बनाउन खोजेका थियौँ । तर, स्थानीयले विरोध गरेपछि बनाएनौँ । तटबन्ध छ भनेको सुन्यौँ,’ उनले भने, ‘राज्यले बनाएको तटबन्ध भत्काउनु हुँदैन भन्नेमा हामी सचेत छौँ । हामीले काम रोकिसक्यौँ ।’ उनले तटबन्धनको जाली नभत्काएको दाबी गरे पनि तटबन्धन भनेको भत्काएको देखिन्छ ।

 पानीको मुहान सुक्दै, मारमा किसान
यो क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसरका कारण खानेपानी पनि सुक्दै गएको स्थानीय नरेन्द्रकुमार दाहालले बताए । यो बालुवा प्रशोधन केन्द्र बस्तीसँगै जोडिएको छ । ‘यो बालुवा प्रशोधन केन्द्रका कारण धेरै समस्या आएको छ । खेती गर्न पाइएन । धुलाका कारण बाली फस्टाउँदैन,’ उनी भन्छन्, ‘ट्युबेलको पानी पनि सुक्दै जाँदै छ । रात–दिन चल्छ । राति राम्ररी सुत्न पनि पाइँदैन । बस्तीमा कसले राख्न दियो ?’

घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार बालुवा प्रशोधन केन्द्र तथा क्रसर सञ्चालनका लागि अनिवार्य स्थानीयको स्वीकृति चाहिन्छ । तर, झन्डै पाँच वर्षअघि सञ्चलनमा आएको बिएफओ बालुवा प्रशोधन केन्द्रले जोडिएको जग्गाका धनीलाई समेत जानकारी नदिएको वेधनिधि चापागाईं बताउँछन् । ‘सबैभन्दा नजिकको सँधियार म नै हो । यहाँ सञ्चालन गर्नका लागि मलाई समेत सोधिएन,’ उनले भने, ‘सँधियारको सर्जिमिन त अनिवार्य भनेको सुनेका थियौँ ।’