
सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलामा महिनावारी चक्र सुरु हुन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । हरेक महिलामा महिनावारी हुने समय अवधि फरक–फरक हुन्छ । जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने अर्को महिलाको २६ दिनमा हुन सक्छ । कसैकसैको ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ । हामीले २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्छौँ । कुनै महिला आत्तिएर मेरो चार–पाँच दिन महिना बढी नाघ्यो भन्नुहुन्छ । तर, आत्तिनुपर्दैन, ३५ दिनसम्म हामी त्यसलाई नर्मल नै मान्छौँ ।
कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको दुई–तीन दिनमै रोकिन्छ । कसैलाई अति रक्तश्राव हुन्छ । कोही अति दुखाइले अस्पताल पनि पुग्छन् । रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्ने हुन्छ । यो समयमा रिंगटा लाग्ने पनि हुन सक्छ ।
महिनावारीको क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणु पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ ।
महिनावारी हुँदा के–के कुरामा ध्यान दिने ?
- महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ ।
- दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने ।
- कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने । लामो समय एउटै कपडा प्रयोग नगर्ने ।
- प्रशस्त मात्रामा पानी पिउने ।
- धेरै दुखाइ छ भने आराम गर्ने ।
- धेरै दुखाइ/वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाह लिने र औषधि सेवन गर्ने ।
के खाने/के नखाने ?
महिनावारीको समय अल्कोहलको सेवन गर्नुहुँदैन । यसले तत्कालीन राहत दिलाएजस्तो गरे पनि विभिन्न समस्या सिर्जना गर्न सक्छ । जस्तो, यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाउने काम गर्छ । जसकारण, महिनावारी अनियमित हुन सक्छ । चिया–कफीको सेवन पनि कम गर्दा राम्रो हुन्छ । किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ । राम्रो निद्रा नलाग्न सक्छ । अत्यधिक चिनीको सेवनबाट पनि बच्नुपर्छ । चिनीले पनि पेट दुखाउँछ । त्यसैले केक, कुकिज नखाँदा राम्रो हुन्छ । अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ, जस्तो– बोसोयुक्त मासु । यस्ता खाद्यान्नको सेवनले पेट सुन्निन सक्छ । यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ । जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ ।
प्रशस्त मात्रामा पानी पिउनुपर्छ । फलफूल प्रशस्तै खानुपर्छ । केरामा पाइने पोटासियमले मुडलाई पनि राम्रो बनाउँछ । यसमा फाइबर अत्यधिक मात्रामा हुन्छ, जसले पाचनसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । दहीमा क्याल्सियम हुन्छ र यसले मांसपेशीहरूलाई आराम दिन सहयोग गर्छ । केही अध्ययनका अनुसार यसले ह्याप्पी हर्मोन उत्पादन गर्छ, जो महिनावारीका दौरान वाक्क भएका महिलाहरूका लागि सहयोगी हुन सक्छ । डार्क चकलेटमा एन्टिअक्सिडेन्ट र म्याग्नेसियम हुन्छ । जसले मुड स्विङ गराउँछ र ह्याप्पी हर्मोन रिलिज गर्छ । त्यसैले डार्क चकलेट खाएर खुसी हुनुस् । बिहान नास्तामा आलस लिँदा राम्रो हुन्छ । ग्रिन टी सेवनले पनि तपाईंको शरीरलाई रिल्याक्स गराउँछ । एलोभेरा जुसमा एक चम्चा मह मिसाएर पिउँदा शरीर हाइड्रेट हुन्छ र अधिक रक्तश्रावबाट पनि राहत मिल्छ ।