१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ माघ २० शुक्रबार ११:२७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पुस्तान्तरण नहुँदा संकटमा घाटु नाच

Read Time : > 2 मिनेट
२०७९ माघ २० शुक्रबार ११:२७:००

गुरुङ समुदायमा प्रसिद्ध सांस्कृतिक लोकनृत्य ‘घाटु’ पुस्तान्तरण नहुँदा संकटमा परेको छ । परापूर्वकालदेखि चल्दै आएको घाटु संरक्षण गर्न नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

घाटु गाउनका लागि नयाँ पुस्ता तयार नहुँदा र यसको जगेर्ना गर्न स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवीहरूले चासो नराख्दा संकटमा परेको धार्चे गाउँपालिका– ४ लाप्राकका घाटु गुरुबा डम्बरसिंह गुरुङले बताए । परम्परादेखि चल्दै आएको घाटु कहीँ–कतै जसोतसो चलेको भए पनि धेरै गाउँबस्तीबाट लोप भइसकेको उनले बताए । ‘घाटु गाउने, नाच्ने शैलीमा अहिलेसम्म कुनै परिवर्तन आएको छैन,’ उनले भने, ‘अहिले हामीहरू तीन–चारजनाले गुरुबाबाट गीत सिकिसकेको छौँ । अब नयाँ आउने चेलाहरूलाई हामी सिकाउँछौँ, तर हामीभन्दा पछि सिक्ने नयाँ शिष्यहरू कोही पनि आएका छैनन् ।’

विगत २५ वर्षदेखि नै घाटुको गुरुबा भएर काम गर्दै आएका उनले आफूहरू रहेसम्म घाटु संस्कृति जोगाउने, तर नयाँ पुस्ताले यसमा चासो नदिएको गुनासो गरे । ‘घाटुको गुरुबा बन्न कसैलाई हामीले बोलाउन पनि मिल्दैन, जो–जसको इच्छा छ, उनीहरूले सिक्ने परम्परा हो,’ गुरुङले भने । उनले नयाँ पुस्ता घाटुको गुरुबा बन्ने तरिका सिक्न नआउँदा आफ्नाे संस्कृति हराउने हो कि भन्ने चिन्ता व्यक्त गरे ।

घाटु संरक्षणका लागि पुस्तान्तरणसँगै आर्थिक तथा व्यवस्थापन पक्षमा स्थानीय सरकार तथा सबै पक्षले ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘हामी घाटु गुरुबाहरू त गीत गाउने मात्रै हो । हाम्रा लागि खासै केही खर्च हुँदैन, तर गुरुआमा र सुसारेहरूको व्यवस्थापनका लागि धेरै खर्च हुन्छ,’ उनले भने ।

समयसँगै घाटु नाच सञ्चालन गर्न आर्थिक स्रोतको अभाव हुन थालेको विगत २० वर्षदेखि सुसारेको काम गर्दै आएकी बिसानी गुरुङले बताइन् । विधि, प्रक्रिया पुर्‍याउनका लागि घाटुमा आवश्यक सामग्रीहरू जुटाउन पहिलेको तुलनामा अहिले खर्च बढी हुने गरेको उनको भनाइ छ । घाटु सञ्चालनका लागि वडा र पालिकाबाट केही खर्च नपाउने हो भने व्यक्तिगत खर्च गरेर सम्भव नहुने उनले प्रस्ट्याइन्  ।

लाप्राकमा यसअघि घाटु व्यवस्थापनका लागि समिति गठन गरे पनि दर्ता नहुँदा अहिले निष्क्रिय भएको पूर्वसमितिका कोषाध्यक्ष कामबहादुर गुरुङले बताए । ‘घाटु नाचलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने भनेर केही वर्षअघि समिति गठन गरिएको थियो, तर कसैबाट पनि सहयोग पाइएन । अघिल्लो वर्ष मेरो व्यक्तिगत मात्रै ४५ हजार खर्च भयो,’ उनले भने, ‘जिल्लामा दर्ता नभएकाले समिति एक वर्षदेखि नै निष्क्रिय छ । अहिले गुरुबा–आमाले नै घाटु नाच सञ्चालन गरिराखेका छन् ।’ घाटु सञ्चालनका लागि एक वर्षमा एक लाखभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।

०७६ सालमा घाटु संस्कृति संरक्षणका लागि भन्दै लाप्राकका स्थानीय पर्यटन व्यवसायीहरूले काठमाडौंमा आर्थिक स्रोत संकलन अभियान सञ्चालन गरेका थिए । तर, सो अभियानले लक्षित उपलब्धि हासिल गर्न सकेन । कोभिड तथा आर्थिक मन्दीका कारण योजनाअनुसार रकम संकलन गर्न नसकिएको अभियान सञ्चालकमध्येका एक मुलाल गुरुङले बताए । ‘हामीले करिब १०–१५ लाख संकलन गर्ने भनेर अभियान सुरु गरेका थियौँ  । तर, कोभिडलगायतका कारण अभियान बीचमै रोकियो । डायरीमा नाम टिपाएका धेरैले विभिन्न कारण देखाउँदै पैसा दिएनन्,’ उनले भने ।

सो अभियानबाट करिब दुई लाख रुपैयाँ जति मात्र संकलन भएको उनले बताए । अभियानबाट संकलन भएको पैसा यसअघि दुई वर्षमा ५०–५० हजार गरेर दुईपटक गाउँमा पठाइसकेको र बाँकी पैसा काठमाडौंमा रहेको अठारसय खोला सहकारीमा रहेको उनले जानकारी दिए । अब देशको परिस्थिति सामान्य भएमा फेरि अभियान सञ्चालन गर्ने उनले बताए ।

लाप्राकको घाटु नाच संस्थागत रूपमा दर्ता प्रक्रियामा रहेको र दर्ता भएपछि वडाबाट आवश्यक बजेट छुट्याइने वडा अध्यक्ष किसान गुरुङले बताए । आवश्यक कार्यविधिसहित कानुनी रूपमा घाटुको समिति दर्ता भएर आएमा वडाबाट आवश्यक बजेट छुट्याउन सजिलो हुने उनले बताए । गुरुङ समुदायको पहिचान, संस्कृति संरक्षण गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए । घाटु नाचको महत्वबारे जनतालाई बुझाउन जरुरी रहेको र घाटु गीत लिपिबद्ध गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड छ ।

पश्चिमी संस्कृतिको प्रभाव र सरोकारवालाहरूको बेवास्ताका कारण घाटु संस्कृति लोप हुने अवस्थामा पुगेको उत्तरी गोरखाका संस्कृतिविज्ञ टेकबहादुर गुरुङले बताए । घाटुलगायतका संस्कृतिको बोझिला कुरालाई परिमार्जन गरी सजिलो र सहज बनाउँदै जानुपर्ने उनको सुझाव छ ।

उत्तरी गोरखामा सती घाटु र बाह्रमासे घाटु रहेकोमा अहिले केही ठाउँमा सती घाटु मात्र कायम रहेको उनले बताए । उनका अनुसार सिङ्ला, यामगाउँलगायतका गाउँमा घाटु नाच हराइसकेको छ ।