
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोरेर भागेका ६ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका– ५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका– १० लालगढको रातो खोलाको बगरछेउबाट पक्राउ परेका हुन् ।
यसअघि मिथिला– २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला– ६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मंगलबार राति र मण्डललाई मंगलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोरेर विभिन्न मुद्दाका ६ थुनुवा फरार भएका थिए । चारजना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।