१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अग्नि सापकोटा सभामुख हुँदा बसेको लैनचौरस्थित भवन । साथमा सभामुख देवराज घिमिरे
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लैनचौर निवासमा सर्न मानेनन् सभामुख 

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o५:oo

संसद् सचिवालयले नयाँ आउने सभामुखका लागि भनेर लैनचौर निवासलाई तयारी अवस्थामा राखेको थियो, तर नवनिर्वाचित सभामुख देवराज घिमिरेले त्यहाँ बस्न अस्वीकार गरेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सभामुख निवासमा बस्न अस्वीकार गरेका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बस्न थालेपछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले लैनचौरस्थित सरकारी निवासमा कार्यकाल पूरा गरेका थिए । घिमिरेले लैनचौर सर्न नमानेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ । 

सापकोटापछि सभामुख भएका घिमिरेले लैनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका हुन् । बालुवाटारभित्र व्यवस्थापन नहुँदासम्म लैनचौर आवास सरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहरी विकासमन्त्री विक्रम पाण्डेले गरेको अनुरोध नमानेका घिमिरे निर्वाचित भएको दिनदेखि लोकन्थलीस्थित आफन्तको घरमा बसिरहेका छन् । 

५ माघमा सभामुख निर्वाचित भएका घिमिरेका लागि संसद् सचिवालयले लैनचौरस्थित सरकारी निवासलाई रङरोगन तथा मर्मतसम्भार गरेर तयारी अवस्थामा राखेको थियो । सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिले सभामुख बसिसकेको लैनचौर निवासमा सर्न अनुरोध गरे पनि घिमिरेले आलटाल गरेका छन् । 

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारमा सभामुखको निवास व्यवस्थापन हुन केही समय लाग्ने बताए । लैनचौर एउटा विकल्प भए पनि बालुवाटारभित्रै व्यवस्थापन गर्ने प्रयत्न गरिरहेको सचिव आचार्यको भनाइ छ । ‘उहाँको निवास बालुवाटार नै हो । त्यहाँ राष्ट्रिय सभा अध्यक्ष बस्नुभएको रहेछ । उहाँहरूको व्यवस्थापन चाँडै मिलाउँछौँ,’ उनले भने, ‘हामी व्यवस्थापन गर्दै छौँ, सभामुखसँग कुरा भइसकेको छ ।’ 

उनले सभामुखको निवास राष्ट्रिय सभा अध्यक्षले ओगटेकाले बालुवाटारभित्रकै मुख्यसचिवको निवासलाई सभामुख घिमिरेले प्रयोग गर्ने गरी व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । ‘बालुवाटारभित्रै १८–२० दिनभित्र व्यवस्थापन गर्छाैँ । यसबीचमा सभामुखलाई केही दुःख भएको छ, यसका लागि हामीले क्षमा मागिसकेका छौँ,’ उनले भने । बालुवाटारमा मन्त्रिपरिषद् बस्न प्रधानमन्त्रीले प्रयोग गरिरहेको कक्ष खाली गरेर दिने सहरीको योजना छ । 

संसद् सचिवालय आन्तरिक व्यवस्थापन शाखा प्रमुख त्रिविक्रम पराजुलीले कानुनअनुसार सभामुखको निवास व्यवस्थापन गर्ने दायित्व सहरी विकासको भएको र आफूहरूले ताकेता गरिरहेको बताए । ‘अहिले सभामुख, उपसभामुख र उपाध्यक्ष कसैको निवास छैन । निर्वाचन हुनुभन्दा १५ दिनअघिबाटै सहरी विकास मन्त्रालयलाई ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘सभामुखको निवास १५ दिनभित्र व्यवस्थापन हुन्छ भनेको छ ।’ 

सभामुख घिमिरेका स्वकीय सचिव देवप्रकाश भट्टराईले हालसम्म निवासको व्यवस्थापन नभएको बताए । ‘सरकारले विभिन्न प्राविधिक समस्याले अलिकति समय लाग्ने भयो, १२–१५ दिनभित्र सभामुखको निवास जहाँ हो त्यहीँ लगेर राख्छौँ भनेको छ,’ उनले भने । सरकारले औपचारिक रूपमा लैनचौर सरिदिन नभनेको र सभामुखकै निवासमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले दाबी गरे । ‘अब सभामुखलाई अनौपचारिक वा व्यक्तिगत भेटमा अनुरोध गरेको बेग्लै हो । राज्यले कहाँ व्यवस्थापन गर्ने भन्ने फरक कुरा हो । प्रधानमन्त्री र मन्त्रीभन्दा पनि सहरी मन्त्रालयको सम्बन्धित निकायले प्राविधिक समस्याले केही समय लाग्ने भयो, बालुवाटारभित्रै व्यवस्थापन गर्छाैँ भनेका छन्,’ स्वकीय सचिव भट्टराईले भने । 

पञ्चायतकालमा चिफ अफ प्रोटोकल कार्यालय रहेको लैनचौर निवासमा केही समय काठमाडौं महानगरका तत्कालीन मेयर केशव स्थापित बसेका थिए । त्यसपछि उपराष्ट्रपति निवास बनेको थियो । परमानन्द झादेखि केही समय नन्दबहादुर पुनसमेत बसेका थिए । पुन समाज कल्याण परिषद्छेउको उपराष्ट्रपति भवन सरेपछि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई उक्त भवनमा बसेका थिए । कृष्णबहादुर महरा सभामुखबाट पदमुक्त हुँदा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना हतार–हतार बालुवाटारको निवास सरे । 

केही समयपछि सभामुख चुनिएका सापकोटालाई निवास अभाव भयो । लैनचौरमा बसिरहेका तत्कालीन मन्त्री भट्टराईलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा सारेर सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो । 

उपसभामुख र उपाध्यक्षको निवास भने तयार भइनसकेको सचिव आचार्यले जानकारी दिए । ‘तत्काललाई उहाँहरू बसेको घरको भाडा नियमानुसार उपलब्ध गराउँछौँ,’ उनले भने, ‘भैँसेपाटीमा आवास बन्दै छ । वैशाखभित्र निर्माण सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । केही कारणले ढिलाइ भयो भने पनि असार मसान्तसम्म सक्छौँ । त्यसपछि निवास उपलब्ध गराउँछौँ ।’ 

यसरी आयो समस्या

तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोज ०७६ मा पदबाट राजीनामा दिएर बालुवाटारस्थित सभामुख निवास छाडेका थिए । खाली भएलगत्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुख निवासमा सरेका थिए । राष्ट्रिय सभा अध्यक्ष बसेको भवन प्रधानमन्त्री केपी ओलीले नै प्रयोग गरे । सुरुमा राष्ट्रिय सभा अध्यक्ष प्रधानमन्त्री कार्यालय परिसरसँगैको मुख्यसचिवको निवासमा बस्दै आएका थिए । महरा पदमुक्त भएपछि तिमिल्सिना सभामुख निवास र तत्कालीन प्रधानमन्त्री ओली राष्ट्रिय सभा अध्यक्ष बसेको भवनमा सरे । अध्यक्ष तिमिल्सिनाले सभामुखको निवास नछाडेपछि सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो । कार्यकाल सकिएसँगै सापकोटाले छाडेपछि लैनचौर सरकारी निवास खाली थियो ।

ad
ad