१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ११ बुधबार १२:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा बस दुर्घटना हुँदा सातजना घाइते 

Read Time : > 1 मिनेट
२०७९ माघ ११ बुधबार १२:४८:००

काँकडभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयनजिकै भएको बस दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

दुर्घटनामा बसचालक झापाको मेची नगरपालिका– ७ का ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी नगरपालिका– ५ का २९ वर्षीय अमृत पाण्डे, मोरङकै बेलबारी नगरपालिका– १ का २५ वर्षीय किशोर लिम्बू, खोटाङको हलेसी–तुवाचुङ नगरपालिका– १० का ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ८ दोर्पाचिउरीडाँडाका २५ वर्षीय कुवीर दाहाल, सोही नगरपालिकाको वडा नं.– १ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरनराज खतिवडा घाइते भएका छन् । उनीहरूको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस दुर्घटनाका घाइते सबैजनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरूको टाउको, हात तथा खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

दुर्घटनालगत्तै चालक पेमा तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी चौकी नुनथलाका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् । ‘रात्रिबस भएकाले दुईजना चालक रहेछन्,’ उनले भनिन्, ‘काँकडभिट्टादेखि खोटाङको हलेसी–तुवाचुङ नगरपालिका– १० अर्खौलेस्थित बिजुलेसम्म आएपछि पेमाले चलाएको केही समयपछि दुर्घटना भएको पाइएको छ ।’

मापद पदार्थ सेवन गरेका चालकले बस चलाएका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरूले आरोप लगाएका छन् । पेमाले बस चलाउन थालेपछि तीव्रगतिमा आएको बस भित्तामा ठोक्किएपछि सडकमुनि पल्टिएको बसमा सवार यात्रुहरूले बताएका छन् ।

दुर्घटनाग्रस्त बसमा यात्रुसहित १९ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे दुवै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनुकुमार कार्कीले जानकारी दिए ।

दुर्घटनास्थल समथल भूभाग भएकाले ठूलो क्षति हुन नपाएको बताइएको छ । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर नुनथलास्थित स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाएका हुन् ।