१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
३ माघमा अस्ट्रेलिया उड्नुुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबलर दिनेश राजवंशी (बायाँ) र तेज तामाङ (दायाँ) ।
रमेश सुवेदी काठमाडाैं
२०७९ माघ ७ शनिबार ०७:५५:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुई दिनमा राष्ट्रिय टोलीका पाँच फुटबलर पलायन

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ माघ ७ शनिबार ०७:५५:००

नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन । फुटबल विकास र प्रोफेसनालिजम केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल विकासको दीर्घकालीन योजना लागू गर्न नसक्नु र घरेलु प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्न नसक्दा खेलाडी प्रत्येक महिनाजसो विदेश भासिरहेका छन् । फुटबल खेलाडी विदेश पलायनलाई राम्रो मानिएको छैन ।

अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठूलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । अहिले लगभग राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । लगभग ३० जनाभन्दा धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् । 

यस साता नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे । गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलियातर्फ लागे । त्यसको भोलिपल्ट (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर रन्जन विष्ट र अट्याकिङ मिडफिल्डर नीतिन थापा पनि समुद्रपारिको देश अस्ट्रेलिया पुगे । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपालाई दक्षिण एसियाली खेकलुद (साग)मा स्वर्ण पदक दिलाएका थिए । 

मंगलबार तीन र बुधबार दुई गरी राष्ट्रिय टोलीका पाँच खेलाडी अस्ट्रेलिया पलायन भएका छन्, पछिल्ला दुई वर्षमा फुटबल खेल्न भन्दै अस्ट्रेलिया गएका ३० भन्दा धेरै खेलाडी उतै हराएका छन्

तेज, दिनेश, गौतम र नीतिन वर्तमान समयकै राष्ट्रिय टोलीका नियमित र भरपर्दा खेलाडीमा पर्छन् । खेलाडीले एन्फा र आफू आबद्ध क्लबलाई कुनै पनि जानकारी गराएका छैनन् । विनाजानकारी एकपछि अर्को गर्दै खेलाडी बिदेसिँदा एन्फा मूकदर्शक भएर बसेको छ । एन्फाले विदेश गएका खेलाडीको ‘रिप्लेसमेन्ट’मा समेत चासो देखाएको छैन । राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै विदेश गएकालाई पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले डेब्यु गराएका थिए । अलमुताइरीले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको एक्सपोजर गराउनुपर्ने भनी आफ्नो कार्यकालमा युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले नेपाली टोलीबाट डेब्यु गराएका र मौका दिएका खेलाडी लगभग अस्ट्रेलियामा छन् । 

राष्ट्रिय टोलीका अधिकांश खेलाडी अस्ट्रेलिया पलायन
गत असारमा पंकजविक्रम नेम्वाङ एन्फामा निर्वाचित भएका थिए । नेम्वाङले एन्फा हाँकेको सात महिना पनि पूरा भएको छैन । सातदोबाटोको एन्फाको केन्द्रीय कार्यालय पदमा राज गरिरहेका नेम्वाङले फुटबललाई गतिशील बनाउन सकेका छैनन् । नेम्वाङ आन्तरिक कलह र विवादबाट बाहिर आउन सकेका छैनन् । आन्तरिक किचलो बनिरहँदा एन्फाले दोस्रो प्रयासमा सहिद स्मारक ‘ए’ डिभिजनको तयारी गरेको छ । 

एन्फा पदाधिकारीबीचको आपसी खिचातानी र राजनीतिका कारण खेलाडी पछिल्लो समय दिक्क मानिरहेका छन् । फुटबललाई नै पहिलो प्राथमिकता राखेका खेलाडीले यसमा भविष्य नदेख्दा नै बिदेसिनुपरेको मुख्य कारण मान्छन् । यद्यपि, राष्ट्रिय टोलीका नियमित सदस्य हुँदा पनि यहाँ सुनिश्चित भविष्य तय नहुँदा उनीहरू ‘सुटकेस प्याकिङ’ गरी कुनै पनि अवस्थामा अस्ट्रेलिया जान तयार देखिएका छन् । 

आखिर नेपाली फुटबल खेलाडीलाई अस्ट्रेलियाले किन आकर्षित र मोहित बनाइरहेको छ ? यसको सहज उत्तर छ । अस्ट्रेलियामा खेलसँगै राम्रो आम्दानी हुन्छ । वास्तवमाफुटबल खेल्न जाने उनीहरूको एउटा माध्यम मात्र हो । उनीहरू त्यहाँ फुटबलसँगै काम गरी राम्रो धन आर्जन गर्ने लक्ष्यका साथ पुगेका देखिन्छन् । 

अघिल्लोपटक अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, शिव गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, रुमेश बर्ताैला, अमिर श्रेष्ठ र अमृत चौधरीजस्ता खेलाडी अस्ट्रेलियाका विभिन्न सहरमा पुगे । अस्ट्रेलिया पुगेका नेपाली खेलाडीले त्यहाँ अर्धव्यावसायिक ‘सेमिप्रोफेसनल’ लिग खेल्छन् । स्थानीय लिगमै नेपाली खेलाडी रमाउँदै आएका छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायले आयोजना गर्ने प्रतियोगितामा नेपाली राष्ट्रिय खेलाडीलाई निमन्त्रणा गर्दै आइरहेको छ । यस्तैखाले निमन्त्रणामा तीन वर्षभित्र ‘ए’ डिभिजन लिग खेलिरहेका दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगेका छन् । 

क्लबलाई जानकारी छैन
एन्फाले शुक्रबार ‘ए’ डिभिजन लिगको खेलतालिका सार्वजनिक गर्‍यो । ‘ए’ डिभिजन क्लबहरूले खेलाडीलाई धमाधम अनुबन्ध गरिरहेका छन् । क्लबहरूले खेलाडी अन्यत्र नजाऊन् भनी सम्झौताअनुसार केही रकम पनि दिएका छन् । तर, रकम लिएका खेलाडीले क्लबलाई जानकारी नगराई अस्ट्रेलिया पुगेका छन् । ‘ए’ डिभिजनको नवप्रवेशी क्लब चर्च ब्वाइज क्लबका अध्यक्ष टंकलाल राईले आफूले सम्झौता गरेका खेलाडीले जानकारी नदिई अस्ट्रेलिया पुगेको नयाँ पत्रिकालाई बताएका छन् । ‘लिखितको कुरै नगरौँ, खेलाडीले मौखिक रूपमा समेत अस्ट्रेलिया जान्छौँ भनेनन्,’ निराश हुँदै राईले भने । 

तेज र दिनेशलाई चर्च ब्वाइजले यसै सिजनमा अनुबन्ध गरेको हो । गत सिजनमा तेजले नेपाल पुलिस र दिनेशले मनाङ मस्र्याङ्दी क्लबबाट लिग खेलेका थिए । तेज र दिनेशसँग चर्च ब्वाइजले सात महिनाको सम्झौता गरेको थियो । जानकारी नदिई खेलाडी अस्ट्रेलिया पुग्दा चर्च ब्वाइजका अध्यक्ष राई अचम्मित छन् । ‘हामीलाई आजका दिनसम्म उनीहरूले जानकारी नै गराएका छैनन्, हामीले केही महिनाको पारिश्रमिकसमेत दिएका छौँ,’ राईले भने, ‘लिग सुरु हुन अझै समय बाँकी छ । नेपाल फर्कने या नफर्कने थाहा छैन ।’  

आफूखुसी जानेलाई रोक्न सकिँदैन : एन्फा
एन्फाका महासचिव किरण राईले अस्ट्रेलिया पुगेका खेलाडीले आधिकारिक रूपमा जानकारी नदिएको बताए । ‘हामीलाई खेलाडीले जानकारी गराएका छैनन् । हामीले लिग गर्छौँ, सोहीअनुसार क्लबहरूले खेलाडीसँग सम्झौता गरेका छन्,’ राईले भने, ‘त्यति हुँदा धेरै कमाउन विदेशतिर गएपछि केही गर्न सकिँदैन ।’ राई भन्छन्, ‘व्यक्तिगत कारण अस्ट्रेलिया जानेलाई रोक्न सकिन्न ।’ महासचिव राई खेलाडी अस्ट्रेेलिया जानु व्यक्तिगत भएको भन्दै पछाडि हटे । ‘खेलाडी विदेश जानु भनेको  निजी कुरा हो । व्यक्तिगत रूपमा गएपछि हामी केही गर्न सक्दैनौँ,’ राईले भने, ‘अनुबन्ध भएर पनि क्लबलाई जानकारीविना अस्ट्रेलिया पुगेको उजुरी आउँदा एन्फाले कारबाही गर्नेछ ।’ 

आम्दानी राम्रो छ : खेलाडी 
अस्ट्रेलिया पुगेपछि नयाँ पत्रिकासँग सम्पर्कमा आएका खेलाडीले आम्दानी राम्रो भएकाले तत्काल नेपाल नफर्कने बताए । ‘अहिले यहाँ राम्रो कमाइ भइरहेको छ । कहाँ नेपाल फर्कनु,’ मेलबर्नमा रहेका खेलाडी भन्छन्, ‘यो लिगमा आउँदैनौँ । तर, सबै प्रक्रिया पूरा भयो भने आउन पनि सक्छौँ । तर, यहाँ सबै राम्रो छ । अहिलेलाई सोचेका छैनौँ ।’ नयाँ पत्रिकाको सम्पर्कमा आएका थप खेलाडीले खेल सँगसँगै श्रम गरेर राम्रो आम्दानी भएको बताए । ‘आम्दानी राम्रो छ । फुटबलबाट टाढा जानुपर्दैन । अरू कामबाट पनि कमाइ राम्रो छ,’ ती खेलाडीले भने ।

लिगलाई झारा टार्ने तयारी
नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएसँगै एन्फाले शीर्ष डिभिजन लिग परिमार्जित र व्यवस्थित गर्ने अनुमान थियो । एन्फाले यसपटक लिग मोफसलमा गर्ने भनिएको थियो । तर, शुक्रबार एन्फाले लिगको तालिका सार्वजनिक गरे पनि पूर्ववत् वाचा पूरा गर्न सकेन । यसपटक डबल राउन्ड रोबिनअनुसार चल्ने लिग विराटनगर, पोखरा र हेटौँडा लिग आयोजना गर्ने भनिएको थियो । पाँच चरणको मात्र खेलतालिका सार्वजनिक भएको छ । पाँच चरणका खेल सबै काठमाडौं र ललितपुरमा हुनेछन् । अहिले एक सय ८२ मध्ये ३५ खेल तय भएका छन् । 

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, दशरथ रंगशाला र च्यासल मैदानमा खेलाउने निर्णय गरेको छ । एन्फा नेतृत्वले फेरि फुटबलको मेरुदण्ड मानिने लिगलाई झारा टार्ने मनसाय बनाएको देखिन्छ । खेलाडी विदेश पलायनको स्थिति बढ्दै जाँदा एन्फा विभिन्न बहाना बनाएर लिग सम्पन्न गर्न केन्द्रित छ । ‘लिगको बीचमा ‘फिफा डे’ छ । त्यसमा अन्तर्राष्ट्रिय खेलहरू हुन सक्छन् । त्यसैले पाँच राउन्ड मात्रै तालिका निकालेका हौँ,’ एन्फा महासचिव राईले भने । 

‘ए’ डिभिजन क्लबका केही पदाधिकारीले नेम्वाङ नेतृत्व एन्फाले यसपटक पनि लिगलाई सामान्य रूपमा लिएको आरोप लगाएका छन् । ‘यो नेतृत्वसमेतले लिगलाई झारा टार्ने स्थितिमा पुर्‍याएको छ, यहाँसम्म कि क्लब र एन्फा फुटबलमा प्रतिबद्ध छैनन् । फुटबल विकासका लागि कसैलाई मतलब छैन,’ एन्फाका एक अधिकारी भन्छन् । 

एन्फाले सुरुमा २६ पुसमा लिग गर्ने भनियो । क्लबहरूले पाउनुपर्ने बक्यौता रकम र प्रतिबद्धताअनुसार तयारी खर्च नपाएपछि लिग खेल्न आनाकानी गरेका थिए । यसपालि लिग पाँच महिनाको हुनेछ । यस पाँच महिनाको अवधिमा लिग वर्षायाममा पनि हुन सक्छ । महासचिव राई एन्फाको व्यस्त तालिका र यसबीचमा धेरै प्रतियोगिता आयोजना गर्दा समस्या आउने बताउँछन् ।