मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. सन्दुक रुइत वरिष्ठ आँखारोग विशेषज्ञ
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ ४ बुधबार ०५:५९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हजारौँका आँखाको ज्योति फर्काएका डा. रुइतलाई १० लाख डलर राशिको अवार्ड

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ ४ बुधबार ०५:५९:००

मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पुर्‍याएबापत वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर (करिब १३ करोड रुपैयाँ) राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट सम्मानित हुने भएका छन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले मंगलबार रुइतको नाम छनोट गरेर अवार्ड दिने घोषणा गरेको हो । 

यो सम्मानले तिलगंगा आँखा प्रतिष्ठान र नेपालकै प्रतिष्ठा बढाएको छ : डा. सन्दुक रुइत वरिष्ठ आँखारोग विशेषज्ञ

जिन्दगीभर एकोहोरो काम गर्दा फल पाइँदोरहेछ । यसअघि ५–६ वटा अवार्ड पाएको छु, तर मैले जिन्दगीमा अहिलेसम्म पाएको सबैभन्दा ठूलो अवार्ड यही हो । एकाग्र काममा लागिरहँदा कसै न कसैले हेरेको हुँदोरहेछ । यसले तिलगंगा आँखा प्रतिष्ठान र नेपालको प्रतिष्ठा बढाएको छ । 

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न सुरु भएको थियो । संसारमा उत्कृष्ट मानव सेवा गर्ने र मानव जीवन रक्षाका लागि लड्नेलाई यो अवार्ड हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

हजारौँ मानिसको गुमेको आँखाको ज्योति फर्काएका डा. रुइत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने उनी नै पहिलो व्यक्ति बन्नेछन् । पाँचौँ संस्करणअन्तर्गत रुइतलाई आगामी फेब्रुअरीमा अवार्डसहित गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ले मंगलबार अवार्ड घोषणा गर्दै अन्धोपन निवारणका लागि डा. रुइतको प्रभावकारी भूमिका रहेको बताएको छ । मानवीय कल्याणका लागि लामो समयदेखि काम गरेकाले रुइतलाई नै अवार्ड दिन लागिएको संस्थाले जनाएको छ । संसारमै प्रतिष्ठित अवार्डबाट आफू सम्मानित हुने निर्णयले तिलगंगा आँखा प्रतिष्ठान र नेपालको प्रतिष्ठा बढाएको डा. रुइतले बताए ।  

यसरी भए छनोट
इसा अवार्डमा भाग लिन एक सय ३९ व्यक्ति र विभिन्न संघसंस्था छनोटमा परेका थिए । छनोट समितिले सर्टलिस्टमा ६ व्यक्ति/संस्थालाई छनोट गरेको थियो । जसमा डा. रुइतसँगै बंगलादेशको फ्रेन्डसिप एनजिओ, अमेरिकास्थित मर्सी सिप, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी र स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसनको नाम छनोट भएको थियो ।

समितिले सबैमध्येबाट अध्ययन–अनुसन्धान गरेर डा. रुइतलाई अवार्ड दिने निर्णय गरेको हो । यसअघि रुइतले सन् २००६ मा मलेसियाको रोमन म्याग्सेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्मश्री अवार्ड (भारत सरकारले दिने), फिलिपिन्स क्यासिसीलगायत अवार्ड पाएका थिए ।