मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ३ मंगलबार १२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार १२:१८:००

सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । सभामुख चयनका लागि तेस्रोपटक मंगलबार भएको निर्वाचनमा सत्तागठबन्धनबाट माओवादीका उम्मेदवार भण्डारी २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनको विपक्षमा २३ मत पर्‍यो । 

नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार मानबहादुर रावलले २० मत पाए । रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा सत्ता पक्षका एक र प्रतिपक्षका तीन गरी चार प्रदेश सभा सदस्य अनुपस्थित थिए । भण्डारीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा भने प्रदेश सभाका सबै सदस्यको उपस्थिति थियो ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक थियो । यसअघि भएका दुईवटा निर्वाचनमा सभामुख चयन हुन सकेको थिएन । गत २८ पुसमा भएको निर्वाचनमा भण्डारीलाई बहुमतका लागि एक मत कम परेको थियो । भण्डारीले २६ र रावलले २४ मत पाएका थिए । त्यस दिन सत्ता पक्षका दुईजना अनुपस्थित रहे पनि सत्ता पक्षकै एक मत बदर भएको थियो ।

सत्ता पक्षलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी दोस्रोपटक ३० पुसमा भएको निर्वाचनमा भने तटस्थ बसेको थियो । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार धनगढी आएर आफ्ना सांसदलाई सत्ता पक्षका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएकी थिइन् । सभामुखमा निर्वाचित भण्डारी बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।