१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ ३ मंगलबार ०८:०१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाले जित्यो सुपर कप

गत सिजन उपाधिविहीन भएको बार्सिलोनाले सन् २०२२/२३ को सिजनमा पहिलो ट्रफीका रूपमा सुपर कप जित्यो

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार ०८:०१:००

बार्सिलोनाले रियल म्याड्रिडलाई ३–१ को फराकिलो गोलअन्तरले हराउँदै आइतबार राति स्पेनिस सुपर कपको उपाधि जितेको छ । प्रतियोगिताको साबिक विजेता म्याड्रिडलाई हराउने क्रममा बार्सिलोनाका लागि गाभी, रोबर्ट लेवान्डोस्की तथा पेड्रीले एक–एक गोल गरेका थिए ।

साउदी अरबको रियादमा सम्पन्न फाइनलमा म्याड्रिडका लागि एक गोल करिम बेन्जिमाले फर्काएका थिए । बार्सिलोना तीन सिजनपछि सुपर कप च्याम्पियन बनेको हो । सन् २०१८–१९ को सिजनमा बार्सिलोनाले सेभिल्लालाई फाइनलमा हराएको थियो । 

बार्सिलोनाले कीर्तिमानी १४औँ पटक सुपर कप हात पारेको हो । फाइनलमा १८ वर्षीय गाभी म्यान अफ दी म्याच चुनिए । बार्सिलोनाले सेमिफाइनलमा रियल बेटिसलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । म्याड्रिडले सेमिफाइनलमा भ्यालेन्सियालाई पाखा लगायो । 

स्पेनिस सुपर कपमा कोपा डेल रे र ला लिगाका विजेता र उपविजेता गरी चार टोली सहभागी रहन्छन् । गत सिजन कुनै पनि उपाधि जित्न नसकेको बार्सिलोना यसपटक थप उपाधि भित्र्याउने सुरमा छ । बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ । ला लिगाको साबिक विजेता म्याड्रिड दोस्रो स्थानमा छ ।

 पहिलो हाफमा दुई गोल 
खेलको ३३औँ मिनेटमा गाभीले बार्सिलोनालाई १–० को अग्रता दिलाए । गाभीले स्ट्राइकर लेवान्डोस्कीको पासमा गोल गरेका हुन् । पहिलो हाफमा बार्सिलोनाले बल पोसेसन बलियो बनाएको थियो । म्याड्रिडले बराबरी गोल अवसर खेर फालेको थियो । बार्सिलोनाले मध्यान्तरअघि २–० को अग्रता लियो । उत्कृष्ट फर्ममा रहेका लेवान्डोस्कीले बार्सिलोनालाई २–० को अग्रता दिलाएका हुन् । उनले गाभीको पासमा गोल गरेका थिए ।