मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार ०६:१५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाकिस्तानबाट काठमाडौं बोलाइयो, अपहरण गरी २५ लाख फिरौती असुलियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार ०६:१५:००

नेपाललाई आधारभूमि बनाएर पाकिस्तानीहरूले अपहरण तथा मानवतस्करी धन्दा चलाउन थालेका छन् । क्यानडा पठाइदिने भन्दै एक युवकलाई पाकिस्तानबाट नेपाल बोलाएर पाकिस्तानी समूहले नै बन्धक बनाई करिब २५ लाख रुपैयाँ फिरौती असुली गरेको छ । 

अपहरण र फिरौती असुलीमा संलग्न तीन पाकिस्तानी शुक्रबार काठमाडौंमा पक्राउ परेका छन् । यस्तो घटना काठमाडौंमा विगतमा पनि भएकाले पाकिस्तानी आपराधिक समूहको सक्रियता बढेको प्रहरी निष्कर्ष छ । 

पाकिस्तानको एक कम्पनीमा प्रबन्धक पदमा कार्यरत थिए सामी खान । दुबईमा समेत केही वर्ष काम गरेका उनी पढेलेखेकै हुन् । उनलाई एक व्यक्तिले ह्वाट्सएपमार्फत सम्पर्क गरेर क्यानडा लैजाने आश्वासन दिए । 

‘मेरा साथीहरू नेपालमा छन्, त्यहाँ गएर भेट, उनीहरूले तिमीलाई सजिलै क्यानडाको भिसा लगाइदिन्छन् । पैसा पनि केही खर्च हुँदैन,’ ह्वाट्सएपबाटै चिनेका ती व्यक्तिको आश्वासनमा उनी सजिलै विश्वस्त भए । पैसा खर्च नहुने सर्तले उनी विश्वासमा परेका थिए । क्यानडाको सपना बोकेर २४ पुसमा सामी नेपाल आइपुगे । ठमेलको होटेलमा बसे । त्यहाँ उनलाई एक होटेलअगाडि जान भनियो, जहाँ अन्य तीन पाकिस्तानी पहिलेदेखि नै प्रतीक्षामा थिए । क्यानडाको भिसा प्रक्रियाका लागि बायोमेट्रिक संकलनका लागि जाने भन्दै उनलाई ट्याक्सीमा राखेर तीन पाकिस्तानीले बुढानीलकण्ठस्थित एक घरमा पुर्‍याए । जुन घर उनलाई बन्धक बनाउने उनीहरूको गोप्य ‘अखडा’ थियो । घरभित्र पुगेलगत्तै आँखामा पट्टी लगाई हातखुट्टासमेत बाँधेर उनलाई बन्धक बनाए । त्यसपछि फिरौतीको धन्दा सुरु गरे । 

पाकिस्तानमा रहेको खान परिवारसँग फिरौती माग्न थाले । सामीका भाइलाई उनकै मोबाइलबाट फोन गरेर सुरुमा प्लेन उड्न लागेको आवाज सुनाए । क्यानडाको फ्लाइट सुरु हुन लागेको र अब ३० घन्टा मोबाइल अफ हुने भन्दै सामीलाई नै भाइसँग भन्न लगाए । भनेअनुसार नबताए मारिदिने धम्की दिए । 

त्यसको ठीक ३० घन्टापछि सामीका भाइलाई म्यासेज पठाएर ‘आफू (सामी) क्यानडा पुगेको र पैसा दिएपछि मात्र त्यहाँको अध्यागमनले प्रवेश दिने भएकाले ३० लाख पाकिस्तानी रुपैयाँ (करिब १७ लाख नेपाली) र २४ हजार युएई दिराम (करिब आठ लाख नेपाली) पाकिस्तानकै एक व्यक्तिलाई दिन’ भनियो । यसरी फिरौती असुलेपछि उनीहरूले २६ पुसमा सामीलाई ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पुर्‍याई पाकिस्तान फर्कनु भन्दै फरार भए । 

आफू अपराधीको चंगुलमा फसेको थाहा पाएपछि सामी सहयोगका लागि नेपाल प्रहरीमा पुगे । घटनाको अनुसन्धानपछि दुई दिनमै काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाकिस्तानी नागरिकहरूलाई पक्राउ गरेको छ । ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैनले सामीको अपहरण गरेको र उनीहरूलाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनीहरूमाथि अपहरण र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान सुरु भएको छ ।

‘सजिलै क्यानडा पठाउने भन्ने आश्वासनमा काठमाडौं ल्याएर अपहरण गरेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘ह्वाट्सएपमा चिनजान भएकै आधारमा विश्वासमा पर्दा यसरी फस्न पुगे ।’ पक्राउ परेका तीन पाकिस्तानी करिब एक महिनाअघि नेपाल आएका थिए । उनीहरूले अपहरणकै योजनाअनुसार बुढानीलकण्ठमा घर भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

प्रहरीसँगको सोधपुछमा पाकिस्तानमा एक साथी रहेको र उनकै आग्रहमा आफूहरूले उनलाई भाडाको घरमा राखेको बताएका छन् । तर, उनीहरू पेसेवर अपराधी भएको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । 

यसअघि पनि भएको थियो यस्तै घटना
क्यानडा पठाइदिन्छु भनेर नेपालमा बोलाई पाकिस्तानीले पाकिस्तानीलाई नै अपहरण गरेको यो पहिलो घटना भने होइन । ०७८ असोजमा पनि ललितपुरमा यस्तै घटना भएको थियो । क्यानडाको भिसा लगाइदिने भन्दै फैजन अहमदलाई पाकिस्तानबाट बोलाई बन्धक बनाएर २० हजार डलर फिरौती असुल्ने प्रयास भएको थियो । अपहरणमा संलग्न जेसन मोहम्मद र ताज रिसवालाई प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई धापाखेलको एक घरमा बन्धक बनाइएको थियो, तर उनी बन्धक बनाइएको घरबाट भाग्न सफल भएका थिए । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार यस्ता घटना ५–६ वर्षअघि पनि भएका थिए । अपराध शैली उस्तै भएकाले यसमा पेसेवर समूहकै संलग्नताको आशंका गरिएको छ । पाकिस्तानीले मानव तस्करीमा पनि नेपाललाई ट्रान्जिट देशका रूपमा दुरुपयोग गर्दै आएका छन् । पाकिस्तानी नागरिकले नेपालमा अनअराइभल भिसा पाउने भएकाले पनि यसरी उनीहरूले ट्रान्जिट बनाएका हुन् । कतिपय पाकिस्तानी नेपाल आएर शरणार्थीको रूपमा युएनएचसिआरको सहयोगमा बस्दै आएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार एक सय ८२ पाकिस्तानी नेपालमा शरणार्थीको रूपमा बस्दै आएका छन् । विदेशी पर्यटकमाथि नियमन प्रणाली नहुँदा नेपालमा विदेशी अपराधीको चलखेल बढेको प्रहरी अधिकारी बताउँछन् ।