Skip This
पृथ्वीनारायणको उक्तिमा देखिएको सुरक्षा चासो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Saturday, 27 July, 2024
बुद्धिनारायण श्रेष्ठ
२o७९ पौष २७ बुधबार o७:२५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पृथ्वीनारायणको उक्तिमा देखिएको सुरक्षा चासो

पृथ्वीनारायण शाहको उक्ति अनुसरण हुन नसक्दा दक्षिणी सीमारेखाको सुरक्षा हुन नसकी नेपालका ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण र विवाद हुन पुगेकोे छ

Read Time : > 4 मिनेट
बुद्धिनारायण श्रेष्ठ
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार o७:२५:oo

हामीले हाम्रो देशको सुरक्षा चासोको विषयमा चर्चा गर्दा हाम्रा छिमेकी देश भारत र चीनको नेपालप्रतिको सुरक्षा चासो कस्तो रहेको छ भन्नेमा पनि ध्यान पुर्‍याउनु आवश्यक छ । ऐतिहासिक कालदेखि नेपालले अपनाउँदै आएको सुरक्षा चासोबारे उल्लेख गर्नुपर्दा पृथ्वीनारायण शाहकालीन सुरक्षा चासोका सम्बन्धमा उनको उक्ति रहेको थियो– ‘सन्धिसर्पन हेरी गढी तुल्याइराख्नू र रस्ता–रस्तामा भाँजा हालिराख्नू ।

जाई कटक नगर्नू, झिकी कटक गर्नू र श्रीगंगाजीको साँध पनि लाग्नेछ ।’ यसअनुसार सिन्धुलीगढी, रसुवागढी, जितपुरगढी, मकवानपुर गढीजस्ता प्रवेश गर्ने मुख्य–मुख्य नाकामा गढी वा किल्ला बनाइएकाले नेपाल–अंग्रेज सीमायुद्धका सन्दर्भमा सिन्धुलीगढीबाट क्याप्टेन किनलकको फौज उत्तर घुस्न सकेको थिएन । यसैगरी नेपाल–तिब्बत युद्धताका रसुवागढीबाट तिब्बती फौज नेपालतर्फ बढ्न सकेको थिएन । शाहको उक्तिअनुसार वर्तमानकालमा पनि राष्ट्रको सिमानामा सीमा सुरक्षा बल तैनाथ गुर्नपर्छ भन्ने यथार्थ बुझ्न सकिन्छ । तर, पृथ्वीनारायणको उक्ति वेलामौकामा अनुसरण हुन नसकेका कारण दक्षिणी सीमारेखाको सुरक्षा हुन नसकी नेपालका ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण, मिचान, वाद–विवाद हुन पुगेको छ । 

सीमा व्यवस्थापन र शान्ति सुरक्षा : देशको सीमा पद्धतिको व्यवस्थापन गर्न र जनताको शान्ति–सुरक्षाका निम्ति ‘पक्की किल्ला बनाउनु, किल्लापिच्छे तोप लम्छट् गरी राषिदिनू र जति भञ्ज्याँ ई छन् भञ्ज्याँपिच्छे यक यक फलामे ढोका बनाई ढोकापिच्छे यक यक तोप लम्छट् गरी राषिदिनू र पपाँच सिपाहीँ राषिदिनू । यस्व भयापछि चेवा गन्र्या, चर्चा गन्र्या, भागन्या, नास्न्या, ढुकुवा, फसादि, षुनी यस्ताहरूको पनि केही चल्नेछैन, चारै बादसाही चढाइँ गरी आयो भन्या पनि कसैको केही चल्न्या रहेनछ’ भन्ने पृथ्वीनारायणको उक्ति रहेको पाइन्छ । यस उक्तिको मनसाय अंग्रेज अत्यन्तै चतुरो जाति रहेको छ । लडाइँ–झगडा नगरी छलकपट गरेरै भए पनि हाम्रो देशभित्र आउन सक्छन् । त्यसैले, सन्धिसर्पन हेरी उचित ठाउँमा किल्ला बनाई तिनलाई रोक्न सकिन्छ भन्ने हुन सक्छ । यसअनुसार सिन्धुलीजस्तो डाँडाको गढीमा अग्लो पर्खालको किल्ला बनाई फलामे तोप तथा बमगोलाहरू राखिएका थिए । 

यसैगरी देशको राजधानी रहेको काठमाडौं वरिपरि चार भञ्ज्याङ (साँगा भञ्ज्याङ, थानकोट बाँडभञ्ज्याङ, काउले रानीपौवा भञ्ज्याङ, लेले चन्द्रागिरि भञ्ज्याङ) काठमाडौं छिर्ने नाकाका रूपमा कायम गरिएका थिए । हिजोआज पनि यी भञ्ज्याङमा प्रहरीचौकी रहेका छन् र शान्ति–सुरक्षाका हिसाबमा संवेदनशील मानिएका छन् । उपत्यकाभित्र कुनै आपराधिक घटना घटेमा यी नाकामा कडाइसाथ चेकजाँच गरिन्छ । 

स्मरणीय छ, थानकोट सुरक्षा जाँच टोलीले भारत उत्तर प्रदेश सरकारका खाद्य तथा रसदमन्त्री सुरेन्द्रविक्रम सिंहका सहोदर भाइ ब्रजेशप्रताप सिंह तथा दुई भारतीय सुरक्षा अधिकारीसहित ६ जना भारतीयलाई एक थान एसएमजी, एक थान पेस्तोलसहित २०६१ असार १४ गते पक्राउ गरी भारतीय दूतावासमा बुझाएको थियो । यसबाट पृथ्वीनारायण शाहको दिव्य उक्ति हिजोआज पनि सार्थक छ भन्ने प्रमाणित भएको छ । 

पृथ्वीनारायण शाहका समययता विभिन्न ऐतिहासिक कालखण्डका क्रियाकलापलाई विश्लेषण तथा मनन गर्दै आधुनिककालको भावी सुरक्षा रणनीति तय गर्नु सान्दर्भिक हुन्छ
 

नेपाली फौजका सम्बन्धमा पृथ्वीनारायणको भनाइ रहेको थियो– ‘सिपाही भन्याको तिषारिराष्नू तिषारिराष्याका सिपाही कसैका मलाजामा पस्तैनन् र आफ्नू काज फत्य हुन्छ ।’ यसअनुरूप हिजोआज नेपाली सेनाले आफ्ना सैन्य बललाई तिखारिराख्न अर्थात् चुस्त राख्नका लागि विभिन्न तालिम तथा सैन्य शैक्षिक कोर्स सञ्चालन गरेको छ । उदाहरणका लागि काठमाडौंको शिवपुरीमा आर्मी कमान्ड एन्ड स्टाफ कलेज, नगरकोटमा नेपाली आर्मी वार कलेज, भक्तपुर खरिपाटी लप्टनडाँडामा मिलिटरी इन्टेलिजेन्स स्कुल सञ्चालन गरेको छ । क्षेत्रगतस्तरमा पनि तालिमको प्रबन्ध गरेको छ । पृथ्वीनारायणको उक्तिअनुसार आजभोलि सिपाहीलाई तिखार्ने शैक्षिक कोर्स अथवा तालिम पूरा नगरी माथिल्लो पदमा बढुवा गरिँदैन । 

नेपालको भारत र चीनसँगको सीमारेखा सुरक्षाका निम्ति चीनको सीमातर्फ आठ र भारतीय सीमातिर २१३ बोर्डर अब्जरभेसन पोस्टमा सशस्त्र प्रहरी बललाई खटाइएको छ । उनीहरूलाई सीमा सुरक्षाका लागि सुसज्जित पार्न विभिन्न शैक्षिक कोर्स, प्यानल छलफल तथा तालिम दिने प्रबन्ध गरिएको छ । यसबाट पनि पृथ्वीनारायणकालकोे सुरक्षा चासो आजका दिनमा पनि सान्दर्भिक रहेको बुझिन्छ । 

यसको अर्को पाटोको चर्चा गर्दा आजकलको रकेट र मिसाइलको जमानामा हाम्रा गढीमा तोप र बमगोला राख्नुको के मतलब रहन्छ र, भन्ने भनाइ आउन सक्छ । तर, अंग्रेज–नेपाल युद्धताकाका रसुवागढी र सिन्धुलीगढीमा रहेका यस्ता ऐतिहासिक पौराणिक वस्तु अवलोकन गर्न स्वदेशी–विदेशी पर्यटक ओइरिन्थे होलान् । तर, यस्ता किल्ला र किल्लाभित्र रहेका सामरिक जिनिसको जगेर्ना र स्याहार–सम्भार गर्न नसकेका कारण यसको महत्व घटेको छ ।

यद्यपि, यस्ता गढीमा अझै केही पर्यटक जाने गरेका छन् । पृथ्वीनारायणको उक्तिअनुसार गढी र किल्लालाई चुस्त–दुरुस्त राख्नका लागि होला, सिन्धुलीगढी किल्लालाई त्यसवेलाको झलक नमर्ने गरी हाल आधुनिक तरिकाले साजसज्जा गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटक तथा भ्रमणकर्ताले टिकटस्वरूप तिरेको रकमले केही मात्रामा भए पनि प्रदेश सरकारले आर्थिक आम्दानी पनि प्राप्त गर्न सकेको छ । 

सरकारको सुरक्षा चासो : नेपालको सुरक्षा कार्यका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेना जंगीअड्डा भद्रकालीमा दुईदिने कार्यक्रमको उद्घाटन गर्दै २०७८ असोज ७ मा राष्ट्रिय सुरक्षाको साझा चुनौती पहिचान गर्दै यसको सामना गर्न नेपाली सेना अगाडि बढ्नुपर्छ भनेका थिए ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको अवस्था विश्लेषण गर्दै उचित रणनीति अपनाएर नेपाली सेनाले अगाडि बढ्ने उत्तरदायित्व काँधमा लिएको छ । नेपाली सेनालाई सयममै प्रतिरक्षाका लागि तयार रहन पनि प्रधानमन्त्रीले स्मरण गराए । त्यसै कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र यसको स्थायित्वका लागि अविरल अध्ययन, मनिटरिङ र सुपरीवेक्षण गरेर आइरहेको उल्लेख गर्दै यससम्बन्धी चुनौती सामना गर्न सदा तत्पर रहिआएको विचार व्यक्त गरे । 

पछिल्लो समय अफगानी, तालिबानी, म्यानमारका रोहिंग्या, इरानी, इस्लामिक एजेन्टलगायत विदेशी अवैध रूपमा भित्रिएर शरणार्थीको भेषमा लुकिछिपी नेपाल बस्ने गरेको विषयलाई गम्भीर रूपमा लिएर त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न एवं अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन व्यवस्थित गर्न परिचयपत्र अनिवार्य गर्नुपर्ने आवश्यकता आएको छ ।

सुरक्षाबारे नेपाली सेनाका चासो  : नेपाली सेना सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुरमा २०७९ जेठ २३ गते आयोजित ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिमको समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति प्रभुराम शर्माले ‘रसिया–युक्रेन युद्धको बाछिटाले यो क्षेत्रमा पनि सुरक्षा चुनौती बढेको’ बताए । उनले सीधै रसिया युक्रेनको द्वन्द्वको प्रसंग नभनी युरोपका केही मुलुकको द्वन्द्वका कारण नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका हुन् ।

युरोपका दुई मुलुकबीच भएको द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ’ भन्ने पनि उनले उल्लेख गरे । प्रधानसेनापति शर्माले अझ अगाडि बताए– ‘मुलुकको सुरक्षा चुनौती बढ्दै गएकामा सबै पक्ष उत्तिकै सजग बन्नुपर्छ । मुलुक–मुलुकबीचको द्वन्द्व, अन्तर्राष्ट्रिय आतंकवाद, जातीय तथा धार्मिक अतिवादका कारण सुरक्षा चुनौती बढ्दै गएका छन् । यसको सामना नै आजको आवश्यकता हो । यसमा नेतृत्वले ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।’

०७९ जेठ २३ गते सम्पन्न पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण शिक्षार्थीलाई सम्बोधन गर्दै शर्माले ‘संविधानले तोकेको प्रमुख जिम्मेवारीमा अडेर सेना सधैँ मुलुकको हितका अन्य कार्यहरू विपत् व्यवस्थापन, राष्ट्र निर्माणका विभिन्न कार्य गर्न उत्साहित छ । त्यससँगै नेपाली सेनाले नागरिक–सैनिक सम्बन्ध विस्तारमा जोड दिएको छ, अप्रत्याशित रूपमा आउने हरेक राष्ट्रिय संकटमा नेपाली सेना नागरिकसँग कुम जोडेर अघि बढ्नेछ’ भन्ने दाबी गरेका थिए । 

आकाशीय सीमा सुरक्षा : सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी दुईदिने सेमिनार समापनका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत खुला सीमा नियन्त्रणमा जोड दिँदै सीमामा तारबार लगाउनुपर्ने विषय उल्लेख गरेका थिए ।

उनले भनेका थिए– ‘अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले आकाशे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ, अन्य सुरक्षा निकायले नसकेको अवस्थामा भौगोलिक अखण्डताको रक्षा सेनाले गर्नुपर्ने संवैधानिक दायित्व रहेको छ’ (नयाँ पत्रिका, २०७९ असार २४) । 

निष्कर्ष : कुनै पनि राष्ट्रले बाह्य तथा आन्तरिक सुरक्षा सामना गर्नका लागि राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुपर्छ र सबै प्रकारका सुरक्षा खतराको न्यूनीकरण एवं सामना गर्दै देशमा शान्ति अमनचैन कायम गरी विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । जमिनको मात्रै होइन, आकाशीय सीमाबाट आइपर्ने खतरालाई पनि ध्यानमा राखेर आजको सुरक्षा नीति तयार पारिनुपर्छ । 

नेपालका लागि सुरक्षा चुनौतीमा खासगरी छिमेकी मुलुकसँगको सीमा व्यवस्थापन, सीमा विवाद, नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध अवाञ्छित तत्वले उपयोग तथा प्रयोग गर्न नियन्त्रण गर्न सक्नुपर्छ । छिमेकी देशहरूको निश्चित स्वार्थपूर्ति गर्ने उद्देश्यका लागि सुरक्षा मामिलामा कूटनीतिक हस्तक्षेप हुन दिनु हुँदैन । नेपालले विगतमा अपनाएको सुरक्षा व्यवस्था र त्यसको कमी–कमजोरीबाट उत्पन्न खतराबारे अध्ययन अनुसन्धान गरी त्यस्ता सुरक्षा जोखिमको सामना गरी समाधान गर्नेतर्फ विशेष ध्यान पुर्‍याउनुपर्छ ।

आइपर्ने सुरक्षा खतराका सम्बन्धमा समयमै गम्भीर भई आवश्यक कदम चाल्न सक्नुपर्छ । आवश्यक परेको खण्डमा राज्यले सामना गर्न सक्ने गरी नेपाली सेनालगायत सुरक्षा निकाय देशको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न पूर्वतयारी अवस्थामा रहनु आवश्यक पर्छ । यिनै परिप्रेक्ष्यमा सुरक्षा नीति तयार पार्दा पृथ्वीनारायणका पालादेखिको ऐतिहासिककालका क्रियाकलापलाई विश्लेषण तथा मनन गर्दै आधुनिककालको भावी सुरक्षा रणनीति तय गर्नु सान्दर्भिक हुन्छ ।