१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिको अंकुश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o९:oo

मेचीनगरमा प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने निर्णय, प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै निमित्त तोकियो

जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ । यद्यपि, कानुनमै प्रमुख प्रशासकीय अधिकृतको काज कार्यपालिकाले फिर्ता गर्ने कतै पनि उल्लेख छैन ।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंबीचमा विवाद उत्पन्न भएपछि कार्यपालिकाले उनको अख्तियारीमा अंकुश लगाएको हो । एक साताअघि काज फिर्ता गर्ने निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको नगरपालिकाले २२ पुसमा अख्तियारी स्थगन गर्ने निर्णय गरेको थियो । 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बजेट खर्च गर्न दिइएको अख्तियारी स्थगन गर्ने पत्र चम्लागाईंलाई दिएका छन् । उक्त पत्रको जानकारी मन्त्रालयलाई समेत गराइएको छ । पत्रमा ‘स्थानीय तह सञ्चालन ऐन ०७४ को दफा ७३ (१) अनुसार दिएको खर्च गर्ने अधिकार फिर्ता लिइएको’ उल्लेख छ । उक्त ऐनमा खर्च गर्ने अधिकार दिने व्यवस्था भए पनि स्थगन गर्ने अधिकार कतै उल्लेख छैन । नगरपालिकाले कानुनमै नभएको विषय उल्लेख गर्दै चम्लागाईंको काज फिर्ता र अख्तियारीमाथि अंकुश लगाएको हो । 

‘कानुनी रूपमा कार्यपालिकाले काज फिर्ता पठाउने भन्ने त हुँदैन । केही ठाउँमा यस्तो गलत अभ्यास छ । संघीय सरकारले प्रतिनिधि पठाउनुपर्छ को राख्ने–नराख्नेभन्दा पनि स्थानीय तहलाई जिम्मेवारी दिने मान्छे चाहिने हो । कर्मचारी फिर्ता पठाएर मेयरले कर्मचारीको काम गर्न पनि मिल्दैन । कर्मचारीले मेयरको काम गर्न पनि मिल्दैन फरक–फरक भूमिका छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङले भने, ‘मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी स्थगनको पनि कुरा छ । अख्तियारी स्थगन र काज फिर्ता दुवै हुँदैन, कि त सरुवा हुनुपर्छ । अख्तियारी फिर्ता गर्नेचाहिँ कहीँ पनि हुँदैन । कुनै पनि कानुनमा छैन ।’

मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईंको अख्तियारी स्थगन गर्ने र काज फिर्ता गर्ने निर्णय मात्रै गरेन चम्लागाईं हुँदाहुँदै नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । उपसचिव तहका कर्मचारी भण्डारीलाई आर्थिक अख्तियारीसहितको अधिकार प्रत्यायोजका लागि नगरप्रमुख बुढाथोकी काठमाडौं गएका छन् ।

मेचीनगर नगरपालिकाले भने नगरप्रमुख र उपप्रमुखसँग समन्वय नगरेकाले प्रमुख प्रशासकीय अधिकृतको काज फिर्ता गर्ने निर्णय गर्नुपरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मेयर–उपमेयरबाट नभई अरूबाटै सञ्चालित भएका कारण यस्तो निर्णय गरिएको नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । 

‘उहाँले मेयर–उपमेयरसँग समन्वग नगरी अरूबाटै आश्रित भएर काम गर्नुभयो । उहाँलाई सचेत गरायौँ । नगरपालिका उहाँबाट सञ्चालन हुँदैन भन्ने भएपछि उहाँले सरुवाका लागि पाँच दिनको समय माग्नुभयो । सरुवा माग्छु भनेर मन्त्रालय जानुभयो । मन्त्रालयबाटै काज लिएर बस्नुभयो । हामीसँग समन्वय नगरी आउने कोसिस गर्नुभयो,’ उनले भने, ‘अप्ठ्यारो पर्दा एउटै परिवारका सदस्यले साथ दिँदैन भने एउटै परिवार भएर काम गर्न सक्दैनौँ ।’

प्रमुख प्रशासकीय अधिकृतकै कारण बाध्य भएर फिर्ता पठाउने र अधिकार स्थगन गर्नुपरेको उनले बताइन् । असहयोग भएपछि कानुन नहेरी निर्णय गरिएको उनले बताइन् । ‘हामीलाई असहयोग भयो । नगरपालिका सञ्चालन प्रक्रियामा अवरोध खडा भयो भनेर जनप्रतिनिधि र कार्यपालिकाले यो अनुरोधको निर्णय गरेर पत्राचार गरेका हौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत नआउने भनेर उहाँकै मुखबाट सुनेपछि निमित्त तोकेका हौँ ।’

ad
ad