मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष २४ आइतबार ०६:२७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तुइनबाट खसेर ६४ वर्षमा दार्चुलाका ६३ नागरिक महाकालीमा बिलाए, दुईको मात्रै शव भेटियो

Read Time : > 4 मिनेट
२०७९ पौष २४ आइतबार ०६:२७:००

- ०७२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरे पनि सीमा नदी महाकालीको दार्चुला खण्डमा मात्रै अझै आधा दर्जन तुइन
- अझै छ तुइन युग : उहिले बाबियोको डोरीदेखि अहिले फलामे लठ्ठासम्ममा अनाहक ज्यान गुमाउने क्रम जारी

पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् । ०७२ मै  तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्, पछिल्लोपटक बिहीबार मात्रै १२ वर्षीय बालकले ज्यान गुमाएका छन् ।

०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये ब्याँस गाउँपालिका– ५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको हो । उनीहरू ०५८ मा सोही वडाको ठन्डापानीस्थित तुइनबाट खसेका थिए । यीसहित ब्याँस– ५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन् । 

जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार ब्याँस– २ का मात्रै २४ जना तुइनबाट खसेर बेपत्ता छन् । सबैभन्दा धेरै यही वडाका नागरिक बेपत्ता भएका छन् । त्यस्तै, ब्याँस– ६ का आठ, ब्याँस– ३ का पाँच र ब्याँस– ४ का तीनजना बेपत्ता छन् । दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका– ६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट महाकालीमा बेपत्ता भएका छन् । 

सबैभन्दा धेरै १२ जना ब्याँस– २ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन् । ब्याँस– ५ को ठन्डापानीस्थित तुइनबाट ११, ब्याँस– २ को मालघाट तुइनबाट नौ, ब्याँस– ५ को तिगरमघाटबाट ६ र ब्याँस– ६ को एलागाड तुइनबाट पाँचजना महाकालीमा बिलाएका छन् । त्यस्तै, ब्याँस– ४ को मगडाउँबाट चार तथा ब्याँस– ६ को कालागाड, ब्याँस– ५ को नाजीघाट र फताङघाटबाट तीन–तीनजना बेपत्ता भएका छन् । त्यस्तै, बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एकजना हराएका छन् । 

दोलखा भीमेश्वर– ६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ ०७६ मा ब्याँस– ४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए । विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उनले तुइन प्रयोग गरेका थिए ।

तुइनबाट खसेर फेरि १२ बर्षिय बालक बेपत्ता
दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् । 

‘आमाले खरको भारी तानेर महाकाली पार गरेपछि दीपेन्द्र तुइन चढेका थिए । तुइनमा फलामको ताङ्लो लगाएर तर्ने गरिए पनि उनले लठ्ठामा केही नलगाई तर्दा बीच भागमा पुगेपछि नदीमा खसेका थिए,’ घटनाबारे स्थानीय भूपेन्द्र विष्टले भने । यस क्षेत्रका स्थानीय खर लिन भारत जाने गर्छन् । 

ब्याँस– ४ कै मलघट्टेमा नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण भए पनि औपचारिक उद्घाटन भएको छैन । सो पुलभन्दा झन्डै दुई किलोमिटर तल अस्थायी तुइन लगाएर स्थानीय आवश्यक कामका लागि आउजाउ गर्छन् । यसै क्रममा दीपेन्द्रको ज्यान गएको हो । 

ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुँवरकाअनुसार अहिलेसम्म घटनाबारे प्रहरीलाई समेत जानकारी दिइएको थिएन । ‘परिवारले अहिलेसम्म प्रहरीलाई पनि  जानकारी दिएको रहेनछ । भोली(आइतबार) दिन्छौं भनेका छन्,’ उनले भने । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर जगत गाहामगरले पनि तुइनबाट बेपत्ता भएको भनेर अहिलेसम्म जानकारी नआएको बताए । 

यसअघि २२ असारमा ब्याँस– २ का १८ वर्षीय सचिन बुढाथोकी दुम्लिङको बल्लुलुडी क्षेत्रमा तुइन चुँडिएर महाकालीमा बेपत्ता भएका थिए । भारतबाट नेपाल आउने क्रममा बेपत्ता उनी अहिलेसम्म अज्ञात छन् । 

अझै पनि तुइन युग : बाबियोको डोरीदेखि फलामे लठ्ठासम्म
०४५ अघिसम्म महाकालीमा बाबियोको डोरीका तुइन थिए । यस्तो तुइन चुँडिएर ०१६ देखि ०४५ सम्म १० जना बेपत्ता भएको प्रहरी तथ्यांक छ । दार्चुला सदरमुकाम खलंगालाई भारतसँग जोड्ने झोलुङे पुल ०२८ देखि सञ्चालनमा आए पनि जिल्लाका अन्यन्त्र क्षेत्रका नागरिक भारत आउ–जाउका लागि तुइन प्रयोग गर्थे । जुन नियति अझैसम्म जारी छ । 

‘०२८ बाट खलंगालाई भारतसँग जोड्न झोलुङे पुल बन्यो । उक्त पुल बन्नुअघि नेपाल–भारत आउ–जाउका लागि बाबियोको डोरीको तुइन प्रयोग हुन्थ्यो,’ दार्चुलाका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्की भन्छन् । 

नेपालमा छैटौँ पञ्चवर्षीय योजना सुरु भएदेखि सरकारी अभिलेखमा तुइन उल्लेख गरिएको छ । सातौँ पञ्चवर्षीय योजनामा तुइनको अध्ययन सुरु गरिएको छ । पछिल्लोपटक ०७२ देखि सरकारले तुइन विस्थापन अभियानलाई गति दिए पनि दार्चुलामा मात्रै महाकाली वारपारका लागि अझै आधा दर्जनभन्दा बढी तुइन छन् । 

ब्याँस– २ को दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण नहुँदा अहिले पनि स्थानीय जोखिमपूर्ण तुइन तर्न बाध्य छन् । ‘हामीले झोलुङे पुल र बाटो निर्माणका लागि सरकारलाई पटक–पटक अनुरोध गरेका छौँ, तर नसुनेपछि ज्यान जोखिममा राखेर तुइन प्रयोग गर्न बाध्य छौँ,’ दुम्लिङका प्रभात बुढाथोकीले भने । 

ब्याँस– २ रिठान, दुम्लिङ र कल्जुका स्थानीय ज्यानमारा तुइनकै भरमा छन् । घरायसी सामानदेखि विकास निर्माणका सामान आयात–निर्यात मात्रै होइन, गर्भवती, बिरामी, स्कुले बालबालिका सबै तुइनबाटै आउजाउ गर्न बाध्य छन् । ‘सरकारलाई पुल बनाइदेऊ भनेको वर्षौँ भइसक्यो, तर सुनुवाइ भएको छैन । दैनिक उपभोग्य खाद्यान्न सामग्री पनि तुइनमा बाँधेर ल्याउनुपर्छ । त्यो डोरी चुँडियो भने !’ स्थानीय मुकेश बुढाथोकी भन्छन् । महाकालीमा झोलुङे पुल बन्दै नबनेका भने होइनन्, तर पर्याप्त छैनन् । लाली, बाँकु, जोलजीवी, दत्तु, बडुगाउँ, तिगरम, मालघाट र सीतापुलमा झोलुङे पुल बनेका छन् ।

तुइन पनि नभएका ठाउँमा ट्युबबाट महाकाली तर्दा पाँचजनाले ज्यान गुमाए

पुल र तुइन नभएका ठाउँमा नागरिक ज्यान जोखिममा राखेर ट्युबबाट पनि महाकाली वारपार गर्न बाध्य छन् । फाइल तस्बिर

महाकालीले सीमा छुट्याएका दार्चुलाका सीमा क्षेत्रका स्थानीयले खाद्यान्नलगायत दैनिक आवश्यकता सरसामानको जोहो विगतदेखि भारतबाटै गर्दै आएका थिए । आउजाउका लागि नजिक तुइन नहुनेले गाडीको ट्युब प्रयोग गरेर महाकाली वारपार गर्नुको विकल्प रहेन । यसक्रममा पाँचजनाले ज्यान गुमाएका छन् । उनीहरू सबै लेकम गाउँपालिकाका हुन् । ०६९ मा ३२ वर्षीय दामोदर जोशी र ३० वर्षीय अर्जुन पन्तले लेकम– ३ खन्याघाटमा ट्युब तर्ने क्रममा ज्यान गुमाए । त्यसको तीन वर्षअघि ०६६ मा ३५ वर्षीय शिवराज पन्तले लेकम– ३ स्थित गौडेगाडाबाट ट्युबमा महाकाली तर्दातर्दै ज्यान गुमाए । ०६१ मा १७ वर्षीय गणेश धामी र ४८ वर्षीय मणिदत्त जोशी पनि लेकम– ३ स्थित पुलघाटबाट ट्युबमा महाकाली तर्ने क्रममा त्यहीँ बिलाए । 

तुइन तर्दातर्दै भारतीय सुरक्षाकर्मीले नेपालीमाथि  गरेको त्यो ज्यादती

१५ साउन ०७८ मा माहकाली तर्दै गर्दा भारतीय सीमा सुरक्षाकर्मीले तुइनको डोरी फुस्काइदिएपछि बेपत्ता भएका जयसिंह धामीको खोजी गर्दै सुरक्षाकर्मी । धामीको शव अहिलेसम्म फेला परेको छैन ।

१५ साउन ०७८ । मध्य बर्खामा महाकालीमा भेल उर्लिएको थियो । ब्याँस– २ मालगाउँका ३३ वर्षीय जयसिंह धामी भारतीय बाटो हुँदै काठमाडौं जान घरबाट निस्किएका थिए । मालघाट तुइनको बीचमा पुग्दा पारिपट्टि भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन नै फुस्काइदिए । जयसिंह महाकालीमा खसे । नेपाल प्रहरीले ड्रोनसमेत प्रयोग गरेर खोजी गर्‍यो, तर नामोनिसाना भेटिएन । अहिलेसम्म उनको अवस्था अज्ञात छ । परिवारले कुशको मूर्ति बनाएर जयसिंहको अन्त्येष्टि गरिसकेको छ । 

शोकमाथि शोक थपिएको त्यो घटना
ब्याँस गाउँपालिका– ५ का २८ वर्षीय महेन्द्रसिंह विष्ट प्रहरीमा जागिरे थिए । जागिरको सिलसिलामा घरबाहिर रहँदा परिवारबाट उनकी श्रीमतीको मृत्यु भएको शोकको खबर आयो । घटना ०७० को हो । घरबाट शोकको खबर आएपछि उनी हान्निएर घरतिर लागे । तर, तिरगमघाटको तुइन तर्दै गर्दा उनी महाकालीमा खसे । परिवारमा शोकमाथि शोक थपियो । उनको अवस्था पनि अहिलेसम्म अज्ञात छ ।