१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३१ सोमबार १७:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बस्ती र उर्बरभूमि जोगाउन दोदा नदीमा तटबन्ध निर्माण गरिँदै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o८:oo

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। कटानको उच्च जोखिममा रहेको दोदामा तटबन्ध निर्माण कार्य सुरु गरिएको हो।

चुरे भएर दक्षिण बग्ने दोदाले हरेक वर्षातका बेला लालझाडी गाउँपालिकामा बढी क्षति पुर्याउँदै आएको छ। बर्षात् आउनु ६ महिनाअगावै दोदा नदीको उच्च कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो। दोदाले कृष्णपुर नगरपालिका–२, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ तथा पुनर्वास नगरपालिकाका केही वडा र लालझाडीका सबै वडामा कटान गर्दै आएको छ।

दोदा नदीले सबैभन्दा बढी लालझाडी क्षेत्रमा विपद् जोखिम निम्तिएपछि सरकारी निकायले समेत उच्च प्राथमिकताका साथ तटबन्ध निर्माणको योजना अघि सारेको छ। जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–७ कञ्चनपुरले चालू आर्थिक वर्ष ०७९/८० मा दोदा नदीमा ११२० मिटर लम्बाइ र ५ मिटर उचाइको तटबन्ध निर्माण गर्न लागेको हो।

तटबन्ध कार्यक्रम फिल्ड कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले कटानको उच्च प्रभावित क्षेत्र लालझाडी गाउँपालिका २ र ३ वडामा तटबन्ध निर्माण सुरु गरिएको बताए। सुचना अधिकारी शाहका अनुसार प्रशंसा भागेश्वर जेभीले ११२० मिटर तटबन्ध निर्माणको जिम्मा पाएको छ। ‘हामीले तीन स्थानमा तटबन्ध निर्माण गर्न ठेक्का लगाएका छौँ,’ उनले भने, ‘आवश्यकताअनुरूप तटबन्ध निर्माण गरिएको छ।’ ५ करोड ९१ लाख लागतमा तटबन्ध निर्माणका लागि एक वर्षको समयसीमा दिइएको छ।

कटानबाट प्रभावित भएका नागरिकसमेत तटबन्ध निर्माण हुन थालेपछि उत्साहित भएका छन्। लालझाडी गाउँपालिका–२ का स्थानीय लालसिंह रानाले तटबन्ध निर्माण सुरु गरिएसँगै उर्बर खेतबारी जोगिने भन्दै खुसी व्यक्त गरे।

निर्माण हुन लागेको तटबन्धले सयौँ किसानको जमिन कटान रोक्ने र दर्जनौँ स्थानीय डुबानबाट सुरक्षित हुने लालझाडीका स्थानीय अमरसिंह रानाले बताए। बाँकी नदी नियन्त्रणका लागिसमेत सरकारी निकायले थप प्रयास गर्नुपर्ने उनको माग छ।

लालझाडी गाउँपालिका–३ का वडाध्यक्ष टीकाराम चौधरीले अहिले निर्माण हुने तटबन्धबाट उर्बरभूमि कटानीबाट जोगिने बताए। ‘अहिले जे जति तटबन्ध निर्माण हुन्छ, त्यसबाट केही राहत पुग्छ,’ उनले भने। लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले तटबन्ध निर्माण कार्यलाई थप विस्तार गरिने बताए। ‘अहिले जति निर्माण भएको छ, त्यसमा पालिकाबाट समेत प्रदेश र संघमा बजेट मागेर पहल गछौँ,’ उनले भने, ‘लालझाडी क्षेत्रमा पर्ने नदी नियन्त्रणका लागि पालिकाबाट पहल गछौँ।’

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–७ कञ्चनपुरका प्रमुख श्रीप्रसाद शाहले दोदाको उच्च कटान प्रभावित क्षेत्र छनोट गरेर तटबन्ध निर्माण गरिने बताए। ‘बाँकी नदी नियन्त्रणका लागिसमेत थप बजेट माग गछौँ,’ उनले भने, ‘बजेट प्राप्त भए थप योजनासमेत अघि बढाउँछौँ,’ कार्यालय प्रमुख शाहले दोदासहित महाकाली, मोहना र खुटियामा पनि तटबन्धको काम भइरहेको बताए।

ad
ad