१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फार वेस्ट युनाइटेडका ब्याट्सम्यान आउट भएपछि विराटनगर सुपर किंग्सका कप्तान रोहितकुमार पौडेल ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिक्सिङ प्रकरण : कागजपत्रसहित २४ घन्टाभित्र उपस्थित हुन क्यानलाई राखेपको पत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१८:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल टी–२० लिगको फिक्सिङ सम्बन्धमा छानबिन गर्न गठन गरेको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)लाई सबै कागपत्रसहित २४ घन्टाभित्र उपस्थित हुन पत्र काटेको छ । एकेन्द्र कुँवरको संयोजकत्वमा रहेको पाँच सदस्यीय छानबिन कार्यदलले शुक्रबार क्यानलाई पत्र पठाएको हो । कार्यदलको पहिलो दिन क्यानलाई ६ बुँदामा पत्र काटेको संयोजक कुँवरले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

‘हामीले शुक्रबारबाट काम सुरु गरेका छौँ,’ कुँवरले भने, ‘क्यानलाई २४ घन्टाभित्र सबै कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ ।’ क्यानले नेपाल टी–२० लिगको स्वीकृति पत्र, भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँगको सम्झौता र खेलाडी श्रमस्वीकृतिको पत्र राखेपलाई बुझाउनुपर्नेछ । ‘राखेपको पत्र प्राप्त भएको छ, छानबिनमा हामी सहयोग गर्छौँ,’ क्यानका एक सदस्यले भने, ‘आवश्यक कागजपत्रसहित हामी उपस्थित हुन्छौँ ।’ 

विवादास्पद सेभेन थ्री स्पोर्टस्
क्यानले आफैँले आयोजना गरिरहेको टी–२० लिग सुरुअघि नै विवादास्पद बनेको थियो । क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग आठवर्षे सम्झौता गरेको छ । नेपालमा सुरक्षाको कारण देखाउँदै कम्पनीका प्रमुखजति अहुवालिया अहिले भारतमा छन् । भारतमै सेभेन थ्री स्पोर्टस् एक विवादास्पद कम्पनीका रूपमा हेरिएको छ । भारतमा आयोजना हुने विभिन्न किसिमका क्रिकेट प्रतियोगितामा यो कम्पनीले सहकार्य गर्दा आर्थिक चलखेलदेखि फिक्सिङ हुने गरेको पाइन्छ । 

छानबिन कार्यदलका संयोजक कुँवर भन्छन्–‘हामीले छानबिनको काम सुरु गरेका छौँ, क्यानलाई २४ घन्टाभित्र सबै कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएका छौँ 

क्यानसँगको सम्झौतापत्रमै ‘सट्टेबाज घरानाहरू’ उल्लेख छ । यसले लिगमा सट्टेबाजहरू संलग्न हुन पाउने देखिन्छ । सन् २०१८ मा सेभेन थ्री स्पोर्टस् आइपिएलसँग जोडिएको थियो । भारत मात्र नभएर सेभेन थ्री स्पोर्टस् बंगलादेशमा आयोजना हुने लिगमा समेत सहकार्य गरिरहेको छ । कुनै पनि देशको फ्रेन्चाइज लिगमा आबद्ध हुन श्रम स्वीकृत अनिवार्य मानिन्छ । तर, नेपाल टी–२० लिगमा विदेशी खेलाडीहरूले अहिलेसम्म श्रम स्वीकृति प्राप्त गर्न सकेका छैनन् । क्यानले २४ घन्टाभित्र प्रतियोगिता आयोजना गर्न पूर्वविभिन्न निकायबाट लिएको स्वीकृतपत्रसमेत बुझाउनुपर्नेछ । 

आइसिसीबाटै छानबिन
लिगमा फिक्सिङ भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत आफ्नो अनुसन्धान अगाडि बढाएको छ । आइसिसीका दुई प्रतिनिधि आफ्नो कार्यसम्पदान गरी शुक्रबार फर्केका छन् । यसै मंगलबार लिगका नेपाली कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ भइरहेको सामाजिक सञ्जालमा खुलासा गरेका थिए । 

उनले पटक–पटक सम्बन्धित निकायलाई यसको जानकारी दिँदा कुनै सुनुवाइ नभएका कारण आफूले कमेन्ट्री छाडेको बताए । त्यसपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले लिगमा आफ्ना खेलाडीलाई प्रस्ताव आएको जानकारी दिएका थिए । यी दुई घटनापछि राखेपले छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो । यस कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । साथै, म्याच फिक्सिङको सन्दर्भमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआइबी)ले समेत छानबिन गरिरहेको छ ।