१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ पौष १७ आइतबार १५:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला, बालबालिका जोगाउनै मुस्किल !

Read Time : > 1 मिनेट
२०७९ पौष १७ आइतबार १५:२८:००

कर्णाली राजमार्ग ०६२ सालमा खुलेको हो । सडक खुल्नुअघि जुम्लामा लागुपदार्थको रूपमा स्थानीय स्तरमा उत्पादन हुने भाँगो, अफिम (चरेस) मात्रै थाहा थियो।

स्थानीय स्तरमा पाइने चरेस लागुपदार्थको रूपमा भन्दा पनि यहाँका बुढापाकाले औषधिका रूपमा प्रयोग गर्ने गरेको सुनिन्थ्यो। तर, ०६२ सालपछि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै लागुऔषध ब्राउनसुगर भित्रिन थाल्यो। सडक सञ्जाल जोडिएको दुई दशक नपुग्गै जुम्ला लागुऔषधको ‘हटस्पट’ बन्दै गएको छ।

अहिले जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।

धेरैजसो लागुपदार्थ भारतको रुपडिहा नाकाबाट बाँके नेपालगन्ज, सुर्खेत हुँदै कर्णालीका जुम्ला, कालिकोट र मुगुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यी तीनवटै जिल्ला सडक सञ्जालमा जोडिएका छन्। रातारात पैसा कमाउन लागुऔषध कारोबार हुने गरेको पाइन्छ।

तीन वर्षमा १६ मुद्दा दर्ता, ३७ जना पक्राउ
विशेषगरी नयाँ पुस्ताका युवायुवती लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। उनले भने, ‘प्रहरीले विद्यालय र एसइई विद्यार्थीलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागुऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ। प्रहरीको एकल प्रयासले मात्रै लागुऔषध सेवन र कारोबार रोक्न नसकिने उल्लेख गर्दै चन्दले यसमा स्थानीय सरकार, राजनीतिक दललगायत सबैको सहयोग आवश्यक पर्ने बताए।

जुम्ला प्रहरीका अनुसार लागुऔषधको लतमा १८–४० वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न देखिन्छन्। जुम्लामा  आर्थिक वर्ष ०७७/७८ मा लागुऔषध ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएको थियो।  त्यस्तै  आर्थिक वर्ष ०७८/७९ मा ब्राउनसुगर र चरेस गरी सात वटा मुद्दा दर्ता भएको थियो। चालू आर्थिक वर्ष ०७९/८० को पुस दोस्रो सातासम्म ब्राउनसुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन्।

प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा  १८–४० वर्ष उमेर समूहका ४४ जना पक्राउ परेका छन्।  १८ वर्षभन्दामुनिका तीनजना तथा ४०–६० वर्षका दुईजना रहेका छन्। प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  प्रमुख  जिल्ला अधिकारी  मुकेशकुमार केशरीले बताए।  उनले भने, ‘जुम्ला लागुऔषधको हटस्पट बन्दै छ।  कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लागुऔषधको लतमा फसेको पाइन्छ।’ यसमा सबैभन्दा बढी सचेत अभिभावक नै हुन जरुरी रहेको उनको धारणा छ।

प्रहरीले पछिल्लो तीन वर्षमा ब्राउनसुगर ७९३.९ मिलिग्राम र चरेस ५८०.६२ मिलिग्राम बरामद गरेको छ।