१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ महिनावारी अनियमित ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२४:oo
डा. श्रेयषी अर्याल  स्त्रीरोग विशेषज्ञ, सहप्राध्यापक, काठमाडौं मेडिकल कलेज 

सामान्यतः किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । प्रायः महिनावारी चक्र २८ दिनको फरकमा हुने हुन्छ । कहिलेकाहीँ एक हप्ता पर पनि जान सक्छ । जुन नियमित महिनावारी हो । तर, कहिलेकाहीँ स्वास्थ्य समस्या तथा हर्मोनमा आउने परिवर्तनले यो चक्रमा अनियमितता देखिन्छ । २१ दिनभन्दा अघि र ३५ दिनभन्दा ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या हुन्छ । यो समस्यालाई महिनावारीमा गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ । 

किन हुन्छ ?
शरीरमा हुने विभिन ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपन, तनाव, डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ । त्यसैगरी, अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा पनि शरीरमा तौल बढ्ने र महिनावारी अनियमित हुने गर्दछ ।

यस्ता जटिलता देखिन सक्छ
अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहे क्यान्सरसमेत हुन सक्ने जोखिम रहन्छ । 

के गर्ने ?
सबैभन्दा पहिला त स्वस्थकर जीवनशैली अपनाउनुपर्दछ । पोषिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने, तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने, धेरै तनाव नलिने,  चिकित्सकको सल्लाहविना औषधि प्रयोग नगर्ने र केही समस्या देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिई औषधि उपचार गर्नुपर्छ ।

के खाने, के नखाने ?
महिनावारीको समय अल्कोहलको सेवन गर्नुहुँदैन । यसले विभिन्न समस्या सिर्जना गर्न सक्छ । जस्तो, यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाउने काम गर्छ । जसकारण महिनावारी अनियमित हुन सक्छ । चिया–कफीको सेवन पनि कम गर्नुपर्छ । किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ । राम्रो निद्रा नलाग्न सक्छ ।

अत्यधिक चिनीको सेवनबाट पनि बच्नुपर्छ । चिनीले पनि पेट दुखाउँछ । त्यसैले केक, कुकिज नखाँदा राम्रो हुन्छ । अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ, जस्तो– बोसोयुक्त मासु । यस्ता खाद्यान्नको सेवनले पेट सुन्निन सक्छ । यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ । जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ । फलफूल प्रशस्तै खानुपर्छ ।

केरामा पाइने पोटासियमले मुडलाई पनि राम्रो बनाउँछ । यसमा फाइबर अत्यधिक मात्रामा हुन्छ, जसले पाचनसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । दहीमा क्याल्सियम हुन्छ र यसले मांसपेशीलाई आराम दिन सहयोग गर्छ । केही अध्ययनका अनुसार यसले ह्याप्पी हर्मोन उत्पादन गर्छ, जो महिनावारीका दौरान वाक्क भएका महिलाका लागि सहयोगी हुन सक्छ । डार्क चकलेटमा एन्टिअक्सिडेन्ट र म्याग्नेसियम हुन्छ ।

जसले मुड स्विङ गराउँछ र ह्याप्पी हर्मोन रिलिज गर्छ । त्यसैले डार्क चकलेट खाएर खुसी हुनुस् । बिहान नास्तामा आलस लिँदा राम्रो हुन्छ । ग्रिन टी सेवनले पनि तपाईंको शरीरलाई रिल्याक्स गराउँछ । एलोभेरा जुसमा एक चम्चा मह मिसाएर पिउँदा शरीर हाइड्रेट हुन्छ र अधिक रक्तस्रावबाट पनि राहत मिल्छ । 

ad
ad