Skip This
किन पुस्तक र पुस्तकालय ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ११ सोमबार १२:३२:oo
Read Time : > 2 मिनेट
साहित्य डिजिटल संस्करण

किन पुस्तक र पुस्तकालय ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १२:३२:oo

नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथा आवश्यकताका विषयमा छलफल भएको छ। आइतबार किन  पुस्तक र पुस्तकालय ? शीर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले अन्तर्क्रिया गरे।

भूकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तकहरू बोरामा कोच्नुपरेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो। ‘मेरो घरनजिकै जम्प भन्ने एउटा ठाउँ दुई–तीन महिना लगाएर खोल्यो। त्यो बच्चाहरूलाई स्पोन्जको भर्‍याङमा लडाउने, उफार्ने ठाउँ रहेछ। त्यहाँ एक घन्टाको एक हजार लिने रहेछ। मान्छेहरूको भिड उस्तै थियो,’ लामो समयदेखि पुस्तकालय निर्माणका लागि अभियानमा लागेकी दलीले भनिन्, ‘तर, नेपालमा एक त पढ्ने बानी विकास भएकै छैन। राज्यले सिरियस्ली लिएकै छैन। राज्य रेस्पोन्सिबल छ। त्यसका साथै हामी पब्लिक पनि रेस्पोन्सिवल छौँ।’
 
भूकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउन पटकपटक मन्त्रालय धाउँदा पनि निराश हुनुपरेको अनुभव उनले सुनाइन्। त्यति वेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भीर छ भन्ने कुरा महसुस भएको उनले उल्लेख गरिन्।

‘नेपालमा पुस्तकालय एकदमै कम छन् र भएकामध्ये पनि अधिकांशको अवस्था नाजुक छ। यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ ?’ भन्ने आचार्यको प्रश्नमा जसनाले भनिन्, ‘पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने गर्थेँ। जन्मदिनमा अरू कुरा दिनुभन्दा एक–अर्कालाई किताब दिने गर्थ्याैँ । अहिलेचाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु। तर, किताब महँगा हुने भएकाले महिनाको तीन हजार छुट्याउँदा पनि तीनवटा किताब आउँदैन। त्यसैले पुस्तकालयहरू एकदमै इम्पोर्टेन्ट छन्।’

नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताए। उनले भने, ‘पुस्तकालयका लागि बजेट छुट्याइरहेको हुन्छ। लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला। किताब बोरामा थन्किएर बस्थेन होला। राज्यको मात्रै दोष कि हाम्रो पनि ?’

आचार्यको प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भनिन्, ‘सरकारले दिने गरेको स्कुलका लागि हो। नेपालमा पब्लिक लाइब्रेरी सिस्टम डेभलप भएकै छैन। जे–जति लाइब्रेरी खुलेको छ, त्यो समुदाय तवरबाट भइरहेको छ। गोभरमेन्टले रेगुलर बजेट दिएर खोलेको लाइब्रेरी होइन।’

आफूहरूले सरकारसँग राष्ट्रिय स्तरको एउटा, प्रदेशमा प्रदेश स्तरको सातवटा, तथा नगरपालिका र वडा स्तरमा पनि लाइब्रेरी बनाउन, हरेक लाइब्रेरीमा बच्चाहरूका लागि, युवाहरूका लागि विभिन्न सेक्सन छुट्याउन प्रस्ताव गरेको, तर त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको उनले बताइन्। 


मान्छेहरू सचेत नहुनुको कारण पनि बताउँदै उनले भनिन्, ‘पब्लिकमा पढ्ने बानी किन भएन भने हामीलाई बच्चैदेखि लाइब्रेरी जाने, किताब पढ्ने बानी सिकाइएन। त्यसकै कारण हाम्रोमा लाइब्रेरी चाहियो भनेर मान्छेहरूले जुलुस गरेको छैन।’ साथै पुस्तकालय निर्माणमा राजनीतिक नेताहरूको गम्भीरता देखेर उनीहरू मान्छेले पढून्, शिक्षित होऊन भन्ने पक्षमा नरहेको कुरा आफूले खुलेर भन्न सक्ने पनि बताइन्। 


बालबालिकालाई पुस्तक पढाउनुपर्छ भनेर अभिभावक कत्तिको सचेत छन् भन्ने प्रश्नमा अनुराधाले भनिन्, ‘हाम्रो समाज, शिक्षा प्रणाली यसरी बसेको छ कि घोकेर, रटेर पढ्ने विद्यालाई मात्रै हामी महत्व दिन्छौँ। कथाका पुस्तकलाई हामीले खासै महत्व दिँदैनौँ। त्यसमा दोष अभिभावकको मात्रै पनि छैन। कति अभिभावकले आफू सानो हुँदा साहित्य पढ्ने अवसर पाउनुभएन।’

तर, अहिले भने अवस्था फेरिँदै गएको उनले बताइन्। उनले भनिन्, ‘धेरैले बुझ्दै पनि जानुभएको छ। विद्यालयले पनि कथाका पुस्तकलाई कोर्समा राखेर पढाइराख्नुभएको छ।’

कोर्सबाहेकका पुस्तकलाई महत्व नदिँदा पनि समस्या आएको भन्दै बाल साहित्यलाई भिटामिनको रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन्। बाल पत्रिकाहरूले बालबालिकाको सिर्जनात्मकता बढाउनुका साथै उनीहरूको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने जनाउँदै आचार्यले त्यस्ता पत्रिका बन्द हुनु दुःखद रहेको जिकिर गरे। साथै ठूला मिडिया हाउसले त्यस्ता पत्रिका पुनः सुचारु गर्नुपर्ने उनको धारणा छ।