१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
 नाम्खा गाउँपालिका ५ स्थित तुम्कोट गाउँमा रहेको खिरपानी आधारभूत विद्यालय। तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका 
२o८१ बैशाख २१ शुक्रबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंगो तुम्कोट गाउँ, विद्यार्थी संख्या दुई ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४७:oo

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका– ५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुईजना विद्यार्थी छन्। 

तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन्। सिंगो तुम्कोट गाउँबाट दुईजना मात्र विद्यार्थी स्कुल जान्छन् भने जिल्लाबाहिरका १२ विद्यार्थीले स्कुल धानेका छन्।  

गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा)  अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। 

तुम्कोट गाउँका कक्षा ३ मा पेमा लुङडुप तामाङ र कक्षा १ मा नोरसाङ तामाङ मात्रै अध्ययन गर्छन् भने अन्य १२ विद्यार्थी जिल्लाबाहिरका छन्। 

याे विद्यालयमा तीनजना शिक्षक छन्। तीमध्ये एक शिक्षक प्राविको स्थायी दरबन्दीमा छन् भने अरु दुईजना प्राविको राहत काेटाबाट हुन्। 

अधिकांश बालबालिका बौद्ध विद्यालयमा टोपे (लामा) अध्ययन गर्न जाने भएकोले विद्यालयमा विद्यार्थी अभाव भएको शिक्षिका छिरिङ पामा लामाले बताइन्। 

बाजुराका विद्यार्थीले थेगेको खिरपानी

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाका १० जना बालबालिकाले खिरपानी  आधारभूत विद्यालयको इज्जत धानेका छन्। 

यो विद्यालयमा बाजुरा बुढीनन्दा नगरपालिका– ९ का बालबालिका अध्ययनका लागि आउने गरेको शिक्षिका छिरिङ पामा लामाले बताइन्। लामाले भनिन्, ‘बिहान टोपे पढ्छन्। दिउँसो विद्यालय पढ्छन्।’

बिहान बौद्ध विद्यालय टोपे  (लामा) पढ्ने  दिउँसो  खिरपानी विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दै आएको बाजुरा बुढीनन्दा नगरपालिका– ९ का पेमा थाप्य बोगटीले बताए। उनले भने, ‘बिहान गुम्बामा लामा पढ्छौँ। दिउँसो नेपाली पढ्न विद्यालय आउँछौँ।’

अर्की बाजुरा बुढीनन्दा नगरपालिका– ९  अगउपानीकी याङकी कुँवरलाई आमाबुबासँग ६ महिना भेडाबाख्रा चराउन कहिले अछाम, कहिले बाजुरा त कहिले हुम्ला जानुपर्ने बाध्यता छ। हुम्ला आएका वेला बिहान लामा पढ्ने र दिउँसो विद्यालयमा नेपालीलगायत अन्य विषय पढ्ने गरेको बताइन्। 

नाम्खा गाउँपालिका अधिकांश सामुदायिक विद्यालयमा कतै शिक्षिक अभाव छ भने कतै विद्यार्थी नै नपाइने समस्या छ।  

 

ad
ad