
युक्रेनमाथि रुसी आक्रमणविरुद्ध प्रदर्शन गरेको बहादुरीकै कारण युक्रेनी राष्ट्रपति जेलेन्स्की समकालीन विश्व राजनीतिका ऐतिहासिक हिरो प्रमाणित भएका छन्
तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिन (१९९१–१९९९) ले सातौँ प्रधानमन्त्री पदमा ५१ वर्षीय भ्लादिमिर पुटिनलाई नियुक्त गर्नुपूर्व पुटिन अपरिचितजस्तै थिए विश्वका निम्ति । यल्तसिनको प्रधानमन्त्री नियुक्त गर्ने र तिनलाई बर्खास्त गर्ने प्रथा अचम्मको हुन्थ्यो । आफूद्वारा नियुक्त प्रधानमन्त्रीलाई तिनले अक्षम, अपरिपक्व तथा पदीय मार्यादा कायम गर्न नसकेकोजस्ता आरोप लगाएर बर्खास्त गर्थे । यल्तसिनले पुटिनलाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा तिनको (पुटिन) स्थापित परिचय भनेको १६ वर्ष रुसी जासुसी एजेन्सी केजिबीको पूर्वलेफ्टिनेन्ट कर्णेलमा सीमित थियो । सन् १९९१ मा केजिबीबाट अवकाश लिएका पुटिनले सेन्टपिटर्सबर्ग (लेनिनगार्ड)को मेयरका सहयोगी भएर काम गरेका थिए । तिनी १९९६ मा मस्को प्रवेश गरेका हुन् । यल्तसिनले तिनलाई पहिले आन्तरिक सुरक्षाको जिम्मेवारी सुम्पिए । पछि राष्ट्रिय सुरक्षा परिषद्को सदस्यमा नियुक्त गरे । पुटिनलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेको तीन महिना पुग्दानपुग्दै उनलाई राष्ट्रपति पद सुम्पिएर यल्तसिनले पद त्यागेको घोषणा गरे ।
त्यसयता दुई दशकभन्दा लामो अवधि एकक्षत्र रुसी शासक भएका भ्लादिमिर पुटिनको निजी जीवनीबारे विश्व समुदाय अझै अनभिज्ञ छ । पुटिन स्वयंले लेखेको १९ पृष्ठको आत्मकथा नै तिनको विषयमा प्रकाश पार्ने प्रमुख सामग्री हो । ‘पश्चिमा’ लेखक, अनुसन्धाता तथा पत्रकारद्वारा लिखित आधा दर्जन पुस्तक बजारमा पाइन्छन् । तिनमा समाविष्ट सामग्री सत्तासीन पुटिनका गतिविधिमा केन्द्रित छन् ।
सोभियत युनियनको विघटन (डिसेम्बर २५, १९९१) पछि सबैभन्दा ठूलो अंशियार रुस भयो । बृहत् रुसी साम्राज्यको अत्यधिक ठूलो भूभाग, सम्पत्ति (अधिकांश आणविक हतियारको भण्डार) तथा व्ययभार रुसले व्यहोर्यो । रुसका प्रथम राष्ट्रपति बोरिस यल्तसिनको आठ वर्ष लामो शासनकालमा कुशासन, भ्रष्टाचार तथा ‘ओलिगार्क’ (सीमित कुलीन व्यक्तिहरू)को नियन्त्रणमा पुग्यो रुसी अर्थतन्त्र । सन १९९१ मा रुसको सरदर प्रतिव्यक्ति प्रतिवर्ष आय अमेरिकी डलर तीन हजार ५०० अनुमान गरिएको थियो । सो रकम सन् १९९९ मा पुग्दा एक हजार ३०० को हाराहारीमा झर्यो ।
राष्ट्रको नाममा गरेको पहिलो सम्बोधनमा राष्ट्रपति पुटिनले राजनीतिक स्थिरता कायम गर्ने घोषणा गरे । सम्बोधनमा तिनले कुशासन, भ्रष्टाचार तथा ढिलासुस्ती अन्त्य गर्ने प्रण गरे । ओलिगार्कहरूको हातबाट राष्ट्रिय अर्थतन्त्रलाई उन्मुक्ति दिने प्रतिबद्धता जाहेर गरे । मानव अधिकार तथा निजी सम्पत्ति सुरक्षाको ‘ग्यारेन्टी’ सरकारले गर्ने योजना अघि सारे । निकटभविष्यमै रुसले गुमाएको साखको पुनर्बहाली हुनेमा रुसी नागरिकलाई विश्वस्त पारे । पुटिनले रुसी अर्थतन्त्रलाई सकारात्मक दिशाउन्मुख तुल्याउने पहलकदमी सञ्चालन गर्न समय पटक्कै खेर फालेनन् । तिनको प्रथम राष्ट्रपतीय कार्यकाल (२०००–२००८)मा अर्थतन्त्रको आकार ११ गुणाले बढ्यो । नागरिकको आय लगातार सात प्रतिशत प्रतिवर्षका दरले वृद्धि भयो ।
विगतमा पुटिनको सराहना गरी उनलाई हिरो ठान्ने धेरैको नजरमा उनी अहिले अरिंगालमा परिणत भएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा युक्रेनी भूमिलाई रुसमा गाभ्ने निर्णयले उनलाई हिरोबाट जिरोमा पुर्याएको छ ।
अन्तर्राष्ट्रिय जगत्मा पुटिनले बढाएको मैत्रीसम्बन्ध प्रशंसनीय थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बुसको निजी ‘रान्च’ (टेक्सस)मा केही दिन बिताएर तिनले दुई आणविक शक्तिराष्ट्रबीचको सम्बन्ध सुमधुर भएको सन्देश दिए । जर्मन चान्सलर गेरहार्ड स्रेडर तथा फ्रान्सका राष्ट्रपति ज्याक सिराकसँगको सामीप्यले रुस युरोपको अभिन्न अंग भएको प्रमाण दियो । आतंकवादविरुद्धको लडाइँमा रुस सहभागी हुनेजस्ता तिनको प्रतिबद्धताले विश्वशान्तिका निम्ति रुसी अग्रसरता छ भन्ने बुझिन्थ्यो । रुसको युरोपसँगको तीव्रगतिमा विस्तारित सामीप्यले युरोपमा अमेरिकाको प्रभाव घट्ने संकेत देखापर्न थालेको थियो । सन् २०१२ सम्म पुग्दा विश्वमा पुटिनको महिमा चुलिन थालेको थियो ।
१९औँ शताब्दीको प्रख्यात बृटिस इतिहासकार लर्ड एक्सनको ‘शक्तिले मानिसलाई भ्रष्ट तुल्याउँछ, अत्यधिक शक्तिले निरंकुश बनाउँछ भन्ने कथनलाई साकार तुल्याउने संकेत पुटिनको दोस्रो राष्ट्रपतीय कार्यकालमा देखा पर्न थाल्यो । दुई कार्यकालमा सीमित राष्ट्रपति पदलाई तिनले औपचारिकतामै सीमित तुल्याए । निर्वाचित राष्ट्रपति दिमित्री मेदभेदेबले पुटिनलाई प्रधानमन्त्री नियुक्त गरे । प्रधानमन्त्री पुटिनले राष्ट्रपति पदको पगरी मात्र उतारे, तर रुस सञ्चालनको डाडुपन्यु भने आफैँले सम्हाले । त्यसपछिको कालखण्डमा तिनले विरोधीलाई दबाउने तथा सफाया गर्ने कार्यलाई तीव्र पारे । पुटिनको आलोचना निषेध गरियो । उनीलक्षित आलोचनात्मक समाचार प्रसारणमा बन्देज गरियो । व्यक्तिगत तथा प्रेस स्वतन्त्रतालाई मिथ्या तुल्याइयो । सोभियत युनियनको विघटन एउटा ऐतिहासिक दुर्भाग्यपूर्ण घटना थियो भन्ने भाष्यले महत्व पायो ।
सोभियत युनियन विघटनपूर्व तीन करोड हाराहारी रुसी मूलका नागरिक विभिन्न १५ गणराज्यमा बसोवास गर्दै आएका थिए । विघटनपछि पनि तीमध्ये अधिकांश (रुसी मूलका नागरिक) बसोवास गरेकै मुलुकमा रहे । रुसी मूलका नागरिकको उपस्थिति रुसी सिमानाको निश्चित भौगोलिक क्षेत्रमा बाहुल्य थियो, र छ । उदारहणका लागि जर्जियालाई लिन सकिन्छ । जर्जियाको कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम छन्, रुसी मूलका नागरिक । रुसी सिमानासँग जोडिएका ‘अफ्खाजिया’ तथा दक्षिणी ‘ओसिटिया’ क्षेत्रमा भने उनीहरूको उपस्थिति बाक्लो छ । सबैभन्दा बढी रुसी मूलका बासिन्दा (कुल जनसंख्यामध्ये १७ प्रतिशत) युक्रेनमा छन् ।
सोभियत युनियनको विघटन (१९९१) देखि नै जर्जिया तथा युक्रेनका रुसी मूलका पृथकतावादीले सशस्त्र विद्रोह गर्दै आएका छन् । खुला रूपमा त्यस्ता विद्रोहीलाई रुसले सैनिक सामग्री, तालिमलगायत आर्थिक सहयोग प्रदान गर्दै आएको थियो । सन् २००८ देखि रुसले ‘रुसी मूलका नागरिक रक्षा’लाई कारण देखाएर जर्जियाको अब्खाजिया तथा दक्षिणी ओसिटियन क्षेत्रमा सैनिक हस्तक्षप गर्यो । त्यसैगरी, रुसले सन् २०१४ मा युक्रेनको क्रिमिया क्षेत्रमा पनि अतिक्रमण गर्यो । ती क्षेत्रलाई रुसले आफ्नो कब्जामै लिएको छ । त्यसो त पुटिनले आफ्नो सेनालाई सिमाना जोडिएका पूर्वसोभियत युनियनका राष्ट्रमा मात्र सीमित गरेका छैनन् । उनले रुसी सेनालाई सन् २०१५ देखि सिरियाली राष्ट्रपति बसार अल असादको समर्थनमा त्यहाँका विद्रोहीलाई दबाउन खटाएका छन् । सन् २००२ देखि नै रुसले युक्रेनको सीमाक्षेत्रमा सैनिक गतिविधि बढाउन थालेको थियो । रुसको सो सैनिक गतिविधि युक्रेनलाई तर्साउनमै सीमित छ भन्ने भाष्य थियो ।
पुटिनले युक्रेनमा ‘नवनाजी’ले सत्ता सम्हालेको तथा त्यहाँ भएका रुसी मूलका नागरिकको रक्षाका निम्ति सेना परिचालन गर्नुपरेको घोषणासँगै फेबु्रअरी २४, २०२२ मा युक्रेनमाथि सैन्य आक्रमण गरे । युक्रेनका केही सहरले रुसी सेनाले कब्जामा लिए । सेप्टेम्बरदेखि ती क्षेत्र रुसमा गाभेको घोषणा पनि पुटिनले गरिसके । रुस तथा युक्रेनबीचको युद्ध तीन सय दिनभन्दा बढी समयदेखि चलिरहेकै छ । विगतमा पुटिनको सराहना गरी उनलाई हिरो ठान्ने धेरैको नजरमा उनी अहिले अरिंगालमा परिणत भएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा युक्रेनी भूमिलाई रुसमा गाभ्ने निर्णयले उनलाई हिरोबाट जिरोमा पुर्याएको छ । युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयविरुद्ध संयुक्त राष्ट्रसंघले दुई प्रस्ताव पारित गरेको छ । विनासर्त रुसी सेना तथा उसले अवैधानिक रूपमा समायोजन गरेको युक्रेनको भूभाग फिर्ता गर्नुपर्नेसम्बन्धी प्रस्तावको समर्थन ९० राष्ट्रले गरे भने केवल पाँच राष्ट्र (रुस, बेलारुस, इरिट्रिया, उत्तर कोरिया तथा सिरिया)ले प्रस्तावको विरोधमा मत दिए ।
अमेरिकी साप्ताहिक ‘टाइम’ले सन् २०२२ को ‘म्यान अफ द एयर’को सम्मान युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गर्ने घोषणा गर्यो । सन् २०१९ मा निर्वाचित ४४ वर्षीय जेलेन्स्की (२५ जनवरी १९७८) पुटिनजस्तै कानुन विषयका स्नातक हुन् । स्नातक उपाधि प्राप्त गरेपछि पुटिन वैदेशिक जासुसी सेवा (केजिबी)तर्फ उन्मुख भए । पुटिनभन्दा २६ वर्ष कान्छा जेलेन्स्कीचाहिँ हास्य कलाकारितातर्फ अग्रसर भए । यहुदी परिवारका पुत्र जेलेन्स्कीकी आमातर्फका परिवारका सदस्यहरू यहुदी भएकै कारण नाजीको कोपभाजनमा परेर सखाप पारिएका थिए । दोस्रो विश्वयुद्धको कालखण्डमा नाजी सेनाले झन्डै तीन वर्ष युक्रेनमा कब्जा जमाएको थियो ।
युक्रेनले स्वतन्त्रता प्राप्त गरेको दिनदेखि नै रुसले यसलाई आफ्नो प्रभाव क्षेत्र ठान्दै आएको छ । रुसी समर्थकलाई युक्रेनी रास्ट्रपतिमा निर्वाचित गराउन रुसले भरमग्दुर प्रयास पनि गर्दै आएको छ । युक्रेनी राष्ट्रवादीहरू रुसी प्रभाव क्षेत्रबाट उछिट्टिएर युरोपको अभिन्न अंग हुन प्रयत्नशील छन् । पूर्वसोभियत युनियनका अन्य राष्ट्रहरूमा जस्तै गरेर युक्रेन पनि राजनीतिक अस्थिरता, कुशासन, ओलिगार्कको वर्चस्व तथा भ्रष्टाचारबाट ग्रस्त छ ।
फेब्रुअरी २४, २०२२ मा गरिएको रुसी सैनिक कारबाही तीन–चार दिनमै टुंगिने आकलन धेरैले गरेका थिए । अमेरिकी उच्च सुरक्षा अधिकारीले पनि सोही निक्र्योल निकालेका थिए । रुसी फौजले युक्रेनको सिमाना पार गरेलगत्तै युक्रेनी सेनाको भागाभाग हुन्छ । तिनले आत्मसमर्पण गर्छन् भन्ने आमबुझाइ थियो । दोस्रो विश्वयुद्धको कालखण्डमा जर्मन फौज सिमानावारि आइपुग्नुअगावै तत्कालीन राष्ट्रप्रमुख पलायन भएका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि रुसी फौजको आगमनअगावै पलायन हुन्छन् भन्ने अनुमान थियो ।
तर, यी सबै आमअनुमानविपरीत युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डटेर रुसी सेनाविरुद्ध युक्रेनी सेना तथा नागरिकलाई परिचालन गर्नु एक आश्चर्यजनक विषय नै हो । तिनले जुन रूपमा युक्रेनी सेना तथा नागरिकको मनोबल बढाउन तथा आफूहरूमाथि विश्वको सद्भाव बढाउन भूमिका खेल्दै छन्, त्यो अभूतपूर्व नै छ । निश्चय नै अमेरिकी तथा युरोपेली सैनिक सहयोग नहुँदो हो त विश्वको दोस्रो सबैभन्दा ठूलो सैनिक शक्तिराष्ट्रको सेनाको सामना युक्रेनी फौजले गर्न सक्ने थिएन । लडाइँको मञ्चमा भिड्ने सेनाले नै हो, तर तिनको नेतृत्व गर्ने कमान्डर भने जेलेन्स्की नै हुन् । सक्षम कमान्डरको अभावमा स्थलगत सेना टिक्दैन ।
अहिलेको अत्यन्त जटिल परिस्थितिमा युद्धविरोधी, सैनिक तालिमप्राप्त नगरेको, एक कानुनको विद्यार्थी, हास्य कलाकारले राष्ट्रपतिजस्तो महत्वपूर्ण पद सम्हालिरहेका छन् । तिनको कार्यकालको दुई वर्ष समापन हुँदानहुँदै अत्यन्त शक्तिशाली सेनाविरुद्ध लड्नुपर्ने परिस्थिति बनेको छ । उनी डटेर हरियो टिसर्ट तथा पाइन्ट पहिरेर लडाइँको मोर्चामा अहोरात्र खटिएका छन् । प्रदर्शन गरेको बहादुरीकै कारण गर्दा जेलेन्स्की जुनसुकै परिभाषाले पनि समकालीन ऐतिहासिक हिरो प्रमाणित भएका छन् । तिनलाई हिरोमा परिणत गर्ने व्यक्तित्व कुनै समयका ‘रुसी हिरो’ पुटिन नै त हुन् । पुटिनले युद्धभूमिमा जेलेन्स्कीलाई जबर्जस्ती नहोमिदिएको भए सायद विश्वले तिनको क्षमताको आकलन गर्नसमेत पाउने थिएन ।