मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी दोहा
२०७९ पौष ५ मंगलबार ०९:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पश्चिमाको भ्रम चिरेको कतार विश्वकप

Read Time : > 2 मिनेट
एजेन्सी दोहा
२०७९ पौष ५ मंगलबार ०९:१२:००

सन् २०१० मा विश्वकप आयोजना प्राप्त गरेसँगै कतारले प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी राखेन । भौतिक पूर्वाधार निर्माणका क्रममा विश्वकप इतिहासकै ठूलो धनराशि खर्च गर्‍यो । 

वार्षिक मनग्य मिलियन डलर कमाउने स्टार खेलाडीहरूले भरिएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलसँगै कतार विश्वकप सफलतापूर्वक सम्पन्न भएको सन्देश दिएको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन भयो । पेनाल्टीमा ४–२ को जित निकाल्दा कप्तान लियोनल मेसीले पहिलोपटक फुटबलकै सर्वाधिक विशिष्ट उपाधि हात पारे । उनले खेल जिवनमा प्राप्त गरेको सबैभन्दा ठूलो ट्रफी नै यही विश्वकप हो । 

९२ वर्षको विश्वकप इतिहासमै रोमाञ्चक फाइनल खेल हुँदा अर्जेन्टिना र फ्रान्सले एक सय २० मिनेटमा ३–३ गोलको बराबरी खेले । ३५ वर्षीय मेसीले फाइनलमा दुई गोल गरे । २३ वर्षमै आफूलाई वर्तमान समयकै युवा खेलाडीमध्ये महान् खेलाडीका रूपमा स्थापित गरेका केलियन एम्बाप्पेले ह्याट्रिक गरे । विश्वकपको इतिहासमा फाइनलमा ह्याट्रिक भएको दोस्रोपटक थियो । ‘यो खेल पूरा पागलजस्तै भयो,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन् । ‘मलाई थाहा छ, यो मात्र फुटबल हो, विश्वकप हो । तर, यसलाई अरू सोच्नुहुँदैन,’ अर्जेन्टिनाका पूर्वखेलाडीसमेत रहेका स्कालोनीले भनेका छन् । 

कतार फिफा विश्वकप आयोजना गर्न दुई सय २० बिलियन पाउन्ड खर्च भयो । २२औँ संस्करणको विश्वकप भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिताको आयोजना प्राप्त गरेदेखि नै विवादमा तानिएको कतार विश्वकपको समापन उत्कृष्ट रह्यो । आयोजक कतारले विश्वलाई चकित तुल्यायो । प्रतियोगिताका दौरान कतारले खराब घटनाको सामना गर्नुपरेन । प्रतियोगिता सुरु हुनुअघि तेल र ग्यासका मालिक इमिरेट्सहरूलाई एउटै कुराले पिरोलेको थियो, कतै विश्वकप असफल हुने त हैन ? 

लुसेल रंगशालामा आइतबार सम्पन्न फाइनलपछि मध्यभागमा बनाइएको स्थायी संरचनामा कतारी शेख तमिम विन हमाद अल थानीले मेसीलाई परम्परागत पोसाक लगाइदिँदै प्रतियोगिता सम्पन्न भएको संकेत गरे । मेसी ट्रफी पाएपछि त्यसलाई चुम्बन गर्दै साथीहरूसँग खुसीयाली मनाउन थाले । 

यहाँ जित अर्जेन्टिना र मेसीको भए पनि सत्य जित कतारको भएको थियो । विभिन्न आरोप–प्रत्यारोपपछि कतार प्रतियोगिता भव्य बनाउन सफल भयो । कतारलाई मानव अधिकार हनन गरेको आरोप थियो ।

आप्रवासी श्रमजीवीलाई अन्याय गरेको आरोपसँगै सुरु भएको विश्वकप अन्त्यमा अर्जेन्टिनी कप्तान लियोनल मेसी र फ्रान्सका केलियन एम्बाप्पेको ह्याट्रिक चर्चासँगै समाप्त भएको छ । मेसीले विश्वकप च्याम्पियन बन्ने एक मात्र सपना पूरा गरेका छन् । अब डिएगो म्याराडोनाको मात्रै नाम रहने सहरमा मेसीको समेत नाम जोडिनेछ । मेसी र अर्जेन्टिनाको जितमा फ्रान्सले एउटा कीर्तिमान बनाउन सकेन । इटाली र ब्राजिलपछि ‘ब्याक टु ब्याक’ उपाधि जित्ने कीर्तिमान बनाउन चुक्यो । सन् २०१८ को विश्व च्याम्पियन फ्रान्स ट्रफी जोगाउन असफल भयो । ‘हामी कतारलाई खेलकुदको केन्द्र  बनाउन चाहन्छौँ,’ कतारका आर्थिक र सामाजिक प्रमुख स्टेभ कोकबर्न भन्छन् । कतार विश्वकपको विरोधमा इंग्ल्यान्ड, जर्मनीसहित सात युरोपेली राष्ट्र रहेका थिए । उनीहरू ‘वान लभ’ लेखेका आर्म ब्यान्ड लगाउन चाहन्थे । 

तर, फिफाले यो कार्यमा रोक लगाइदियो । फिफा नियममा नरहने खेलाडीलाई ‘पहेँलो कार्ड दिने धम्की दिएपछि सात राष्ट्र पछि सरे । विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम राष्ट्र बनेको कतारले मादक पदार्थ सेवन प्रतिबन्ध नै गर्‍यो । जुन फिफासँगको प्रतिबद्धताअनुसार धोका थियो । एसियाको मध्यपूर्वी खाडी मुलुक कतारले महिलालाई अंग प्रदर्शन गर्न रोक लगायो । तर, मैदानभित्रको रोमाञ्चक खेलले सबै घटनालाई परास्त गरेको थियो । 

एक प्रकारले कतार मेसीका लागि भाग्यशाली रह्यो । साँच्चै उनी विश्वकप ट्रफी उचाल्न सफल रहे । ‘म मेरो खेल जीवन यहीँबाट पूरा गर्न चाहन्थेँ,’ अन्तिमपटक विश्वकप खेलेका मेसीले भने । यद्यपि, मेसीले यो विश्वकपलगत्तै सन्न्यास नलिने बताए । मेसीसँगै यो विश्वकपले पिएसजीका समकक्षी एम्बाप्पेलाई महान् खेलाडी बनाएको छ । 

मेसी र ३७ वर्षीय पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोपछि एम्बाप्पे अर्काे ‘सुपर स्टार’ बन्नेछन् । ५६ वर्षपछि विश्वकप फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका छन् । कतार विश्वकपमा मात्र आठ गोल गरेका एम्बाप्पेले लागतार दुई विश्वकपमा आफ्नो गोल संख्या १२ गोल पुर्‍याएका छन् । एम्बाप्पेले पेलेको १२ गोलको कीर्तिमान बराबरी गरेका हुन् । अब एम्बाप्पेले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान तोड्ने हुनेछ । समग्रमा पश्चिमेली मिडियाले कतार विश्वकपलाई विवादित बनाए पनि मैदानभित्र फुटबलले नै जित्यो र कतारले सफलतापूर्वक विश्वकप आयोजना गर्‍यो ।