१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:१४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आन्तरिक राजस्व लक्ष्यभन्दा १३ प्रतिशतले न्यून

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।आन्तरिक राजस्व विभागका अनुसार मंसिर मसान्तसम्मको राजस्व संकलन लक्ष्यभन्दा १३ दशमलव ६३ प्रतिशत बिन्दुले कम हो।

विभागले मंसिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजारबराबर आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ। अर्थात् लक्ष्यभन्दा करिब रु २४ अर्ब न्यून राजस्व संकलन भएको हो।

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तः शुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन। 

राजस्व विभागका अनुसार मंसिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२ दशमलव ४७ र अन्तःशुल्क ९७ दशमलव ९ प्रतिशतबराबर मात्रै पुगेको छ। 

यो अवधिसम्ममा विभागले रु ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजारबराबर आयकर उठाउने लक्ष्य राखेको थियो। तर, वास्तविक आयकर असुली भने रु ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजारबराबर छ।

त्यस्तै, भ्याट शीर्षकमा रु ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो। तर, यो अवधिको भ्याट असुली रु ४२ अर्ब तीन करोड ८७ लाखबराबर मात्रै छ। 

पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ रु ४३ अर्ब ६४ करोड १० लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा रु ४२ अर्ब ४५ करोड ७७ लाखबराबर मात्रै उठेको छ।

घरबहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन। मंसिर मसान्तसम्म रु एक अर्ब १५ करोड ५२ लाख ६१ हजार घरबहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१ दशमलव १४ प्रतिशत अर्थात् रु ८२ करोड १८ लाख ९० हजारबराबर मात्रै उठेको छ।

स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ। मंसिर मसान्तसम्म रु दुई अर्ब २३ करोड २६ लाख १९ हजार स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो। 

तर, लक्ष्यको एक सय ४० प्रतिशत अर्थात् रु तीन अर्ब १३ करोड ८८ लाख २८ हजार असुली भएको छ। त्यस्तै, शिक्षा कर रु ६० करोड ५५ लाख ७६ हजारबराबर असुली गर्ने लक्ष्य राखिएकोमा रु ८० करोड ८१ लाख ६६ हजारबराबर उठेको छ।

आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो। विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताए। 

‘अन्तर्राष्ट्रिय रूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतारचढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो। सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ। तर, यस वर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो,’ निर्देशक प्याकुरेलले भने।  

विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ। यस वर्ष पुँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उहाँको भनाइ छ।

‘गत वर्ष घरजग्गा र सेयरको कारोबार राम्रो थियो। जसकारण पुँजीगत लाभकर बढी उठेको थियो। तर, यस वर्ष बजार घटेपछि त्यसको असर पनि सरकारी राजस्व असुलीमा देखियो,’ प्याकुरेलले भने। 

गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ।

त्यस्तै, बैंकको तरलता अभाव, चालू पुँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पुँजीगत खर्च न्यून हुनुजस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ। पुँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नुपर्ने मूल्य अभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ।