Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २८ बुधबार ११:१८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

होमस्टे संस्कृति : अर्गानिक खानपान र आत्मीय सत्कार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २८ बुधबार ११:१८:००

नेपालमा पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकको संख्या बढ्दो छ । कोरोनाकालमा धेरै होमस्टे आर्थिक संकटमा परे पनि अहिले फेरि त्यहाँ चहलपहल सुरु भइसकेको छ । अहिले आन्तरिक पर्यटक मात्रै नभएर विदेशी पर्यटकको संख्या पनि बाक्लो देखिन थालेको छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने तथा परिवारकै सदस्यजस्तो भएर बस्न पाइने भएकाले पनि होमस्टेमा पर्यटकको आकर्षण बढेको हो । 

सांस्कृतिक ज्ञान : हाम्रो देश विविध संस्कृतिले भरिपूर्ण छ । यदि तपाईंले नेपालको संस्कृति र सभ्यतालाई नजिकबाट अनुभव गर्न चाहनुुहुन्छ भने होमस्टेमा बस्नु तपाईंका लागि श्रेयष्कर हुन्छ । यहाँ बस्दा तपाईंले सम्बन्धित परिवारको रहनसहन तथा मौलिकताबारे धेरैभन्दा धेरै जानकारी हासिल गर्नुहुन्छ । होमस्टेमा मिल्ने अनुभव कुनै पनि होटेलमा तपाईंलाई मिल्नेछैन ।

स्थानीय खानाको स्वाद  ः कुनै रिसोर्ट वा होटेलमा बस्दा तपाईंले मेनुअनुसार मूल्य तिर्नुपर्ने हुन्छ र आफ्नो बजेटलाई पनि ध्यानमा राख्नुपर्छ । यसको मतलब होमस्टेमा तपाईंले चाहेको खानेकुरा पाउनुहुन्छ भन्ने होइन । तर, त्यहाँ उपलब्ध अर्गानिक खाना रोज्नका लागि तपाईं स्वतन्त्र हुनुहुन्छ । नौलो खाना टेस्ट गर्न पाउनुहुन्छ । होमस्टेमा अर्गानिक खानपान गर्न पाइन्छ । जस्तो, तपाईं थकाली समुदायका व्यक्तिको घरमा बस्नुभयो भने थकाली भोजन वा गुरुङ समुदायका व्यक्तिले सञ्चालन गरेको होमस्टेमा बस्नुभयो भने गुरुङ संस्कृतिअनुसारको खानपान गर्न पाउनुहुन्छ । उनीहरूको भाषाबारे पनि तपाईंले धेरैभन्दा धेरै जानकारी लिन सक्नुहुन्छ ।

नौलो ठाउँको जानकारी : ठूला होटेलमा गाइड हुन्छन् । उनीहरूले तपाईंलाई त्यहीँ मात्रै घुमाउँछन्, जुन कुरा प्याकेजमा उल्लेख छ । वा उनीहरूले पनि त्यही कुरामा मात्रै जानकारी लिएका हुन्छन्, जसका लागि होटेल सञ्चालकले उनीहरूलाई पैसा तिरेका हुन्छन् । तर, होमस्टे सञ्चालकसँग तपाईंले आफूलाई मन परेको स्थानीय लोकेसनबारे सबै जानकारी लिन सक्नुहुन्छ । किनकि, होमस्टे सञ्चालक आफैँ स्थानीय हुन्छन् । उनीहरूसँग त्यस ठाउँबारे धेरैभन्दा धेरै जानकारी हुन सक्छ । तपाईंलाई थाहा नभएका आसपासका अन्य गन्तव्यहरूका विषयमा पनि उनीहरूले जानकारी दिनेछन् । उनीहरूसँग पर्याप्त जानकारी लिएपछि कुनै सहयोगी लिएर वा एक्लै पनि तपाईं आफूलाई मन परेका ठाउँ घुम्न सक्नुहुन्छ । प्रकृतिसँग रमाउन सक्नुहुन्छ । एक स्थानीयजस्तै बनेर तपाईंले घुमफिर गर्न पाउनुहुन्छ । 

फस्टाउँदै छन् होमस्टे : कृष्ण चौधरी महासचिव होमस्टे महासंघ

नेपालका प्रायः सबै होमस्टेमा बाटो, बिजुली, खानेपानीलगायत पूर्वाधारको व्यवस्था छ । होमस्टेमा आउने पाहुनाका लागि कुनै अफ सिजन हुने, कुनै वेला पाहुना धेरै आउने भन्ने हुन्न । वर्षात्को समयमा पनि होमस्टेमा पाहुना आउन खोज्नुभयो भने त्यहाँको वातावरण, दृश्य, परम्परा र खानाका परिकारको मज्जा लिन पाउनुहुन्छ । होमस्टेमा तीन सय ६५ दिन नै फरक–फरक खालका अनुभूति पाइन्छ ।

होमस्टे सञ्चालकहरूले गाउँघरमा आयोजना हुने मेला, पर्व र विभिन्न जात्रामा पनि पर्यटकलाई सहभागी गराउने तथा ती कार्यक्रमबारे पर्याप्त जानकारी दिने गरेका छन् । हामीले होमस्टे महासंघमार्फत देशभर भएका होमस्टेलाई ब्रान्डिङ गर्दै लैजाने अभियान चलाइरहेका छौँ । सोसल मिडियामा होमस्टेहरूको विवरण अपडेट गर्ने, होमस्टेहरूसँग अन्तक्र्रिया गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्न सरकार तथा सरकारी निकायसँग समन्वय गर्ने योजना हामीले अगाडि बढाएका छौँ ।