१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टरिगाउँबाट जहाजमा रिफ्युलिङ सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३६:oo

दाङको तुलसीपुर– १२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन रिफ्युल कार्य सुरु भएको छ। आइतबार नेपाल वायुसेवा निगमको जहाजमा ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए। ‘हामीले पहिलोपटक आज विमानमा इन्धन रिफ्युल गर्‍याैँ,’ उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ।’

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल कार्य भएको हो। डिपो निर्माण नहुँदा यसअघि काठमाडौंबाट इन्धन बोकेर आउनुपर्थ्याे। सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए। ‘यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘अब भने त्यो समस्या हट्नेछ।’ इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुने अपेक्षा गरिएको छ। 

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ। नियमित विमान सेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्‍याउन सकिने डिपोका प्रमुख विपिन श्रेष्ठले बताए। इन्धन आवश्यक परेमा तत्काल नेपालगन्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठको भनाइ छ। ‘हामी जतिवेला चाहिन्छ, त्यतिवेलै ल्याउँछौँ,’ उनले भने, ‘कहिले सेनाको हेलिकाेप्टर इमर्जेन्सीमा पनि आउन सक्छ। त्यस्तो वेला पनि हामी आपूर्ति गर्छौँ।’ 

विगत ६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो। आयल निगमको केन्द्रीय कार्यालयबाट एकजना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुईजना तथा नेपालगन्ज कार्यालयबाट एकजना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो। चौथो प्रयासपछि मात्रै आइतबार रिफ्युल भएको हो। यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन। डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो। टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुईनेटर जहाज सञ्चालनमा छ।

ad
ad