
कैलालीमा प्रहरीले दुईजना भारतीय नागरिकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।
भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो।
लागुऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
प्रहरीका अनुसार उक्त लागुऔषध मोटरसाइकलको डिकीमा लुकाएर राखिएको थियो । नेपाली लागुऔषध प्रयोगकर्ता वा कारोबारीसँग बिक्रीका लागि ल्याइएको प्रहरीको हुन सक्ने प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए।
भारतसँगको खुला सीमाका कारण कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपोसार हुँदै आएको छ।