मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
साथी हत्यामा पक्राउ परेका ३७ वर्षीय फेङ जेङयुङ
टेकराज थामी काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 जाम्बियाको विवाद नेपालसम्म : पछ्याउँदै आएका चिनियाँले आफ्नै साथीको हत्या गरे 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:५५:००

अफ्रिकी मुलुक जाम्बियाको विवाद नेपाल आएर बल्झिँदा एक चिनियाँ नागरिकको ज्यान गएको छ । आफ्नै साथीको चक्कु प्रहारपछि २९ वर्षीय गान साओजिओङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुई दिनअघि मात्रै जाम्बियाबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आएका चिनियाँ नागरिक ३७ वर्षीय फेङ जेङयुङ, ३२ वर्षीय ली चुवान र २९ वर्षीय गान साओजिओङको वसन्तपुरमा भेट भएका थिए । आइतबार बिहान साढे ११ बजे भेट भएका तीनजनाबीच विवाद भएको थियो । विवादकै क्रममा फेङले लुकाइराखेको चक्कु झिकी ली र गानलाई प्रहार गरेका थिए । सोही प्रहारका कारण गानको मृत्यु भएको छ । फेङलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले चक्कु प्रहारपछि घाइते भएकामध्ये एकको मृत्यु भएको जानकारी दिए । ‘आइतबार बिहान वसन्तपुरमा चिनियाँ नागरिकबीच झडप भएको सूचना आयो । दुईजना सख्त घाइते भएका रहेछन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगियो । एकजना पक्राउ परे, घाइतेमध्ये एकको मृत्यु भएको छ,’ उनले भने ।

प्रहरीका अनुसार दुई समूहबीच आर्थिक विषयमा विवाद थियो । दुई वर्षदेखि जाम्बिया बस्दै आएका तीनमध्ये मृतक गान र ली विवादकै बीच नेपाल भागेको सूचना फेङले पाएका थिए । त्यसलगत्तै उनी दुईजनालाई पछ्याउँदै नेपाल आएका थिए । दुई दिनअघि पर्यटन भिसामा नेपाल आएका दुई पक्षबीच भेट भने भएको थिएन । उनले गान र लीलाई अनेक सूत्र प्रयोग गरी खोजिरहेका थिए । यही क्रममा उनीहरू वसन्तपुर क्षेत्रमा रहेको सूचनापछि फेङ आइतबार बिहानै वसन्तपुर पुगेका थिए । 

ढुकेर बसिरहेका उनले गान र लीलाई वसन्तपुरमा घुम्दै गरेको देखेपछि नजिक पुगेर चक्कु प्रहार गरेका थिए । चक्कुबाट लीको पेटमा गहिरो चोट लागेका थियो भने गानको छाती, पेट र टाउकोमा गम्भीर चोट लागेको थियो । दुवैलाई उद्धार गरी प्रहरीले उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

बोल्न नसक्ने अवस्थामा रहेका दुईमध्ये गानको आइतबार साँझ ६ः३५ बजेमृत्यु भएको छ । गम्भीर घाइते लीको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले घटना सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।